आइजिपी विवादको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी असार २६ गते

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । असार २६ गतेको लागि अर्को पेसी तोकिएको हो । पटक–पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो । आइतबार सुनुवाइको पेसी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । कामु प्रधानन्यायाधीशले आइतबार ५ बजेसम्म बहस सक्न अधिवक्तालाई समय दिनुभएको थियो । तर, आइजी धीरज प्रताप सिंह पक्षका वकिलहरुको बहस पनि सकिएन ।

उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको थियो । दुई दिन भएको बहसपछि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १७ गतेदेखि पूर्ण सुनुवाइमा लैजाने आदेश दिएको थियो । तर, सुनुवाइ नभई स्थगित भयो । जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी चढेको थियो । सर्वोच्च अदालतमा एआइजी विश्वराज पोखरेलले रिट निवेदन दिनुभएको थियो । एआइजी विश्वराज पोखरेलले सिंहलाई नियुक्तिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्नुभएको हो । मन्त्रिपरिषद् बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेसँगै यो विषय विवादमा तानिएको हो ।

एउटै ब्याचका चारजना एआइजीहरू आइजीको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । २०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुनुभएको थियो । त्यस्तै, सात महिनापछि पोखरेलपछि डिआइजी सहकुल थापालाई पनि सरकारले एआइजीमा बढुवा गर्‍यो । त्यसको नौ महिनापछि फेरि तीनजना एआइजीको पद थपेर बढुवा हुनुभयो । डिआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुक बढुवामा पर्नुभएको थियो । यता, एआइजी पोखरेलको बिदा सकिए पनि प्रहरी प्रधान कार्यालयमा उपस्थित हुनुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?