स्थानीयलाई अभिशाप बन्दै कान्द्रा नदी

हिमालय टाइम्स
Read Time = 8 mins

धनगढी । कैलालीको  भजनी नगरपालिका–५ लालबोझीका खुसिराम चौधरीको परिवार एकै दिनको बाढीका कारण विस्थापित भयो । कान्द्रा नदीमा आएको बाढीले विस्थापित भएको उहाँको परिवार आफन्तको घरमा शरण लिन पुगेको छ । बर्सेनि आउने बाढीका कारण विस्थापित हुँदै आउनुभएका खुसिरामलाई वर्षाको समयमा ओभानोमा बस्ने सपनाले साथ दिएको छैन । कान्द्रा नदीले त्यहाँका स्थानीयवासीलाई निकै दुःख दिएको खुसिराम बताउनुहुन्छ ।  ‘हाम्रा लागि कान्द्रा नदी निकै ठूलो दुश्मन बनेको छ । एकाएक आउने बाढीले कतिबेला डुबान हुन्छ थाहा नै हुँदैन,’ खुसिरामले भन्नुभयो, ‘ठाउँ छोडेर जानलाई अर्को विकल्प छैन । यही ठाउँमा बस्दा बर्सेनिको समस्या यस्तै हो ।’

सोही ठाउँका श्यामलाल चौधरीलाई पनि कान्द्रा नदीले निकै दुःख दिएको छ । कहिलेकाहीँ वर्षा नहुँदा पनि नदीमा बाढी आइदिन्छ । यस्तो अवस्थामा स्थानीयवासीलाई थाहा नै हुँदैन । घर डुबानमा परिसकेका हुन्छन् । दिउँसोको समयमा आएको बाढीबाट धेरै वस्तुहरू बचाउन सकिने भए पनि रातीको समयमा आएको बाढीबाट ज्यान जोगाउन पनि मुस्किल हुने गरेको श्यामलाल बताउनुहुन्छ । ‘बाढी कतिबेला आउँछ त्यो पनि थाहा हुँदैन । दिउँसो बाढी आएपछि त भाग्न पनि सकिन्छ । धनमाल पनि बचाउन सकिन्छ,’ श्यामलालले भन्नुभयो, ‘राती निदाएको बेला बाढी आयो भने के गर्ने भन्ने निकै चिन्ता हुन्छ । राती पनि वर्षातको समयमा पालो लगाएर सुत्नुपर्ने अवस्था छ ।’

यसपटक कान्द्रा नदीले कटान गरेपछि लालबोझी डुबानमा परेको थियो । नदीले कटान गर्दा लालबोझीका आठ घरपरिवार  र केही पसलहरूमा समेत क्षति भएको थियो ।  बाढीका कारण विस्थापित भएका स्थानीयवासी यतिबेला आफन्तको घरमा बसिरहेका छन् । नदीले कटान गरेको ठाउँमा अझै पनि नियन्त्रणको प्रयास भएको छैन । नदीले सयौँ बिघा खेतीयोग्य जमिन सखाप पारिसकेको छ । बर्सेनि दर्जनौँ परिवारलाई पूर्णरूपमा नदीले विस्थापित गर्दै आएको छ ।

भजनी–७ को गणेशपुर शिविर बाढीका कारण जलमग्न भयो । त्यहाँ भएका दर्जनौँ घर डुबानमा परे । सुरक्षाकर्मी र स्थानीयवासीको रोहवरमा स्थानीयवासीको केही अन्नपात सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि केही घरहरू पूर्ण क्षति भएर त्रिपालमा बस्नुपरेको स्थानीयवासी राजु चौधरी बताउनुहुन्छ । उहाँले कान्द्रा नदीकै कारण बाढीको पानी बस्तीमा परेर डुबान भएको बताउँदै बाढीका कारण स्थानीयवासीको बिचल्ली भएको बताउनुभयो । ‘बाढीका कारण विस्थापित हुँदा आयआर्जनको बाटोसमेत टुटेको छ । अरूकामा मजदुरी गरेर गुजारा गर्ने शिविर बस्तीमा बाढीका कारण घरको व्यवस्थापनमा लाग्दा बाहिर काममा जान सक्ने अवस्था छैन,’ राजुले भन्नुभयो, ‘खानका लागि मजदुरीमात्रै विकल्प हो । अहिले अरूको काम गरेर आएको पैसाले बर्खा कटाउनुपर्ने शिविरको बाध्यता छ ।’

