अत्मनिर्भर मुलुक : उत्पादनका साधनमा सबैको अधिकार

Read Time = 14 mins

✍️ स्वयम्भुनाथ कार्की

ठूलाठूला कारखाना, धेरै लगानी र प्रसस्त मान्छेको श्रम एकीकृत गरेर मुलुकको औद्योगिक विकास गर्ने र उन्नतिको शिखरमा पुग्ने चाहना आजको आमसोचाइ हो । उन्नति र प्रगति कसलाई पो चाहिएको छैन र ? विश्व भरका नेताले देखाउने गरेको सपना र सर्वसाधारणले गर्ने गरेको कल्पना उन्नत तथा समृद्ध समाजको हिस्सा हुन पाउनु नै हो । तर यो सबै सपना तथा कल्पना साकार गर्ने नाममा मान्छेको आफ्नो जीवनशैली कस्तो भइरहेको छ भन्नेतर्फ ध्यान पुर्‍याउने फुर्सद कसैलाई छैन । अगाडि पर्ने होडमा दगुरादगुर गर्दा गर्दै एउटा शिशुको शैशव निमोठिएको हुन्छ ।

बालकको बालपन गरुङ्गा पुस्तक खाँदिएको झोला मुनि थिचिन्छ । किशोर वा युवाको यौवन प्रगतिको भनिने भीमकाय मेसिनको महत्वपूर्ण पूर्जा हुने क्रममा समाप्त हुन्छ । जब प्रौढ अवस्थामा आइपुग्छ त्यसबेला आफ्ना बन्धुबान्धव, शाखासन्तान भएर पनि एक्लो जीवन बाँच्न बाध्य हुन्छ तब उसले सोच्छ सम्पूर्ण जीवनकालमा उसले के गर्‍यो र त्यसको उपलब्धि के भयो ?

कसैले मिहिनेत वा श्रम कसका निमित्त गर्दछ, सम्पूर्ण सक्रिय जीवनकालमा मान्छे आफ्नो निमित्त कति समय बाँच्यो ? यो प्रश्नको उत्तरमा गहिरिने हो भने उन्नति भनेको के आजको परिभाषा जस्तै हो त ? यदि उन्नति यही हो भने यो उन्नति कसका निमित्त भयो ? उत्तर आउन एक क्षण लाग्दैन, समाजका निमित्त । फेरि प्रश्न आफ्नै स्थानमा छ, यो समाज भनेको के हो ? यसको हिस्सा मानव हो वा होइन ? निश्चय मानव समूह नै समाज हो, मानव समाजमा मानव नै भएन भने त्यो के समाज ।

तर, यो मानव समाजको प्रगतिले के बहुसंख्यक मान्छेलाई आफ्ना शिशुको शैशव कृडा हेरेर रमाउने केही समय दियो त ? आफ्ना प्यारा सन्ततिको भविष्य सुधार्ने नाममा बिहान उठेदेखि रात न छिप्पिउन्जेल पाठ र शिक्षाको भारी भिराउँदा उनीहरूको बालपन र यौवन कता हरायो ? प्रगतिको यो घानमा भुटिँदा भुटिँदै पनि कोही प्रौढ अवस्थासम्म पुग्न सफल भएछ भने पनि एकांकी जीवनले उसलाई गिज्जाइरहन्छ । अझ कुनै–कुनै समाजमा त थोत्रा कुरा मिल्काउने ठाउँमा मिल्काए झैँ बुढाबुढीलाई थन्क्याउन वृद्धाश्रम छँदैछन् । मेसिनका घिसिएर अनुपयोगी भएका पूर्जालाई थन्क्याउने कबाडी क्षेत्रजस्तै ।

किनभने पुँजीवादको जाँतो होस् वा साम्यवादको चेपुवा दुवै प्रगतिको नाममा मानवलाई एउटा अदृष्य मेसिनको पूर्जा बनाउने प्रणाली हुन । मानवलाई एउटा अदृष्य मेसिनको दास बनाउने कुनै पद्धति मानवीय होइन । दैनिक आवश्यकताका साधनहरूको आपूर्तिको केन्द्रीकरण, जो ठूलाठूला उद्योगहरूको उत्पादन र करिब एकाधिकारले हुन्छ, हानीकारक हुन्छ । आफ्नो परिधि बाहिरको शक्तिमा आफ्नो आधारभूत आवश्यकताको आपूर्ति छोडिदिने सोचमा आत्मनिर्भरता अनावश्यक सोच हुन जान्छ । जीवन बाँच्ने क्रममा आपूmमै सक्षम भएर सम्पूर्ण रूपमा जीवन व्यतीत गर्न पाउने परिस्थिति पुँजीवादी व्यवस्थामा सम्भव छैन भने साम्यवाद र समाजवादमा त कल्पना पनि असम्भव छ ।

