पहिलो अभ्यास खेलमा नेपाल विजयी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले स्थानीय ओन्टोरियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा सबै विकेट गुमाएर १५१ रनमा समेटियो । ओन्टोरियाका ओपनर रियाजखान पठानले ८१ बलमा तीन चौकासहित सर्वाधिक ३६ रन बनाउनुभएको थियो । यस्तै जश शाह ४४ बलमा तीन चौकासहित २० रनमा आउट हुनुभयो ।

पहिलो विकेटका लागि दुवै ओपनरले १३.३ ओभरमा ४३ रनको साझेदारी गर्नुभएको थियो । त्यसपछि खेलमा पुनरागमन गरेको नेपालले निरन्तर विकेट झार्‍यो । ओन्टोरियाका मिहिर पटेल चार, नरेश बुढाऐर ४८ बलमा दुई चौका र एक छक्कासहित २९ रन र निकोलस मनोहर २५ रनमा आउट हुनुभयो ।

नेपालका लागि पवन सर्राफले ६ ओभरमा २८ रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले सात ओभरमा २२ रन खर्चेर दुई तथा आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर दुई विकेट र किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२० रन बनाएको थियो । नेपालका विनोद भण्डारीले ५९ बलमा आठ चौकासहित सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेल्नुभयो । एक सय ११६ रनमा पाँच विकेट गुमाइसकेको स्थितिमा नेपाललाई विनोद भण्डारीले सम्हाल्नुभएको थियो ।

नेपालका ओपनर आसिफ शेखले ७५ बलमा चार चौकासहित ४२ रन जोड्नुभएको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १०.१ ओभरमा ३१ रनको साझेदारी गर्नुभएको थियो । कुशलले २९ बलमा २ चौकासहित १३ रनमात्रै जोड्न सक्नुभयो । यस्तै देव खनालले ४४ बलमा दुई चौकासहित २७ रन जोड्नुभयो । उहाँले दोस्रो विकेटका लागि आसिफसँग ५० रनको साझेदारी गर्नुभएको थियो ।

त्यसबाहेक नेपालका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान १९-१९ रन बनाउनुभएको थियो । बसिर अहमदले २६ बलमा २४ रन र आदिल अन्सारीले १० रन थप्नुभयो । ओन्टोरियोका शील पटेलले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिनुभयो ।

नेपालले अब क्यानडासँग दुई एकदिवसीय खेल खेलेपछि टोली स्कटल्यान्ड जानेछ । जहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

स्कटल्यान्डमा नेपालले असार २७ गते पहिलो र असार २९ गते दोस्रो खेल नामिबियासँग खेल्नेछ । असार ३२ गते पुनः नेपालले नामिबिया र साउन १ गते स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाली टोलीमा बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलोपटक औपचारिकरूपमा समेटिएको छ । वैशाखमा जिम्बाबे ‘ए’ सँग भएको टी–२० र एकदिवसीय अभ्यास खेल बसिरले नेपालबाट खेलिसक्नुभएको छ । तर, जिम्बाबे ‘ए’ सँगको खेलमात्रै भएको हुनाले उहाँ पहिलोपटक औपचारिकरूपमा नेपाली टोलीमा पर्नुभएको हो ।

घोषणा टोलीमा युवा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्नुभएको छ । यसअघि टोलीमा रहनुभएका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने टोलीबाट बाहिरिनुभएको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।

नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई कायम राख्न बाँकी खेलका नतिजा आफ्नो पक्षमा पार्नु जरुरी छ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाइका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।

नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंकतालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?