प्रत्येक शनिवार विद्युत आपूर्ति बन्द हुँदा धादिङमा समस्या

हिमालय टाइम्स
Read Time = 6 mins

वावुराम श्रेष्ठ

धादिङ । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले भने प्रत्येक हप्ताको शनिवार विद्युत आपूर्ति सेवा बन्द गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै नुवाकोटको तारुकाघाटदेखि जरे सबस्टेशनतर्फ आएको ३३ के.भी प्रशारण लाइनको मर्मत सुधार गर्ने भन्दै विद्युत सेवा बन्द गदै आएको हो ।

गत असार १८ गते शनिवार गल्छी गाउँपालिका वडा नं ६ बैरेनी महेश दोभानमा अविरल वर्षाको कारणले पोलमा क्षति भएको र अत्यावश्यक मर्मत सुधार गर्ने भन्दै प्राधिकरण धादिङ शाखाले सूचना नै जारी गरी बिहान १० बजे देखि दिउँसो २ बजेसम्म विद्युत सेवा बन्द गरायो । धादिङको गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ तथा गोरखाको गण्डकी गाउँपालिका लगायतका आसपासका स्थानहरुमा विद्युत आपुर्ति सेवा बन्द भयो ।

उक्त समयमा धादिङको ३३/११ जहरे धादिङबेसी र सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण ११ के.भी फिडरहरु बन्द हुँदा थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध भयो ।

यसरी प्रत्येक हप्ताको शनिवार विद्युत बन्द हुँदा प्राधिकरणलाई त सहज होला तर विद्यार्थीहरु लगायत व्यवसायीहरु भने मारमा परेका छन् । विद्युत बन्द हुँदा चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य भएका छन् । केही समय यता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।

गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको आमनागरिकहरुको गुनासो छ । विद्युतको मर्मत कार्य गर्नु पर्ने कारण देखाउँदै प्राधिकरणले बाध्य भएर विद्युत बन्द गरिएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार बाढी पहिरोले गर्दा विजुलीको पोल ढलेको र ढल्न लागेकाले मर्मत गर्नुपर्ने छ, सोही अनुसार विद्युत बन्द भएको हो ।

जग्गा धनीले लापरबाही तरिकाले जग्गा खारेका छन्, प्राधिकरणलाई कुनै जानकारी दिएको छैन् जब पोल ढल्छ अनि खबर आउँछ । विना जानकारी जग्गा खारेर विजुलीको पोल ढाल्नेलाई कारबाही गरी पाउँ भनी पटक-पटक जिल्ला प्रशासन कार्यालय धादिङलाई चिठ्ठी लेख्दा समेत कुनै सुनुवाई भएको छैन् । कारबाही गर्ने जिम्मेवारी विद्युत प्राधिकरणको छैन् अब हामीले के गर्ने न्यौपानेले भन्नुभयो ।

विजुलीको तार भएको ठाउँमा रुखको हाँगा काट्नु पर्छ, तार भएको ठाउँमा बोट विरुवाले छुने हुँदा त्यसको लागि पनि बत्ती बन्द गर्नुपर्छ । नुवाकोटको तारुकाघाट देखि जरे सबस्टेशनतर्फ मर्मत गर्न र त्यस स्थानमा केही गर्नु पर्दा समेत विद्युत बन्द गर्ने गरेको छ । पहिलो समस्या भनेको नै नुवाकोटको तारुकाघाट देखि जरे सबस्टेशनतर्फ छ यसलाई समाधान गर्न निकै कठिन छ ।

बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा विद्यार्थी, सर्वसाधारण लगायत उद्योग ब्यवसायहरु ठुलो मारमा परेका छन् । विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य छन् । न्यौपानेले सो आपूर्ति सिस्टमबाट हुने गरेकाले अलिकति लोड बढ्ने वित्तिकै सिस्टमबाटै विद्युत आपूर्ति बन्द हुने गरेको जनाउँदै त्यसका लागि केही समाधानको बाटो खोज्नु पर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?