विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

Read Time = 3 mins

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ गरेको छ ।

मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको भएपनि ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेत्र शाही पनि पक्राउ परेका छन् ।

विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको मेयर चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पुर्ववडाध्यक्ष सज्जनबहादुर शाही लगायत १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

३० वैशाखको स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले जाहेरी दिएका व्यक्तिहरुलाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

घटना अनुसन्धान गर्न प्रहरीको टोली पुगेसँगै शव पोस्टमार्टम गर्न सहमति भएको थियो । बेपत्ता भएको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको जंगलमा १६ वर्षीय शाही मृत अवस्थामा भेटिएका थिए ।
मृतक विनोदको मोवाइल बाटोमा भेटिएको थियो भने उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । कक्षा १० मा अध्ययनरत शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए ।

नगरप्रमुख चलाउने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशको सह–महामन्त्री समेत हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?