अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड-२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तानसमेत रहनुभएका शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नुभयो ।

खेलाडीले पछिल्लो एक वर्षको अवधिमा खेलेको राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रदर्शनलाई आधार मानेर विजेता घोषणा गरिएको मञ्चले जनाएको छ । शाहीले आफूसँगै मनोनयनमा पर्नुभएका क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाललाई पछि पार्दै दोस्रो पटक स्पोर्ट्स अवार्डको उपाधि जित्न सफल हुनुभएको हो ।

यसैगरी टेनिसका खड्काले पुरुषतर्फ मनोनयनमा पर्नुभएका ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उहाँले पनि उपाधिसहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित हुनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो ।

उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हासिल गर्नुभयो । उत्कृष्ट प्रशिक्षक टेनिसका निरज थापा, उत्कृष्ट खेल संघको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गर्नुभयो । उत्कृष्ट सबै जनालाई जनही ३५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी, खेल संघ तथा खेल पत्रकारलाई मुख्यमन्त्री पोखरेल, पोखरा महानगर प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यमबाट राष्ट्रको शिर उचो राख्न सक्षम खेलाडी तथा खेलक्षेत्रमा लागेका व्यक्तिहरूलाई हौसला प्रदान गर्न बर्सेनि स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?