साम्यवादको लक्ष कुनै वर्ग नभएको र सबैजना सबै किसिमले एकनासको समाज हुनु हो भनेर साम्यवादी चिन्तकहरू भन्ने गर्दछन् । साम्यवादको यो अवस्था आउनलाई विभिन्न चरण पार गर्नुपर्दछ । पहिले वर्ग संघर्ष भएर सर्वहाराको नेतृत्व कायम हुनुपर्दछ भन्ने उनीहरूको भनाइ हुने गर्दछ । उत्पादनका साधनमा राज्यसत्ताको स्वामित्व, क्षमताअनुसारको काम अनि मान्छेको जन्मदेखि मृत्यु पर्यान्तको आवश्यकताको परिपूर्ति राज्यसत्ताबाट भन्ने साम्यवादको त्यो सपना हो । मानिसबीचमा वर्ग हुने अवस्था व्यक्तिगत सम्पत्तिले हुन्छ । त्यसैले समाजमा कसैसँग सम्पत्ति सञ्चय हुनुहुँदैन ।

त्यसैले उत्पादनका सबै साधनमा राज्यसत्ताको स्वामित्व रहनुपर्दछ । त्यो राज्यसत्ताको उपस्थिति तल्लोस्तरमा केन्द्र नियन्त्रित सामूहिकतामा हुनु पर्दछ । यो नै जनवादी केन्द्रीयता हो । यस्तै साम्यवादको विलोम मानिने पुँजीवादी भनिने चिन्तनको अर्को ध्रुव सर्वसाधारण सबैको भन्दा केही उद्योगी व्यापारीको हातमा उत्पादनका साधन रहनुपर्दछ भन्ने मान्यता राख्दछ । उत्पादनका साधनको केन्द्रीकरणले मात्र उत्पादनमा वृद्धि हुनसक्छ भन्ने सोचाइ साम्यवादी तथा पुँजीवादी दुवैको साझा सोच हो । यी दुवै चिन्तन, अर्थ प्रणालीले सर्वसाधारणलाई उत्पादन प्रणालीको पूर्जामात्र मान्छन् ।

यी दुवैको चिन्तनको समागमबाट पैदा भएको ठिम्याहा चिन्तन समाजवादले भने केही उत्पादनका साधन राज्यशक्तिसँग तथा केही उद्योगी व्यापारीसँग हुनुपर्दछ भन्दछ । उसो त समाजवादको चिन्तन पनि अनेकौं धारामा विभक्त छ । यसमा प्रजातन्त्रिक विशेषण जोड्ने र नजोड्ने चिन्तनले अर्थमा आनका तान फरक पर्दछ । तैपनि यसमा कुनै कुनै क्षेत्रलाई सर्वसाधारणको निमित्त आरक्षण गर्ने र तिनीहरूलाई राज्यले हमेशा संरक्षण तथा मद्धत गर्ने मान्यता छ ।

झलक्क हेर्दा साम्यवादी चिन्तन उत्तम देखिन्छ, आफूले सकेको काम गर्ने र आफ्ना सबै फिक्री राज्यलाई सुम्पिदिने । समाजमा धन नै नरहने अवस्था भयो भने त धनले पैदा हुने भ्रष्टाचार जस्ता अपराध नै हुने भएन, न घुसखोरी, न चोरी न त सम्पत्तिको निमित्त हुने झगडा । सुन्दामा यो साँच्चैको उत्तम अवस्था लाग्दछ । तर, थोर बहुत यो अवस्था जेलमा विद्यामान रहन्छ, जेलभित्र थुनिएकाको दाना, नाना र छानाको सरकारले व्यवस्था गरेको हुन्छ । अझ सीप सिकाउने र त्यसनुसारको श्रम गरेर धन कमाउने अवसर प्रायजसो जेलमा हुने गर्दछ । केबल जेल प्रशासनको शासन र सजाय भाग्दैछु भन्ने अनुभूति हट्ने हो भने यो अवस्था थोरबहुत साम्यवादको अवस्थासँग मिल्न आउँछ ।

पुँजीवादी चिन्तनमा उत्पादनका साधन कुनै व्यक्ति, घराना वा कम्पनीको हातमा हुने र त्यो उत्पादनको प्रतिफल उसैले पाउने हुँदा उसको सारा ध्यान, क्षमता उत्पादन बढाउनतिर नै हुने गर्दछ । यस्ता अवस्थामा उत्पादन त बढ्ने नै भयो, उत्पादन बढेपछि समाजको स्तर उन्नति हुने नै छ भन्ने मान्यता यसका पक्षपातीमा हुने गर्दछ । उत्पादन त अवश्य नै बढ्छ, औसतमा समाज सम्पन्न पनि हुन्छ तर प्रतिफलको समान वितरण नहुनाले धनी र गरिब बीचको खाडल बढ्दै जान्छ । राज्यले निरन्तर यसको निगरानी नगर्ने हो भने अवस्था भयवाह हुन्छ । किनभने जति-जति धनी र गरिबबीचको खाडल चौडा हुँदै जान्छ त्यति नै सामाजिक असुरक्षा बढ्दै जान्छ ।

