नेपालमा बेरोजगारीको समस्या अहिलेको मात्रै होइन, धेरै पहिलेदेखिको हो । मुग्लान पस्ने प्रथा यही बेरोजगारीकै कारण चलेको हो । पहिला भारतमा सीमित मुग्लान अहिले विश्वका सयभन्दा बढी मुलुकमा फैलिएको छ । सरकारले संस्थागत रूपमा विश्वका ११० मुलुकमा मात्र वैदेशिक रोजगारीका लागि जान खुला गरे पनि व्यक्तिगत रूपमा विश्वका १७२ मुलुकमा नेपाली कामदार पुगेका छन् ।
दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकारका नेपाली कामदार कामका लागि विदेशिइरहेका छन् । सीप र दक्षता नभएका कामदारले विदेशमा ठूलै समस्या पनि भोग्ने गरेका छन् । यतिमात्रै होइन तिनले कामकै लागि संघर्ष गर्नुपर्ने मात्रै होइन, पारिश्रमिकमा समेत शोषणको शिकार हुनुपरेको छ । शारीरिक शोषणको शिकार हुनुपरेको छ । अन्याय र अत्याचार सहनुपरेको छ । जसले गर्दा धेरै नेपाली कामदार मानसिक रूपमा विक्षिप्तसमेत हुने गरेका छन् ।
यस्तै मानसिक रोग र दुर्घटनामा परेर धेरै नेपाली कामदारले दुःख र हैरानी मात्रै व्यहोर्नुपरेको छैन, ज्यानै समेत गुमाउनुपरेको छ । हरेक दिन रातो बाकसमा बन्द भएर आउने लाशले पनि यो यथार्थलाई पुष्टि गरिरहेको छ । तैपनि नेपाली कामदार विदेशिने क्रममा कमी आउन सकेको छैन । यसको मुख्य कारण नेपालमा केही गर्ने र केही बन्ने अवसरको अभाव नै हो ।
पछिल्लो समय कुकको रूपमा विदेशिनेहरूको संख्या निकै बढेको छ । सहरका मुख्य सडकदेखि गल्लीभित्रसमेत कुक तालिमका लागि खुलेका तालिम केन्द्रहरूले पनि यो तथ्यलाई पुष्टि गरिरहेका छन् । पछिल्लो समय विशेषगरी कुक भिसामा जापान जानेहरूको संख्या उल्लेख्य बढेको छ । कुक भिसामा जापान जानमा केही सहजता भएकाले पनि त्यहाँ जानेहरूको संख्यामा वृद्धि भएको हो । यसरी कुक भिसामा जापान जाने नेपाली कुकहरूको कथाव्यथालाई समेटेर लेखिएको पुस्तक बजारमा आएको छ- ‘चिज नान’ ।
यस पुस्तकका लेखक हुन् डा.विजय ज्ञवाली । जापानको इन्टरनेसनल युनिभर्सिटी अफ् हेल्थ एण्ड वेलफेयरबाट विद्यावारिधि गरेका डा.विजय ज्ञवालीले जापानका विभिन्न रेस्टुरेन्टमा कार्यरत् नेपाली कुकका मर्मस्पर्शी कथाव्यथालाई यो पुस्तकमा समेटेका छन् । यो पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ । यसअघि यो पुस्तक ‘किचेनमा देखिएको सपना’ शीर्षकमा जापानी भाषामा पनि प्रकाशित छ ।
मीठो चिज नान बनाउने कुकको कथाव्यथा कति तीतो छ भन्ने शब्दचित्र यो पुस्तकमा उतारिएको छ । पुस्तकमा जापानका विभिन्न रेस्टुरेन्टमा कार्यरत् नेपाली कुकहरूका आशा र संघर्षका कथा छन् । चिज नान जति स्वादिलो लाग्छ, त्यति नै तीतो अनुभूति हुन्छ चिज नान बनाउने नेपाली कुकका कथाव्यथा । आफ्नै देशमा रोजगारी नपाएर बेरोजगारीले रन्थनिएका नेपाली युवा अनेक उपाय गरेर कुक भिसामा जापान पुगेका छन् । जापान पुगेर पनि तिनको जीवन सहज भने पक्कै भएको छैन ।
