झापामा भारतीय नागरिकको हत्या, संलग्न तीनजना सार्वजनिक

हिमालय टाइम्स
Read Time = 7 mins

-पार्थ मण्डल

झापा । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोल भित्री कच्ची सडक खण्डको हृयुम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको पुरुषको शव भारतीय नागरिक ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाइको रहेको खुलेको छ । भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी जपडिया नरेशलाई फलामको मार्तोलले हिर्काएर हत्या गरेको आरोपमा झापा प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न एकजना फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।

पक्राउ पर्नेहरू अर्जुनधारा नगरपालिका–७ स्थित डाँडागाउँ निवासी ३२ वर्षीया जानुकादेवी थापा, सोही ठाउँका ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । जानुका र बृख नातामा श्रीमान्–श्रीमती हुन् । आरोपी तीनैजनालाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

जपडिया नरेशको हत्या योजनाबद्ध तरिकाले गरिएको बताउँदै एसपी पोखरेलले भन्नुभयो, ‘पाँच लाखको सुपारी लिएर बराहक्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको अनुसन्धानले देखाएको छ ।’ जानुकाले सुपारी लिएका परियारलाई हत्या गर्नुअघि २५ हजार दिएको र पछि फेरि एक लाख ७५ हजार गरी दुई लाख दिएको अनुसन्धानबाट खुलेको छ । त्यस्तै अर्का व्यक्तिलाई एक लाख दिएको र बाँकी रकम दुई लाख रुपैयाँ तिर्न बाँकी देखिएको एसपी पोखरेलले बताउनुभयो ।

प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, दुई थान तन्ना, डोरी, झोला, तीन थान मोबाइल र दुईवटा खाली बोतल फेला पारेको थियो । उनीहरूविरुद्ध झापा जिल्ला अदालत भद्रपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।

यस्तो थियो मृतक र जानुकाबीच सम्बन्ध

गुजरात घर भएका मृतक जपडिया नरेशसँग जानुका थापाको चिनजान भारतमै भएको थियो । २०७६ साल मंसिर महिनातिर जानुका कामको सिलसिलामा भारतको दिल्ली गएकी थिइन् । त्यसपछि उनी गुजरातमा गई त्यहाँ डेढ महिना बस्नेक्रममा मृतक जपडिया नरेशसँग भेटघाट तथा चिनजान भएको थियो । चिनजान यतिसम्म गहिरो भयो कि जानुका २०७६ सालको फागुन अन्तिम सातातिर नेपाल फर्किँदा जपडिया नरेश पनि सँगै आउनुभयो ।

नरेश जानुकालाई छाड्न भारतको पानीट्यांकी नाकासम्म आएका थिए । २०७६ साल चैतमा नरेशले जानुकाका छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडाहरू भारतीय गाडीमा नेपाल पठाएका थिए । मृतक नरेश पटक–पटक मोरङको विराटनगर आउनेजाने गरेको भन्ने जानुकाले प्रहरीलाई बयान दिएकी छिन् । नरेशले जानुकालाई घर निर्माणका लागि पाँच लाख रुपैयाँ पनि दिएको अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताउनुभयो ।

यसरी गरियो हत्या

मोरङको विराटनगर नाकाबाट नेपाल आएका नरेशलाई २०७९ सालको वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध भारतीय रुपैयाँ ५९ हजारसहित पक्राउ गरेको थियो । पक्राउ परेका उनी आन्तरिक राजस्व कार्यालयबाट धरौटी रकम बुझाएर तारिखमा छुटेका थिए । २०७९ साल जेठमा नरेश सोही मुद्दाको तारिखका लागि जानुकाको घर आएर बसेका थिए । त्यहाँ बस्नेक्रममा नरेशले जानुकाको श्रीमान्का अगाडि दुव्र्यवहार गरेका थिए ।

नरेशले दुव्र्यवहार गरेपछि जानुका र उनका श्रीमान् बृखले उनको हत्या गर्ने योजना बनाउन सुरु गरेको एसपी पोखरेलले बताउनुभयो । त्यसपछि फेरि नरेश २०७९ असार ७ गते जानुकाको घरमा आएर बसे । त्यही मौका छोपी हत्याको सुपारी लिएका परियारलाई जानुकाले असार ८ गते घरमा बोलाइन् । अर्का व्यक्ति असार ९ गते जानुकाको घर पुगे । आफ्नो हत्या गर्ने योजना भइरहेको छ भनेर नरेशले सुइँकोसमेत पाएनन् । असार ९ गते बिहान मुद्दाको तारिखका लागि नरेश इटहरीतर्फ लागे । सोही दिन दिउँसो २ः३० बजे पुनः नरेश जानुकाको घर फर्किएर आए ।

हत्याको योजना मुताबिक साँझ परेपश्चात् मृतक नरेश, सुरेश परियार र अर्का एकजना सँगै बसेर मादक पदार्थ सेवन गर्न सुरु गरे । राती साढे १० बजेको समयमा भुइँतलाको उत्तरतर्फको कोठाको ढोकामा उभिरहेका नरेशमाथि परियारले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गरे । नरेश भुइँमा लडेपछि परियारले मृतकको मुख थुनिदिई अर्का व्यक्तिले कोठामा रहेको फलामको मार्तोलले निधारलगायत शरीरका विभिन्न भागमा प्रहार गरे । फलामको मार्तोलको प्रहारले उनको घटनास्थलमै मृत्यु भइसकेको एसपी पोखरेलले बताउनुभयो । ‘त्यसपछि उनीहरूले नरेशको शवलाई लुकाउन र घटनालाई ढाकछोप गर्ने योजना बनाउन सुरु गरे,’ एसपी पोखरेलले भन्नुभयो, ‘शवलाई बोराभित्र प्याक गरी बृखले चलाउने प्रदेश १–०१–०१२ प ८१५० नम्बरको रातो रङको एफजेट मोटरसाइकलमा हालेर परियार र अर्का व्यक्तिले लगे, उनीहरूले शव हालेको बोरा हृयुम पाइपभित्र फालेर हिँडे ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?