केयुमा अन्तर्राष्ट्रिय संयुक्त डिग्री कार्यक्रम सुरु

Read Time = 4 mins

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटिम) सँग संयुक्तरूपमा डिग्री प्रदान गरिने इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रमका लागि सहकार्य गरेको छ । पहिलो ब्याचका लागि विद्यार्थी भर्नाको आवेदनसमेत आहृवान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केयु र आइआइटिमबीच भएको प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने सम्झौताअनुरूप दुवै संस्थाले संयुक्तरूपमा प्रमाणपत्र प्रदान गर्ने गरी ‘मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी सिस्टम्स’ कार्यक्रम सुरु भएको हो । सन् १६ मे २०२२ मा केयुअन्तर्गतको स्कुल अफ इन्जिनियरिङ धुलिखेल नेपाल र आइआइटिम भारतबीच सन् २० जुलाई १९९८ मा हस्ताक्षर गरिएको समझदारीपत्रको नवीकरणका रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

नेपालको लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताले दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, अध्यापन, अनुसन्धान, विकास, परामर्श, अध्ययन, शैक्षिक सामग्री र प्रकाशन आदानप्रदान र सांस्कृतिक तथा बौद्धिक समृद्धिका अवसरको आधार तयार गरेको केयुका एसोसिएट प्रोफेसर विराजसिंह थापाले बताउनुभएको छ । केयु र आइआइटिमद्वारा संयुक्तरूपमा सञ्चालन गरिने दुईवर्षे उक्त कार्यक्रमको मूल उद्देश्य विद्यार्थीलाई ऊर्जाका विभिन्न क्षेत्रमा रहेका आधारभूत सीप उपलब्ध गराउनु रहेको र सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्ने विद्यार्थीलाई दुवै विशिष्टिकृत संस्थाको लोगो अंकित शैक्षिक प्रमाणपत्र र ट्रान्सक्रिप्टद्वारा दीक्षित गरिने पनि थापाले बताउनुभएको छ ।

प्रोफेसर थापाका अनुसार कार्यक्रमले दुवै विशिष्टिकृत संस्थाका एरोनटिकल, एप्लाइड मेकानिक्स, केमिकल, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, वातावरण, मेटलर्जिकल, मटेरियल इन्जिनियरिङ, ओसन इन्जिनियरिङ, रसायन विज्ञान, भौतिक विज्ञान, मानविकी र सामाजिक विभागको विशेषज्ञतालाई एकीकृत गरी ऊर्जा, प्रविधि र समाजका विभिन्न बहुआयामिक पक्षमा टेवा पुर्‍याउनेछ । कार्यक्रम शैक्षिक सत्र २५ जुलाई २०२२ बाट सुरु हुनेछ भने पहिलो र दोस्रो सेमेस्टर केयुमा सञ्चालन हुनेछन् । पठनपाठनका गतिविधि भने दुवै शिक्षण संस्थाले हाइब्रिड मोडमा गर्नेछन् । पछिल्ला सेमेस्टरको पठनपाठन तथा प्रयोगशालाका कार्य आइआइटिम मद्रासमा सञ्चालन हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?