यसबाट पैदा हुने असन्तोषले विप्लवको रूप लिन बेर लाग्दैन । ज्यादा जसो यस्ता विप्लवहरू रक्तरञ्जित हुने गर्दछन् । शायद दुवै प्रणालीका यस्ता कमजोरीलाई देखेर दुवैबाट केही-केही लिएर अर्को राम्रो प्रणालीको स्थापना गर्न प्रजातान्त्रिक समाजवादको जन्म भयो होला । केही उत्पादन राज्यले गर्ने केही निजी क्षेत्रले गर्ने भन्ने अवधारण कर्णप्रिय छ । अझ आफूलाई सच्चा साम्यवादका अनुयायी भन्नेले सत्ता सम्हालेको नेपालमा सार्वजनिक निजी साझेदारीको कुरा आउनुले सबैभन्दा उत्तम प्रणाली त यो पो रहेछ भन्ने भ्रम दिन्छ ।

नेपाललगायत अल्प विकसित मुलुकमा विगतका करिब पौने शताब्दीदेखि यो प्रणाली लागू छ । काँही यसलाई प्रजातान्त्रिक समाजवाद भनिन्छ भने काहीँ मिश्रित अर्थ व्यवस्था । जहाँ यो प्रणाली लागू भएको छ त्यहाँको कानुन सबैलाई समान छैन । सकारात्मक विभेदको नाममा संविधान हुनै पर्ने ‘कानुनको नजरमा सबै नागरिक समान हुनेछन्’ भन्ने प्रत्याभूतिको उलंघन हुने गर्दछ । यही सबैलाई समान कानुन नहुनाले सुविधा, आरक्षण वा सहुलियत पाउने परिभाषामा आफू पर्न मान्छेले भगीरथ प्रयत्न गर्ने गर्दछ । यो प्रयत्न नै भ्रष्टाचारको जननी हुन जान्छ । मान्छे आफ्नो क्षमता बढाएर होइन बरू आफूलाई अक्षम घोषित गराएर लाभ लिने प्रयत्नमा लाग्छ ।

राज्यको काम बन्दव्यापार गर्ने वा कलकारखाना चलाउने विल्कुलै होइन । एक उद्योगी व्यापारीको धर्म हो आफ्नो व्यापार व्यावसायको हित हेर्नु, यसका निमित्त आफ्नो व्यापार व्यवसायलाई फाइदा पुर्‍याउनेको भलो गर्नुपर्दछ । राज्य यसरी उद्योगी व्यापारी भइदिने हो भने उसले पनि यही नियम मान्छ । यस्तो अवस्थामा राज्यले सही अर्थमा जनताको हित गर्न सक्दैन । राज्यका काम स्थापित मान्यतामा रहनेहरूको हित गर्ने र यस्ता मान्यता तोड्नेहरूलाई पनि मान्यतामा रहने बनाउने हो । राज्यको काम आफ्ना जनतासँग व्यावसायिक प्रतिद्वन्द्वी गर्ने होइन बरू जनताले गरेका नियमसंगत व्यसायलाई विना भेदभाव प्रवद्र्धन गर्ने हो ।

कसैलाई पनि अन्यायपूर्वक लाभ लिन नदिई सबैलाई समान अवसर पाउने वातावरण बनाएमा साधन स्रोतको उचित वितरण स्वतः हुन जान्छ । क्षमता, योग्यता तथा मिहिनेतले सर्वसाधारणले आफ्नो पौरख देखाउन पाउँछन । विभद विल्कुलै हुनु हुँदैन चाहे त्यसलाई सकारात्मक वा नकारात्मक जे नाम दिइयोस् त्यो विभेद नै हो र विभेद भनेको अन्याय हो । क्षमता अभिवृद्धि गर्न आवश्यकता अनुसारको प्रयत्न गरिनु विभेद होइन । सबैले समान अवसर पाउन कसैले कुनै किसिमको शक्तिको आडमा अरूभन्दा ज्यादा नपाओस् । उत्पादनका साधनमा सर्वसाधारणको पहुच रहोस् समान अवसर र योग्यता, क्षमताको प्रतिस्पर्धा अनि उत्पादनका साधनमा सबैको बराबर पहुँच आनन्दी समाजको मन्त्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?