भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा

हिमालय टाइम्स
Read Time = 3 mins

तनहुँ । जिल्लाको भिमाद नगरपालिका-५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानको उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका-६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद-५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् ।

वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि उक्त क्षेत्रमा जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।

सेती नदीले कटान गरेका कारण भिमाद-६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् । केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।

नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो । सेतीनदीको कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपीआर गरिए पनि संरक्षण हुन सकेको छैन । उपप्रमुख खनालले भन्नुभयो, “बस्ती जोगाउन गण्डकी प्रदेश र सङ्घीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौँ ।’’

त्यसैगरी भीमाद-५ का दलित बस्तीका करिब २२ घरधुरी जोगाउनका लागि अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल लगाउने कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । सेती नदीले कटान गरेको क्षेत्रमा नदीलाई छेकेर मर्निङ्ग पार्क बनाउने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

हाल नदी घुमेको उक्त स्थानमा चेक ड्याम निर्माण गरी बस्ती क्षेत्रलाई जोगाउने प्रयास भइरहेको बताइएको छ । बस्ती क्षेत्र संरक्षणका लागि जमिन तलबाट कंक्रिट ढलान निर्माण गर्नुपर्ने देखिएको र यसका लागि ठूलै बजेटको आवश्यक पर्ने नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिनुभयो ।

नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकाले त्यसका लागि नगरपालिका सक्रियरुपमा लागि रहेको उहाँको भनाइ थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?