संसदीय अभ्यासमा गाउँसभा गर्दै पाल्पाका युवा

हिमालय टाइम्स
Read Time = 6 mins

रामचन्द्र रायमाझी

पाल्पा । गाउँपालिकाको एक सभाहलमा कडा सुरक्षा छ । सुरक्षाकर्मी र मर्यादापालक लामबद्ध छन् । हल प्रवेशका लागि आफ्नो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति हलमा जान पाउँदैनन् । हलभित्र तोकिएअनुसारको आफ्नो स्थानमा बस्नुपर्छ । तोकेको स्थानभन्दा फरक स्थानमा बसे तत्काल मर्यादापालक नियममा ल्याउन अग्रसर हुन्छन् । प्रवेशद्वार बन्द भएपछि जनाउ घण्टी बज्छ । योसँगै सभाध्यक्ष, उपाध्यक्ष र सचिवसहित मर्यादापालकको टोली हलमा प्रवेश गर्छ । रोमा बसेका सांसदहरूले उठेर स्वागत गर्छन् । त्योलगत्तै राष्ट्रिय गान सुरु हुन्छ । अगाडि मञ्चको बीचमा सभाध्यक्ष, उपाध्यक्ष र सचिव दायाँ, बायाँ बस्छन् । मञ्चको अघिल्लो रोमा सत्ता पक्षका सांसद (वडाध्यक्ष, सदस्यहरू), पछिल्लो रोमा प्रतिपक्ष सांसद, त्यसपछि पत्रकार, विशिष्ट व्यक्तिहरू क्रमशः संसद् हलमा छन् । संसद्मा सभाध्यक्षले आगामी वर्षका लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ । सांसद त्यसलाई सुनिरहेका छन् । यसलाई हेर्दा लाग्थ्यो साँच्चिकै संसद् चलिरहेको छ । तर, यो दृश्य पाल्पाको रिब्दीकोट गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा गाउँसभाको स्थापना र अभ्यास कार्यक्रमको हो ।

राष्ट्रिय खेलकुद तथा युवा मन्त्रालय राष्ट्रिय युवा परिषद्को सहयोगमा जिल्ला युवा समिति पाल्पाको सहयोग र रिब्दीकोट गाउँपालिकाको समन्वयमा गाउँपालिकाका युवाहरूलाई नमुना युवा गाउँसभा अभ्यास गराइएको छ । गाउँपालिकाका प्रत्येक वडाबाट तीनजनाका दरले आठवटा वडाबाट २४ जना र पालिकाबाट पाँचजना गरी २९ जना युवाहरूको सहभागितामा नमुना गाउँसभा अभ्यास गरिएको हो ।

कार्यक्रममा प्रत्येक वडाको युवा क्लबबाट एक महिला अनिवार्य हुने गरी तीनजनाका दरले सहभागी गराइएको छ । कार्यक्रममा १६ वर्षदेखि २४ वर्षसम्मका युवाहरूको सहभागिता रहेको छ । यो अभ्यास गाउँपालिकाका युवाहरूका लागि निकै प्रभावकारी र सकारात्मक रहेको पालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । उहाँले यस्तो खालको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुनेसमेत बताउनुभयो ।

नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरूको निर्वाचन विधिबाट हुने छनोट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्यहरूले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरू संकलन, छनोट, वडा समितिमा छलफल तथा पालिकामा पेस गर्ने, बजेटमाथिको दफावार छलफल, विषयगत समितिहरूबीच छलफल, बजेट पारितलगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास गराइएको प्रमुख प्रशिक्षक लिलबहादुर विकले बताउनुभयो ।

युवालाई राजनीतिमा जिम्मेवार बनाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरूमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरूमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिका दिनमा जनप्रतिनिधि हुँदा काम गर्ने शैली, नीति निर्माण तथा कानुनहरूको जानकारी गराउने उद्देश्यले एक जिल्ला एक पालिका गरी ७७ वटै जिल्लामा यो अभियान सञ्चालन गरिएको युवा समिति पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिकामा मात्र यो कार्यक्रम गरिएको हो । २९ जना सहभागीबाट एकजना महिला र एकजना पुरुष छनोट गरी नमुना प्रदेशसभा अभ्यास कार्यक्रममा पठाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशसभाबाट पनि प्रतिनिधिहरूको छनोट गरी संघीय नमुना अभ्यासका लागि पठाइनेछ ।’ नमुना अभ्यासमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतहरूले गर्ने काम कर्तव्य, जिम्मेवारी तथा अधिकार, बजेट बाँडफाँड तथा योजना छनोट, सभा सञ्चालन, सभा समापनलगायतका विषयमा जानकारी पाएको तालिममा सहभागी रिब्दीकोट–२ की विष्णुकला अधिकारीले बताउनुभयो । नमुना गाउँसभा अभ्यास चार दिनसम्म सञ्चालन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?