स्थानीय समाजसेवी खडक बुढाले बाढीका कारण मानवीय क्षति नभए पनि दर्जनौँ घरहरूमा र सडकमा निकै क्षति गरेको बताउनुभएको छ । उहाँका अनुसार वडा नं. ५ को कुलियापुर कुटी, लोकबस्ता, लखरिया, वडा नं. ७ को गणेशपुर शिविरलगायतका क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । विस्थापितलाई सुरक्षित ठाउँमा सार्ने र भएको अन्नपात र महत्वपूर्ण सामानहरू व्यवस्थापन गरिएको छ ।

यस्तै अवस्थामा अहिले सुरक्षित भनिएका स्थानहरू पनि सुरक्षित छैनन् । बुढाले भन्नुभयो, ‘भजनीका लागि बाढी र डुबान नै मुख्य समस्या भएको छ । यसलाई सहजरूपमा समाधान गर्न पनि नसकिने, बर्सेनि त्यही पीडामा जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा भजनीका नागरिक छन् ।’

भजनी नगरपालिकाले बाढीका कारण भएको क्षतिको लगत संकलन सुरु गरेको छ । नगरप्रमुख केवल चौधरीका अनुसार बाढी र डुबानका कारण भएको क्षतिको तथ्यांक संकलन गरेर आवश्यक व्यवस्थापनको काम हुनेछ । उहाँले नगरपालिकाको विपद् व्यवस्थापनको बैठकले भएका स्रोतसाधनलाई प्रयोग गरी तयारी अवस्थामा रहनका लागि निर्देश गरेको बताउनुभयो । ‘मंगलबारको बाढी र डुबानले निकै क्षति पु¥याएको छ । मानवीय क्षति नभए पनि नागरिकहरू विस्थापित भएका छन् । अधिकांश ठाउँमा सडक सञ्जाल टुटेको छ । केही विद्यालय बन्द भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘कति क्षति भयो त्यसको यकिन तथ्यांक आएपछि मात्रै भन्न सकिएला तर समग्रमा भन्दा नागरिकहरूको बिचल्ली बनाएको छ ।’

नगरपालिकाको स्रोतसाधनका अगाडि भजनीको बाढी र डुबानका अगाडि आफूहरू निरीह बन्नुपरेको जनाउँदै नगरप्रमुख चौधरीले कान्द्रा नदीका कारण बर्सेनि सबैभन्दा ठूलो क्षति हुने गरेको बताउनुभएको छ । ‘एउटा बस्ती, एउटा गाउँ जोखिममा भए त कतै विकल्प खोजौँ भन्ने पनि हुन्थ्यो, यहाँ त अधिकांश क्षेत्र बाढी र डुबानको जोखिममा छन् । नगरपालिका र प्रदेश सरकारकै स्रोतसाधनले बाढी र डुबानको जोखिम कम गर्न सकिने अवस्था कतैबाट पनि छैन,’ उहाँले भन्नुभयो, ‘संघीय सरकारले चाहेको भए नदी नियन्त्रण गरेर बाढी र डुबानको जोखिमबाट नागरिकहरूलाई सुरक्षित गर्न सकिन्थ्यो । त्यो पहल अझै सफल भएको छैन ।’

नगरप्रमुख चौधरीका अनुसार वडा नं. ७ को गणेशमान नमुना विद्यालय डुबानमा पर्दा आइसिटी ल्याब कामै नलाग्ने अवस्थामा पुगेको छ । भएका कम्प्युटरलगायतका सामानहरू पानीमा डुबेका छन् भने अन्य विद्यालयमा समेत बाढी र डुबानले क्षति पुर्याएको छ । भजनीमा कान्द्रा, काँढा, मोहना र पथरैया नदी पर्छन् । हालसम्म नदीले हजारौँ बिघा खेतीयोग्य जमिन बगर बनाइसकेको छ । नदीका बीचमा वर्षातको  समयमा आउने बालुवा र माटोका ढिक बन्दै जाने र जता सजिलो भयो त्यतै नदीले कटान गर्ने गरेकाले स्थानीयवासीको खेतीयोग्य जमिनसहित कैयौँ घर नदीमा विलय भइसकेका छन् ।

  •  रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?