दाङमा कोरोना संक्रमणदर शून्य

Read Time = 6 mins

-विवेक खड्का
दाङ । कुनै समय कोरोना संक्रमणकोे उच्च स्कोर र जोखिममा रहेको दाङ जिल्ला अहिले कोरोना संक्रमणदर शून्यमा झरेको छ । कोरोना संक्रमणदर उच्च, संक्रमितको उपचार र व्यवस्थापनमा हम्मे-हम्मे परेको जिल्लाको अवस्था अहिले सुरक्षित रहेको छ ।

कोरोनाविरूद्धको खोप अभियान, स्वास्थ्य सचेतनाको निरन्तरताको प्रभाव र स्वास्थ्य सुरक्षाको नियमित अभ्यासले अहिले जिल्लामा संक्रमणदर शून्य भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनामुक्त हुने जिल्लाको सूचीमा दाङ जिल्ला लुम्बिनी प्रदेशमै एकमात्र जिल्ला रहेको छ ।

खोपप्रति नागरिकहरू विश्वास, स्वास्थ्य सचेतना र कोरोनाविरूद्ध सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावका कारण अहिले जिल्लामा कारोना संक्रमितहरूको संख्या घटेको स्वास्थ्य कार्यलय दाङले जनाएको छ । जिल्लामा रहेका दशवटै पालिकामा निरन्तर रूपमा खोप अभियान सञ्चालन हुँदाको प्रभाव अहिले देखिएको स्वास्थ्य कार्यालय दाङमा प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो ।

कोरोना संक्रमणदर शून्यमा झरेपनि हालसम्म कोरोनाविरूद्धको खोप निरन्तर सञ्चालन गर्दै आएको उहाँले वताउनुभयो । संक्रमितको संख्या शून्य भएपनि स्वास्थ्य सचेतनाका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न/गराउन जरूरी रहेको उल्लेख गर्नुभयो । कोरोना संक्रमणदरको आधारमा जिल्ला अहिले सुरक्षित भइसकेको भएपनि जोखिम भने यथावत रहेको उहाँले वताउनुभयो ।

‘संक्रमितको संख्या कम भन्दै गर्दा नागरिकहरूमा लापरवाही बढ्दै गएको देखिन्छ, स्वस्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नैपर्छ नभए जोखिम बढ्न सक्छ’ उहाँले भन्नुभयो, ‘भिडभाडमा हिँड्ने, जमघट गर्नेजस्ता गतिविधिहरू बढ्दै गएको छ, यसप्रति हामी सचेत हुन जरूरी छ, होइन भने जोखिम पुनः बढ्न सक्छ ।’

अहिले दाङमा ५ वर्षदेखि १२ वर्षमुनीका बालबालिकाहरूलाई फाइजर खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । हरेक बालबालिकाहरूलाई कोरोना संक्रमणबाट बचाउनका लागि विद्यालयहरूमा पुगेर खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकलपर्सन कमल चन्दले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले लिएको लक्ष्यभन्दा बढी नागरिकहरूले कोरोनाविरूद्धको खोप लगाइसकेको उनले बताए । उनका अनुसार अहिले पनि जिल्लाका विभिन्न स्थानमा कोरोनाको बुस्टर खोप लगाउने काम भइरहेको छ ।

कोरोनाविरूद्धको खोप करिव सबै नागरिकसम्म पुगिसकेको र संक्रमणदर शून्य बन्दै गएपछि केही समयदेखि स्वाव परिक्षणसमेत नगरिएको चन्दले बताउनुभयो ।

विदेश जाने युवाहरूको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य अवस्था अनुसार स्वाव परिक्षण गर्ने र उनीहरूलाई बुस्टर डोजको खोप लगाउने गरिएको उहाँले वताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा कुन क्षेत्रमा कति नागरिकले कुन–कुन खोप लगाएका छन् अथवा लगाएका छैनन् भनी तथ्यांक विश्लेषण गर्ने काम भइरहेको छ । पालिकाअनुसार संकलन गरिएका तथ्यांकको विश्लेषण गरी खोप नलगाएका नागरिकहरूको खोजी गरिने बताउनुभयो ।

जिल्लाको कोइलावास क्षेत्रमा भने खोप नलगाएका नागरिकहरूको खोजी गरी उनीहरूलाई खोप लगाउने काम सम्पन्न भइसकेको उहाँ वताउनु हुन्छ । ‘नेपाल–भारत सीमाक्षेत्र भएकाले पनि कोरोनाको जोखिम रहेको भन्दै कोइलाबास क्षेत्रमा भने खोप नलगाएकाहरूको खोजी गरी खोप लगाउने काम भइसकेको छ’ उहाँले भन्नुभयो– ‘अन्य क्षेत्रको तथ्यांक संकलन र विश्लेषण गर्ने काम सकिएपछि मात्रै कहाँ कसले खोप लगाएका छैनन् भनी खोजेर खोप अभियानमा सहभागी गराउँछौँ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २९ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्य छ । सातवटै प्रदेशमा गरी २९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल कुल सक्रिय संक्रमितको संख्या ३ सय १४ छ ।

लुम्बिनी प्रदेशमा एक, कर्णालीमा ६, सुदूरपश्चिममा ५ गण्डकीमा ८, बागमतीमा १, प्रदेश १ मा ७ र मधेश प्रदेशमा एक गरी २९ वटा जिल्ला संक्रमणदरको शून्य सूचीमा छन् । लुम्बिनी प्रदेशमा भने दाङ जिल्ला मात्रै शून्यदरको सूचीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?