जीवनमा केही गर्ने र केही बन्ने आशामा कुकको तालिम लिएर वा नलिएर पनि कुक भिसामा जापान पुगेका नेपाली कामदारले त्यहाँ गर्नुपरेको संघर्ष र खेप्नुपरेको दुःखको कथा छ यो पुस्तकभित्र । जुन कथा पढ्दा पाठकको मन कुँडिन्छ । जापानमा रहेका झण्डै एक लाख नेपालीमध्ये कुक भिसामा त्यहाँ पुगेका १२ हजार ४०७ जना नेपालीको आशा, संघर्ष र उनीहरूको भोगाइमाथि गरिएको अध्ययनलाई गैरआख्यानको शैलीमा तथ्यपरक ढंगमा प्रस्तुत गरिएको छ ।
जापानमा कुक भिसामा जाने कामदारका लागि परिवारसहित् बस्ने सुविधा छ । यो प्रणालीको फाइदा तथा बेफाइदा दुवै पक्षलाई केलाइएको छ पुस्तकभित्रका विभिन्न खण्डमा । कुक भिसामा जापान जान तुलनात्मक रूपमा केही सहज अवश्य छ, तर लगानी भने ठूलै गर्नुपर्छ । लगानीअनुरूप अपेक्षित आम्दानी गर्न पनि ठूलै संघर्ष गर्नुपर्छ । ठूलो लगानी गरेर जापान पुगेका कुकहरूले कुकैमात्र बनेर अपेक्षित आम्दानी गर्न नसकेपछि आफैंले इण्डो-नेपाली रेस्टुरेन्ट खोलेर नेपालबाट कुक भित्र्याउने थिति र बेथितिको चिरफार पनि यो पुस्तकभित्र गरिएको छ । नेपालबाट जापानमा कुक भित्र्याउँदा १५ देखि २० लाखसम्म असुल गर्ने गरिएको छ ।
यसरी सुरुमा कुक बनेर जापान पसेका कामदारले नै रेस्टुरेन्ट खोलेर पुनः चर्को शुल्क लिएर नेपालबाट कुक भित्र्याउने चक्र अहिले पनि निरन्तर चलिरहेको छ । ज्ञवाली लेख्छन्, ‘झट्ट हेर्दा सुरुसुरुमा यसरी बाध्यताबाट सुरु भएको यो चक्र अहिले व्यवसायको रूपमा फष्टाएको छ । यो आधुनिक मानव बेचबिखनको नयाँ रूप बनेको छ । सुरुमा कुकमा आएको व्यक्ति नै पछि व्यवसायी बनेर यो चक्र दोहोरिएको देखिन्छ ।’ (पृष्ठ ४१)
कुक भिसामा जापान जाने कामदारले परिवारसित बस्न पाउने सुविधाको उपभोग गर्दै परिवारसहित् जापानमा बस्ने कामदारले भोग्नुपरेको आर्थिक र मानसिक तनावको पाटोलाई पनि पुस्तकमा उधिनिएको छ । श्रीमानसँगै बस्ने र केही कमाउने आशामा चार महिनाको शिशुलाई नेपालमा छाडेर आएका महिलाका कथादेखि लामो समय सानो र गुम्सिएको कोठामा बसेर लगातार कोइलाका रापमा सेकिएर काम गर्दा पनि सोचेअनुरूपको कमाइ गर्न नसकेर मानसिक समस्यामा परेका कामदारका व्यथासम्मलाई पुस्तकमा उतारिएको छ । माओवादी सशस्त्र युद्ध र राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछिका आक्रोश, असन्तुष्टि र निराशाले डो¥याइएर धेरै युवा विदेशिने क्रम बढेसँगै जापान पस्ने युवाको संख्यामा बढोत्तरी आएको वर्णन पुस्तकमा छ ।
