सीसीटीभी फुटेज माग्नेलाई अर्थ मन्त्रालयको जवाफ: १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहन्छ

Read Time = 3 mins

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लुकाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्नुभएको थियो ।

बजेट पेश गरेको केही दिनपछि जेठ १४ गते राति (बजेट पेश गरेको अघिल्लो दिन) मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनधिकृत व्यक्तिलाई प्रवेश दिई केही कम्पनीको हितमा हुनेगरी राजस्वको दर तलमाथि गरेको खुलासा मिडियाले गरेका थिए ।

त्यसपछि उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज उपलब्ध गराइदिन भन्दै पौडेलले असार १४ गते निवेदन दिनुभएको थियो । निवेदनमा उहाँले २०७८ भदौ २४ गते बेलुका ११ बजेदेखि २०५८ भदौ २५ थते विहान ६ बजेसम्म र २०७८ जेठ १४ गते बेलुका ६ बजेदेखि २०७९ जेठ १५ गते विहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्नुभएको थियो ।

अर्थ मन्त्रालयले निवेदनको जवाफ आज पौडेललाई दिएको छ । जवाफमा मन्त्रालयले भनेको छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख त्रमसः मेटिँदै जाने भनी लेखि आएको हुँदा सोही व्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु ।’

अर्थ मन्त्रालयको यो भनाई सरकारले २०७२ सालमा लागू गरेको सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि विपरित पाइएको छ ।

कार्यविधिमा सीसीटीभी फुटेज कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नु पर्ने उल्लेख छ । तर अर्थ मन्त्रालयले १३ तीनभन्दा बढीको सीसीटीभी फुटेज नरहने बताएको छ ।

संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि उक्त सीसीटीभी फुटेजको माग गर्दै आएको छ । यतिबेला जनताले अर्थमन्त्रालयको सत्यतथ्य बाहिर आउनु पर्ने भन्दै अर्थमन्त्रीको चौतर्फी आलोचना गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?