जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुन्छ : कानुनमन्त्री

Read Time = 3 mins

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने आश्वासन दिनु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दवाव दिईरहेका बेला उहाँको यस्तो भनाई बाहिर आएको हो ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसदमा सो महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाई हुन गएको जिकीर समेत गर्नु भयो ।

मन्त्री कोइरालाले सो महाअभियोग प्रस्ताव संसदमा छलफल गराउनका लागि संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा छलफल भईरहेको जानकारी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अव त्यो पास भईसकेको छ । अव बजेट पास भईसकेपछि बाँकि रहेको विधेयकहरु आउँदैछ । साथसाथै महाअभियोगलाई पनि छिट्टै हामी संसदमा छलफल गराउँदैछौं । संसदमा छलफल गराउने कुरामा चाँही कार्य व्यवस्था परामर्श समितिमा छलफल पनि चलिराखेको छ । अव त्यो धेरैबेर रहन्न । यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरु के–के हुन, त्यो आरोपसँग सम्बद्ध प्रमाणहरु के–के हुन ? त्यसबारे संसदमा व्यापक छलफल हुन्छ ।’

मन्त्री कोइरालाले महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएका आरोपहरु के–के हुन ? भन्ने बारे व्यापक छलफल हुने पनि बताउनु भयो ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आवद्ध ९८ जना सांसदहरुले गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

मन्त्री कोइरालाले प्रधानन्यायाधीश जबरा निलम्बित भएपनि उहाँको सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले गरिरहनु भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?