काजी भैरवबहादुरको बिन्तीपत्र-४

Read Time = 7 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र
चिनियाँ बादसाहसमक्ष नेपालका तर्फबाट प्रत्येक पाँच/पाँच वर्षमा पठाइने सौगात मण्डलमध्ये विसं १९६५ मा चीनको राजधानी पुगेको शिष्टमण्डल अन्तिम थियो । विविध कारणले नेपालले १९६५ पश्चात् सौगात मण्डल चीन पठाएन भने सन् १९११ को क्रान्तिले चीनबाट राजतन्त्र नै समाप्त भएपश्चात् त यो परम्परा स्वतः अन्त्य हुनपुग्यो । यही शिष्टमण्डलको नेतृत्व गरेर चीनको राजधानी पेचिङ पुगी फर्कँदा चीनकै विभिन्न स्थानबाट काजी भैरवबहादुरले श्री ३ महाराजलाई पठाएका बिन्तीपत्रहरू यथावत् रूपमा प्रकाशित गर्दै जाने क्रममा यस बिन्तीपत्रको व्यहोरा पाठकसमक्ष प्रस्तुत गरिएको छ ।

यो बिन्तीपत्र पनि पहिलेका बिन्तीपत्र जस्तै गरी श्री ३ लाई प्रसन्न बनाउने उद्देश्यले पठाइएको थियो । यसमा श्री ३ को आदेशअनुसार मालसामान खरिद गरिएको प्रसंग उल्लेख भएको छ । श्री ३ चन्द्रशमशेरको बेलायतयात्रालाई चिनियाँ बादसाहले अन्यथा नसोचून् भन्ने कुरामा नेपाल सरकार सचेत थियो । त्यसैले श्री ३ को बेलायत यात्राका विषयमा चीनका बादसाहबाट सोधनी भएमा दिनुपर्ने जवाफका विषयमा पनि भैरवबहादुरलाई सिकाएर पठाइएको थियो । सोही सन्दर्भको चर्चा पनि यस बिन्तीपत्रमा भएको छ । शासकको व्यक्तिगत प्रयोजनका लागि कुचिन र च्यान्टा घोडा खरिद गरेको तथा खाम क्षेत्रमा केही कडाइ हुनाले प्राप्त हुन ढिलो होला कि भन्ने कुरा परेको छ ।
नेपाल ल्याउने मालसामानका विषयमा खामवा स्थानीय प्रशासनले सोधखोज गर्ने गरेकाले यसभन्दा पूर्वका सौगात मण्डलले पनि निकै हन्डर सास्ती खानुपरेको थियो । शिष्टमण्डल श्री ३ को निजी व्यापारमा समेत सरिक भएको र मालसामान पनि धेरै हुने हुँदा स्थानीय चिनियाँ अधिकारीले यदाकँदा रोक्ने गरेका तथा भन्सार तिराउन खोजेका दृष्टान्त पनि भेटिएका छन् ।

तर, सौगात मण्डलले नेपालबाट लगेका र नेपाल ल्याउन खरिद गरेका कुनै पनि वस्तुमा भन्सार लिने दस्तुर थिएन । यसैकारण पनि शिष्टमण्डल कालान्तरमा व्यापारिक मण्डल जस्तो हुनपुगेको थियो । तत्कालीन भारदारहरूको श्री ३ प्रतिको भक्ति देखाउने परिपाटी पनि यस पत्रबाट बोध हुन्छ । तल्कालीन नेपाली भाषाको अध्ययन गर्नेहरूका लागि पनि यस बिन्तीपत्रले असल कुरा उपलब्ध गराउनेछ । बिन्तीपत्रको व्यहोरा निम्नअनुसार रहेको थियो ः

श्री
वींतीपत्र
र्उप्रान्तमहाराज करुणा निधान सरर्कारकागाथमा सदा कुशलमंगलोदये रहि वक्स्या सेवकको प्रतिपाल र्उधारण होलाप्रभु सेवक ६५ सालपौष गते ३ रोज ५ मा ढींडफु सहरमाआई पुग्याको र आजसम्ममा देषे सुनेको हाल समेत येसैमाषामी चडायाको छु गुज्रीजाहेर हुने नै छ सेवकले थ्यांचीन् षोल्पां कु सम्ममा चडाई पठायाको वींतीपत्रहरु सर्कारकादाषिलभयाका समेत वेहोराको सेवक र्उपर निगाह भै बक्स भयाको ६५ सालकात्तिक २३ गते रोज ७ को वडापत्र पौष गते २१ रोज २ मा ढींडफु आई पुगिदर्शन पाई सिर चडाञा. प्रभु सर्कारको वेलायेत सवारी भै ईजतप्रताप वढेको हाल ञाहापनि सवैले सर्कारको ठुलो वयानगर्याको सुन्दा सेवकलाई ठूलो हर्ष भयाको छ. प्रभु सर्कारको प्रताप वढेको र आरोग्य साथ सवारी फिरि वक्स्याको वडापत्र सिन्दमा दर्सन पाउदा सर्कारकापाउकै दर्सन पाया जस्तो सेवकलाई वहुतै हर्ष लाग्यो. ञाहा ढींडफुमा षरीदगर्नु पन्र्याफर्मायेसी घोडा कुचीन हरू वरावर तलास् गर्दै छु. केहीकुचीन र च्यांटा घोडा ८ षरीद भै सकीयो. हालमा चिनियाँ माल ज्यादा महगो हुनाले जो पायाको षरिद गरी अव १२।१५ दिनमा ञाहाबाट पनि रवाना भै आर्उनेछु. तार्चिन देउमापनि सेवन सकेसम्म चाडै गर्नेछु. प्रभु सर्कारकापाउको दर्सन कैले पार्उलाभंन्या सेवकलाई रातदिन् जपनाभयाको हुनाले भरषख चाडै गरि आउनेछु. षामको मुलुक केहि कडा हुनाले ताहा केही ढिला होलाकिभन्यालागेको छ. सर्कारकाप्रतापले ताहापनि धेरै ढिला हुने छैन सकेभर ६६ सालकाकार्तिक सम्ममाअथवाफागुन सम्ममा सर्कारकापार्उको दर्सन गर्न आइपुगुलाभंन्या सेवकले र्उमेद राषेको छु. प्रभु सेवककाजहानवचा सर्कारकापार्उमा सरण पिछा मा छं. अरु हालजो होला पछि वींती चढाउला ज्यादाहर्फको कं वेस् माफवक्स्यामात्र सेवकको र्उदार छ प्रभु जो हुकुम.

चिनियाँ अक्षरमा काजीको नाम इत सदा सेवककाजी भैरव वहादुर गढतोला क्षेत्रीको रोज २ कुर्णैस् कुर्णैस्
इति सम्वत १९६५ सालपौष गते २२ रोज ३ शुभम .

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
देवीभक्त ढकाल
देवीभक्त ढकाल
2022-07-05 5:55 am

ज्ञानको हस्तान्तरण बधाई छ मिश्र सर

रिलेटेड न्युज

छुटाउनुभयो कि ?