पुस्तकको पहिलो गैरआख्यानिक आलेख ‘चिज नान’ मा छातीका बिरामी कुक रामजीको कथाव्यथा छ भने ‘हृयाप्पी गुड फ्राइडे- रामहरि’ मा कुक रामहरिको कथा छ । उता ‘एउटा जालो’ शीर्षकको आलेखमा कुकको रूपमा जापान जाने एउटा नियमित चक्रको वर्णन छ । ‘बढ्दो मानसिक समस्या’ मा जापानमा कार्यरत नेपाली कुकहरूमा अत्यधिक श्रम र न्यून आयजस्ता कारणले मानसिक समस्या बढ्दै गरेको र आत्महत्या गर्नेहरूको संख्या बढेको चर्चा छ । ‘जनयुद्धको छाया’ मा चाहिँ नेपालमा चलेको माओवादी सशस्त्र द्वन्द्वले आर्थिक क्रियाकलापमा सुस्तता आई बेरोजगारी बढेको र जनतामा निराशा छाएकाले विदेशपलायन हुने र शरणार्थीको रूपमा जापान जानेहरूको संख्या बढेको प्रसंग केलाइएको छ ।
‘आमाहरू’ शीर्षकको आलेखमा चार महिने शिशु नेपालमा छोडेर जापानमा काममा खटिन बाध्य आमा र काम गर्दागर्दै डिप्रेसनको शिकार हुन पुगेका आमाहरूको कारुणिक कथा छ । ‘दोस्रो पुस्ता’ मा चाहिँ बाबुको व्यवसाय समाल्दासमाल्दै विद्यार्थीबाट कुक बन्न पुगेका दोस्रो पुस्ताको वयान छ । ‘बादलमा चाँदीको घेरा’ मा जतिसुकै दुःख भए पनि जापानमा कमाएको पैसाले जीवनमा केही परिवर्तन ल्याउने सम्भावना र जीवनलाई सहज बनाउन सकिने आशाको पक्षलाई उजागर गरिएको छ । यतिमात्रै होइन रेमिट्यान्समार्फत् देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुगेको पाटोलाई देखाइएको छ । अन्त्यमा ‘भिक्षु कावागुचीदेखि कुक रामजीसम्म’ आलेखमा नेपाल-जापान सम्बन्धको ऐतिहासिक रूपरेखादेखि तमाम नेपाली युवाको प्रतिनिधिको रूपमा कुक रामजीको विदेशयात्रा र कठिन श्रमको कथाको वर्णन छ ।
दक्ष, अर्धदक्ष वा अदक्ष जुनसुकै रूपमा कुक भिसामा जापान पुगेका नेपाली कामदारमाथि भइरहेको श्रम शोषण, दैनिक १० देखि १२ घण्टासम्म एकै ठाउँमा र साँघुरा कोठामा बसेर काम गर्नुपर्ने बाध्यता, प्रतिकुल वातावरणमा बसेर काम गर्दा बिग्रेको स्वास्थ्य अवस्था, चिन्ता र तनावले बढेको मानसिक द्वन्द्व र समस्याका कथा पुस्तकमा समेटिएका छन् । यद्यपि पुस्तकभित्र निराशाका पक्षलाई अलि बढी महत्व दिएर प्रस्तुत गरिएको महसुस हुन्छ । दुःख, पीडा र समस्याका कुरामात्रै धेरै आएका छन् । सफलता र सफल व्यक्तिका कथा आएको छैन । जसले गर्दा निराशाका कुरा हाबी भएको छ र आशावादी कुरा कमजोर बन्न पुगेको छ ।
यसमा नकारात्मक पक्षलाई मात्रै बढी खोतल्ने प्रयास भएजस्तो देखिन्छ । सकारात्मक पक्षलाई पनि पहिल्याउने र विद्यमान समस्या समाधानका लागि सम्बन्धित निकायलाई घचघच्याउने काम अलि कम भएझैँ लाग्छ । कुकहरूका मानसिक समस्यामा ध्यान नदिइएको कुरा धेरै दोहोरिएका छन् । यसो त लेखक स्वयं मनोविज्ञ भएको हुँदा लेखन अलि यो विषयतर्फ ढल्किएको हुनसक्छ । अध्ययन अथवा कामका लागि जापान जान चाहनेका लागि यो पुस्तक अत्यन्तै उपयोगी छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका