जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुन दलका भए पनि साथ दिनुपर्छ : इन्द्र बानियाँ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले पटक-पटक विजयी गराउने र नराम्रो काम गर्नेलाई पराजित गर्ने बताउनुभएकोछ । सोमबार बिहान ललितपुर उपमहानगरपालिका १५ सातदोबाटोस्थित इन्द्र क्लासिक शान्तिमार्गमा बृक्षारोपण कार्यक्रममा उहाँले असल जनप्रतिनिधिलाई जनताले सधैं माया गर्ने बताउनुभयो ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले वातावरण स्वच्छताका लागि बृक्षरोपण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुग्ने बताउनुभयो । ‘वृक्षारोपणले वातावरण मात्र राम्रो हुन्न, यसले मानव स्वास्थ्यलाई समेत फाइदा पुग्छ,’ बानियाँले भन्नुभयो । उहाँले जनताको काम गर्न जुनसुकै दलबाट विजयी भएका जनप्रतिनिधि भए पनि उनीहरूलाई साथ दिनुपर्नेसमेत बताउनुभयो ।

नेता बानियाँकै पहलमा इन्द्र क्लासिक शान्तिमार्ग पक्की बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । सोही मार्गको दायाँबायाँ विभिन्न प्रजातिका ५५ वटा बिरुवा रोपिएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई हरियाली सहर र स्मार्ट सिटी बनाउन आफूलाई जनताले पुनः अत्यधिक मतका साथ विजयी गराएको बताउनुभयो । ‘यसपटक म जनताको जुन अपेक्षा छ, त्यो पूरा गर्न लागिपर्नेछु । ललितपुरलाई हरियाली मात्र होइन, उज्यालो सहर पनि बनाउनेछु । यदि तपाई रातिको समयमा उपत्यका बाहिरबाट हवाई मार्ग भएर आउनु भयो भने उज्यालो सहर देख्नु भएमा त्यो ललितपुर हुनेछ,’ महर्जनले भन्नुभयो ।

ललितपुर महानगर क्षेत्रका सडकमा १४ सय सडक बत्ती राख्ने काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?