भ्रष्टाचारको अखडा बन्दै सिटिइभिटी, कलेजको अपग्रेडिङ गर्न सदस्य सचिव नै पैसाको बार्गेनिङमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पैसा कमाउने अखडाका रूपमा रूपान्तरण हुन थालेको छ । अदृश्य रूपमा पैसाको बलमा सम्बन्धन लिने र दिने तथा कलेजको अपग्रेडिङ गर्ने प्रवृत्ति सिटिइभिटीमा मौलाएको छ । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले आफूअनुकूल र सेटिङ गरेका कलेजलाई मात्र अपग्रेडिङ गर्ने प्रक्रिया अघि बढाएको अन्य कलेज सञ्चालकहरूले आरोप लगाएका छन् । अघिल्ला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्ति गर्नुभएका सदस्य सचिव काफ्लेले सिटिइभिटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको मिलेमतोमा आर्थिक लेनदेन गरी कलेजलाई अपग्रेडिङ गर्नुभएको आरोप लागेको हो ।

सदस्य-सचिव काफ्लेले कलेजहरूको अपग्रेडिङबापत प्रतिकलेज पाँचदेखि सात लाख रुपैयाँ बार्गेनिङ गरेको आरोप लागेकोे छ । रकम उठाउन सदस्य सचिव काफ्ले आफैँले कलेजलाई टेलिफोन गरी रकम माग गर्ने गरेको गोप्य स्रोतले जनाएको छ । (नाम नखुलाउने सर्तमा) एक कलेज सञ्चालकका अनुसार सदस्य सचिव काफ्लेले रकम उठाउने काममा कलेज सञ्चालक नेत्र चटौत र भुवनचक्र जोशीलाई परिचालन गर्नुभएको छ ।

परिषद्ले गत फागुनमा सिटिइभिटी अन्तर्गतका कलेजहरूको अपग्रेडिङ गर्ने निर्णय गएको गरेको थियोे । सरकारले टिएसएलसी खारेज गरी १८ महिने कोर्सलाई तीन वर्षे बनाउने निर्णय गरेको थियो । चिकित्सा शिक्षासँग सम्बन्धित विषयलाई चिकित्सा शिक्षा आयोगले अपग्रेडिङको स्वीकृति दिनुपर्ने कानुनी प्रावधान छ । आयोगले मापदण्ड पुगेका १२२ मध्ये ६५ वटालाई अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो । सोही आधारमा सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले अपग्रेडिङ गर्ने पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

‘करिब दुई साताअघि ६५ वटा कलेजलाई विषय अपग्रेडिङ गर्न स्वीकृत दिएको थियो’, एक कलेज सञ्चालकले भन्नुभयोे । उहाँका अनुसार पत्रमा हस्ताक्षर भएलगत्तै उपाध्यक्ष अधिकारीको समेत मिलेमतोमा रकमको बार्गेनिङ भइरहेको छ । ‘सबै कलेजको अपग्रेडिङ गरेबापत साढे दुई करोड रुपैयाँ शुल्क राखिएको छ । परिषद्ले स्वीकृत दिएको चार महिनापछि बल्ल पत्र हस्ताक्षर गरी कलेज सञ्चालकबाटै रकम उठाउन सुरु गरिएको छ’ स्रोतले भन्यो ।

सदस्य सचिव काफ्ले रकम चलखेल गरेको आरोपमा सुरुदेखि नै विवादमा पर्दै आउनुभएको छ । यसअघि प्रशासन महाशाखा प्रमुख हुँदा हरेक शुक्रबार भ्रमणभत्ता लिन र रमाइलो गर्न देशका विभिन्न प्राविधिक शिक्षालय पुग्ने गर्नुभएको थियो । काफ्लेले अघिल्ला प्रशासन विभाग प्रमुख देवेशचन्द्र देवकोटाले आफूलाई असहयोग गरेको भन्दै उहाँको सरुवा नै गरिएको थियो । त्यतिबेला पनि काफ्लेले आफ्नो स्वार्थ अनुसारको सेटिङ मिलाउन नपाएर प्रशासन प्रमुख परिवर्तन गरेको आरोप लागेको थियो । अहिले प्रशासन विभागको प्रमुखमा कृष्ण केसी हुनुहुन्छ । सिटिइभिटीका अध्यक्षसमेत रहनुभएका शिक्षामन्त्री पौडेल, उपाध्यक्ष र सदस्य सचिव मिलेर उपाध्यक्षले धमाधम पत्रमा हस्ताक्षर गरेको आरोप लागेको छ ।

एक कलेज सञ्चालकका अनुसार तोकेको रकम नदिए अपग्रेडिङ रोेक्नेसम्मको चेतावनी दिँदै सदस्य सचिव काफ्लेले रकम असुलिरहनु भएको छ । स्रोतका अनुसार सिएमए सञ्चालन गरेका कलेजलाई अपग्रेडिङ गरी एचए, ल्याब असिष्टेन्टलाई ल्याब टेक्नोलोजी, स्टाफ नर्स बन्द भएकालाई आयुर्वेदिक र रेडियोलोजी विषय सञ्चालनको पत्र दिइएको छ । चार महिनापछि रकम उठाउन सुरु गर्नुभएका सदस्य सचिव काफ्लेले एचए सञ्चालन गरेबापत प्रतिकलेज सात र ल्याबको लागि पाँच लाख रुपैयाँ माग्ने गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?