भलिबलमा पुलिस च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल पुलिस क्लब प्रथम बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा अर्काे विभागीय नेपाल एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

पुलिसले २५-१६, २७-२५ र २५-१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । शनिबारै परोपकार आदर्श माध्यमिक विद्यालयलाई २५-१२, २५-१४ र २५-२३ को सोझो सेटमा जित निकाल्दै आयोजक होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको एपिएफले दुई लाख ५० हजार रुपैयाँ हात पा¥यो । तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले एक लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेका छन् ।

नेपाल पुलिस क्लबकी कोपिला राना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिँदै २५ हजार रुपैयाँ र ट्रफी हात पार्नुभयो । न्यु डायमन्डकी सलिना बुढा मगर उदीयमान खेलाडी हुँदै २० हजार रुपैयाँसँगै ट्रफी हात पार्नुभयो । एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर, एपिएफकै उषाकुमारी विष्ट उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र पुलिसका रूपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उहाँहरूले समान १० हजार रुपैयाँ र शिल्ड हात पार्नुभयो ।

प्रतियोगिताको मुख्य उद्देश्य न्यु डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कारबापतको २० प्रतिशत दिनुपर्नेछ । विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, उपाध्यक्ष हिक्मत थपलिया, क्लबकी अध्यक्ष सुनकेशरी माली, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?