सन्तोष र मञ्जु पहिलो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बागमती प्रदेशका सन्तोष विश्वकर्मा र नेपाल आर्मीकी मञ्जु विकले राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । खुला स्पर्धाको पुरुषमा सन्तोष र महिलामा मञ्जु च्याम्पियन बन्नुभएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सन्तोषले मधेश प्रदेशका विश्व लामालाई पराजित गर्नुभयो । आर्मीका सनी सिंह तेस्रो र बागमतीका विक्रम मोक्तान चौथो हुनुभयो ।

महिला खुलाको उपाधि भिडन्तमा मञ्जुले आर्मीकै विन्दु पुनलाई हराउनुभयो । बागमतीकी निशा चौधरीले कास्य जित्नुभयो । प्रदेश १ की सुस्मिता राई चौथो बन्नुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार नगद पुरस्कार हात पारेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि मधेशका धर्मेन्द्र रायले स्वर्ण जित्नुभयो । उहाँले फाइनलमा गण्डकी प्रदेशका अनिल बरामलाई पाखा लगाउनुभयो । आर्मीका सुनिल कुँवर तेस्रो तथा मधेशका एलिस बम्जन चौथो स्थानमा रहनुभयो । शीर्ष चार स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाए ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष विनोद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा १५० खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सञ्जु महर्जनले जनाउनुभयो । पुरुषमा दुई र महिलामा एक गरी तीन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?