सुधारमा राप्ती प्रादेशिक अस्पताल

हिमालय टाइम्स
Read Time = 3 mins

दाङ । राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ । रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ ।

विरामीहरूको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ । टोकन प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवारकल्यान मन्त्री इन्द्रजित थारुले शुभारम्भ गर्नुभएको छ ।

‘प्रणालीमा नहुँदा यसअघि सेवाग्राहीहरू घण्टौ लाईनमा बस्नु पर्ने बाध्यता थियो । अब यो समस्या टोकण प्रणली लागू भएपछि समाधान भएको छ । पहिले घण्टौ लाईनमा लाग्नु पर्ने अबस्था हुन्थ्यो, यसले विरामी र विरामीका कुरुवालाई निकै अफ्टेरो बनाएको देखिन्थ्यो,’ मन्त्री थारुले भन्नुभयो, समस्या हटेर सहज हुने विश्वास लिएको छु ।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी ब्यबस्था मिलाईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहले बताउनुभयो ।

तालिम घर स्थापना

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो किलिनिकल तालिम घरको स्थापना गरिएको छ । दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उदेश्यले प्रादेशिक अस्पताल भित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो ।

तालिम घरको स्वास्थ्य मन्त्री इन्द्रजित थारुले उदघाटन गर्नुभएको छ । तालिम घरमा बढीमा २० जना सम्मलाई एक चरणमा तालिम दिन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?