हावाहुरीले खोटाङमा मकै वाली नष्ट

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्याएको नगरका प्रवक्ता कमल गिरीले बताउनुभयो ।

जिल्लाभर मुख्य बालिका रूपमा मकै खेती लगाउने गरिएको छ । तर हावाहुरीले उत्पादन दिनै नसक्नेगरी मकैको बोट ढलेको छ । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् ।

मकैमा क्षति पुग्दा किसान निराश बनेको दुर्छिमका स्थानीय तामन राई बताउनुहुन्छ । हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङसमेत लडाएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी नआएको बताउनुभयो । सामाजिक सञ्जालमार्फत मात्र मकैमा क्षति भएको जानकारी भएको पाण्डेले जनाउनुभयो ।

दुर्छिमको चुमाखु, रातमाटे लगायतका ठाउँमा लगाइएको मकै वाली हावाहुरीले ढालेर जमिनमा मिलाएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबु लगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताउनुभयो । ‘घोगा लागिसकेको मकैको बोट भाँचिएर हेर्नै नसकिने अवस्था भएको छ । घोगा लागिसकेको मकै न उठाउन मिल्छ, न उठाउँदा दाना लाग्छ’,पुरीले भन्नुभयो, सबैतिरबाट क्षतिको जानकारी आइरहेको छ । विवरण संकलन भइरहेको छ ।

हावाहुरीले मकैमा पुर्याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?