स्पोर्ट्स हब ओपन ब्याडमिन्टन अर्काे महिना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हब ओपन ब्याडमिन्टन प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ । प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित कभर्डहलमा हुने जानकारी गराइएको हो ।

प्रतियोगितामा विभिन्न सात विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यु-१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानीयस्तरको हुनेछ ।

ब्याडमिन्टन खेलको विकासमा युवाहरूलाई आकर्षित गर्ने र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले यु-१७ लाई प्रतियोगितामा समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यु-१७ गल्र्सको हकमा भने महिला खेलाडीहरूको संख्या थोरै हुने अनुमानका साथ महिला एकलमा नै सहभागी गराउने उद्देश्यले छुट्टै विधा नराखेको आयोजकले बताएको छ ।

करिब १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान सात हजार ५०० हात पार्नेछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान पाँच हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यु-१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान पाँच हजार रुपैयाँ हात पार्नेछन् । स्थानीयस्तरको विजेताले १५ हजार, दोस्रोले आठ हजार र तेस्रो हुनेले समान चार हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सात विधाका करिब १५० टिमको सहभागिता हुने प्रतियोगिता संयोजक आङ कुसाङ शेर्पाले जानकारी गराउनुभयो । आगामी दिनमा यस प्रतियोगितालाई स्तरोन्नति गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा लाने उद्देश्य रहेको समेत आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?