मुख्यमन्त्री पाण्डे र एमाले नेता बस्नेतबीचकाे गोप्य भेटले राजनीतिमा नयाँ तरंग

Read Time = 3 mins

काठमाडौं । बागमती प्रदेशको आलोपालो मुख्यमन्त्रीको सम्झौता कार्यान्वयनमा देखिएको विवादबीच मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमाले नेता महेश बस्नेतबीच गोप्य भेटघाट भएको छ । एमाले अध्यक्ष केपी ओलीको दूत बनेर बस्नेतले उक्त भेटघाट गरेको हुनसक्ने अनुमान गरिएको छ ।

कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीविरुद्ध बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख समक्ष जान लागेका बेला प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले पाण्डेलाई समर्थन गरेर जाने रणनीति लिन सक्ने चर्चा चलेको छ ।

बागमतीमा एकीकृत समाजवादीलाई सहयोग गर्न एमाले तयार रहेको बताइरहेका उहाँहरुबीचको गोप्य भेटघाटले राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान समेत हुन थालेको छ । गत बिहीबार दिउँसो बानेश्वरको एभरेष्ट होटलमा मुख्यमन्त्री पाण्डे र बस्नेतबीच भेटघाट भएको थियो ।उक्त भेटघाटको चाँजोपाँजो वामपन्थी नेतृ शोभा पाठकको पहलमा भएको स्रोतको दाबी छ ।

यसैको बलमा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले गठबन्धनले केन्द्रको निर्णय मात्र मान्ने भए पनि अहिले प्रदेश तहमा भइरहेको चलखेललाई नमान्ने र बागमती प्रदेश सरकारको नेतृत्व नछोड्ने सन्देश दिइसकेको हो की भन्ने अनुमान हुन थालेको छ ।

यसअघिको सहमति अनुसार बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनु पर्ने पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत गरेका थिए ।

पाण्डेलाई एमालेले साथ दिएमा कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए पनि पाण्डेले विश्वासको मत पाउनु हुने छ । एमालेसँग प्रदेशसभामा ४१ सांसद छन् भने एकीकृत समाजवादीका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ, जुन संख्या एमाले र एकीकृत समाजवादी मिल्दा पुग्छ ।

यसैबीच मुख्यमन्त्री पाण्डेको सन्दर्भमा कांग्रेस र माओवादीबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने एकीकृत समाजवादीले बताएको छ ।

यसअघि शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता समेत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?