हिउँदमा विकास, बर्खामा सकस

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । वर्षातका कारण बागलुङबाट गाउँ-गाउँ पुग्ने सडक क्षतविक्षत बनेका छन् । ग्रामीण सडकहरू क्षतविक्षत हुदै गएपछि यात्रुलाई समस्या भएको छ । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँ-गाउँमा मनपरि सडक खन्ने प्रवृत्तिका कारण अहिले ती सडक क्षतविक्षत हुँदै गएका छन् । जसकारण बर्खाको समयमा आउजाउ गर्न र सामान ढुवानी गर्न समस्या भएको छ । बागलुङका करिब ३४ प्रतिशत सडक मात्रै बाह्रैमास चल्ने गर्दछन् ।

जिल्लाका कुल सडकमध्ये करिब ६० प्रतिशत सडक आठ महिना मात्र सञ्चालन हुने गर्दछन् भने चार महिना बन्द हुने गर्दछन् । अन्य सडक ६ महिनाभन्दा धेरै नटिक्ने तथ्यांक छ । सडकहरू बिगँ्रदै गएपछि आउजाउ गर्न, सहरबाट गाउँमा सरसामान लैजान र गाउँमा उत्पादित वस्तु सहरमा ढुवानी गर्न समस्या भएको छ । गाउँमा गरिने डोजरे विकास र मनपरि खनिने शाखा सडकका कारण यी सडक हिँड्नै नमिल्ने गरी बिग्रन थालेका छन् ।

पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण अहिले आफूहरूलाई सवारीसाधन चलाउन समस्या परिरहेको चालक टेकबहादुर भण्डारी गुनासो गर्नुहुन्छ । ‘गाउँतिर निकै समस्या हुन्छ । पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ । सडक बिग्रँदा गाडी बिग्रने समस्या त छँदै छ । यात्रुहरूलाई पनि निकै कष्ट परिरहेको छ ।’ उहाँले भन्नुभयो ‘पुराना योजनालाई बेवास्ता गर्ने र नयाँ योजनालाई मात्र बजेट छट्याउँदा यो समस्या आएको हो ।’

बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकनबिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्यांकनबिना नै सडक खन्ने होडबाजीका कारण पहिरोको जोखिमका साथै गाउँ नै कुरूप हुँुदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्याको केही समाधान हुने काठेखोला गाउँपालिकाका रिमबहादुर पुनको भनाइ छ ।

बागलुङका सबै स्थानीय तहमा बर्खाको समयमा सबैको हालत उस्तै हुने गरेको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङका विभिन्न वडामा हिउँदभरि गाउँनै थर्कनेगरि स्काभेटर लगाएर खनिएका सडकमा पानी बग्दा पहिरोको जोखिम बढाएका छन् । बर्खा लागेसँगै सहरी क्षेत्रमा ढलको समस्या र ग्रामीण क्षेत्रमा पहिरोको समस्या हुने गरेको छ ।

समस्याको दिगो समाधानको लागि सरोकारवाला निकायको पर्याप्त ध्यानसमेत पुग्न सकेको छैन । ढल र पहिरोको विषयमा गुनासो बढ्दै गए पनि सरोकारवालाले ‘रेडिमेड’ उत्तर दिने गरेका छन् । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा भन्नुहुन्छ, ‘बजारको मुख्य क्षेत्रमा नालीको समस्या र गाउँमा ग्रामीण पहिरो जाने समस्या हुने गरेको छ ।

यसको लागि कार्यपालिकाले कार्यतालिका बनाएर विभिन्न वडाहरूमा योजना बनाएको छ । त्यति मात्र नभई नगरपालिकाले हामीसँग भएको सबै मेसिन सामग्री प्रयोग गर्ने र सोही अनुरूपको जनशक्ति नियमित नाली सफा गर्न र पहिरो पन्छाउनको लागि खटाएका छौँ ।’
नयाँ सडक खोल्नको लागि तँछाडमछाड गर्ने सरोकारवाला निकाय मर्मतका लागि भने बेवास्ता गर्दै आएका स्थानीयहरू गुनासो छ ।

समस्याको समाधानको लागि जनताको नजिकको सरकारको रूपमा चिनिएको ‘स्थानीय सरकार’ले पनि ठोस योजना नल्याएको बागलुङवासीको आरोप छ । समस्याको दीर्घकालीन समाधानको लागि तीनै तहका सरकारसहित सम्पूर्ण सरोकारवालाले सोही अनुरूपको योजना ल्याउनुपर्ने उनीहरूले माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?