नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बन्नुभएको हो । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बन्नुभएको थियो । उपाधिसँगै नुवाकोटेले एक लाख २५ हजार नगद पुरस्कार पाउनुभयो ।

झापाको केरखास्थित शहीद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाउनुभयो । डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराउनुभयो । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठीसमेत प्रयोग गरिएको थियो । डेविडले एक लाख नगद पुरस्कार जित्नुभयो ।

७१औँ मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउँदै ७५ हजार नगद पुरस्कार हात पार्‍यो । मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जित्यो । महिलामा आकृतिले तनुलाई पाखा लगाउँदै सफलता हात पार्नुभयो । तनुले ७० हजार नगद पुरस्कार जित्नुभयो । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाउनुभयो । सुजलले ६० हजार नगद पुरस्कार पाउनुभयो ।

विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्वमन्त्री अग्नि खरेल, संघीय सांसद एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिवसमेत रहनुभएकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

कोरोना भाइरस (कोभिड-१९) का कारण पहिलोपटक लकडाउन भएयता नेपाल रिङ रेस्लिङ संघको सक्रियतामा भएको यो नवौँ प्रतियोगिता हो । यसअघि दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, वसन्तपुर डबली, बुढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो । नुवाकोटमा दुईपटक रेस्लिङ भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?