संसदमा एमाले अध्यक्ष ओलीले भन्नुभयो : इनफ भएपछि बोल्न यहाँ आएको हुँ

Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा अध्यक्ष ओलीले सरकारप्रति लक्षित गर्दै भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

एमाले अध्यक्ष ओलीले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको आरोप समेत लगाउनु भयो । आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै अध्यक्ष ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनु भयो ।

उहाँले अर्थमन्त्रीले एमालेलाई को भन्दै लल्कारेको बताउँदै प्रमुख प्रतिपक्षलाई यसरी नहेप्न र बजेट भाषणको अघिल्लो दिनको अर्थमन्त्रालयको सीसीटिभी फुटेजका विषयमा छानबिन गर्न माग गर्नुभयो ।

अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै ओलीले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको बताउँदै यसबारे छानबिन गर्न माग गर्नुभयो ।

बजेटमा करदर बढाएर सरकारले कुनै घरानालाई पोस्ने काम गरेको उहाँले आरोप लगाउनु भयो । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको घोसपेटका कारण यस्तो भएको उहाँको भनाइ थियो ।

उहाँले बजेट केही घरानाको जस्तो मात्र भएको बताउँदै भन्नुभयो, ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उहाँले भन्नुभयो, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

साथै उहाँले स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) का विषयमा भ्रम छरिएको बताउँदै सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

आफ्नो पहिलो माग नै यही रहेको भन्दै ओलीले एसपीपीको बारेमा क–कसको पालामा के–के भयो सत्य तथ्य प्रधानमन्त्रीले बाहिर ल्याउनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?