पहिरोको त्रासमा रातभर जाग्राम

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । बाढी-पहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय नीरा घिमिरेले बताउनुभयो ।

निरन्तरको वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताउनुभयो । ‘उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । भवनमाथिको सडकबाट खसेको पहिरो भित्तैसम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुंगा र माटो थुप्रिएको छ ।

अझै पानी परिरहे भवन नै बगाउने जोखिम छ’, उहाँले भन्नुभयो, ‘पहिरोले जताततै लेदो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएका छौँ ।’ पहिरोले नजिकैको महेन्द्र ज्योति प्राविको भवन पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठामै भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘पहिरो निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सफा गर्दै काम गछौँ ।’ वडा कार्यालयको करिब २० मिटरमाथि सडकबाट आएको पहिरो रोक्न ५ असारमा गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो । तर पहिराले थप क्षति पुर्याउनुका साथै अन्य दुई स्थानका सडक बगाएको छ ।

पहिरोले बस्तीका १० घर पनि जोखिममा पारेका छन् । यही १ असारमा र त्यसपछि बेला-बेलामा खसिरहेको पहिरोले कोषलाल गुरुङ, प्रेम गुरुङलगायतको घर जोखिममा परेको स्थानीय केशव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बर्खा लागेसँगै राम्रोसँग निदाउन सकेको छैन । पहिरो आउँछ कि भनेर रातभर जाग्राम बस्नुपर्छ । उहाँ मात्र होइन गाउँका अधिकांशको पीडा उस्तै छ । उनीहरूले गाउँपालिकाले आफूहरूलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?