विद्युत् आपूर्ति सेवा बन्द हुँदा धादिङमा समस्या

हिमालय टाइम्स
Read Time = 5 mins

-बाबुराम श्रेष्ठ

धादिङ । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले भने प्रत्येक हप्ताको शनिबार विद्युत् आपूर्ति सेवा बन्द गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै नुवाकोटको तारुकाघाटदेखि जरे सबस्टेसनतर्फ आएको ३३ केभी प्रसारण लाइनको मर्मतसुधार गर्ने भन्दै विद्युत् सेवा बन्द गर्दै आएको हो ।

गत असार १८ गते शनिबार गल्छी गाउँपालिका–६ बैरेनी महेश दोभानमा अविरल वर्षाका कारण पोलमा क्षति भएको र अत्यावश्यक मर्मतसुधार गर्ने भन्दै प्राधिकरण धादिङ शाखाले सूचना नै जारी गरी बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा बन्द गराएको छ । धादिङको गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ७ तथा गोरखाको गण्डकी गाउँपालिकालगायत आसपासका स्थानहरूमा विद्युत् आपूर्ति सेवा बन्द भएको छ । उक्त समयमा धादिङको ३३÷११ जहरे धादिङबेसी र सल्यानटार सबस्टेसनअन्तर्गतका सम्पूर्ण ११ केभी फिडरहरू बन्द हुँदा थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना र आरुघाटलगायतका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध भयो ।

यसरी प्रत्येक हप्ताको शनिबार विद्युत् बन्द हुँदा प्राधिकरणलाई त सहज होला तर विद्यार्थीहरू तथा व्यवसायीहरू भने मारमा परेका छन् । विद्युत् बन्द हुँदा चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य भएका छन् । केही समययता बढेको अत्यधिक गर्मीका बीच अघोषितरूपमा भइरहेको घण्टांैको लोडसेडिङ र विद्युत् आपूर्ति असहज हुँदा आमनागरिकको जीवन कष्टकर बन्दै गएको छ । गर्मीका बेला पटक–पटक विद्युत् आपूर्ति बन्द हुने र घण्टौंसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्यधिक सास्ती खेप्न बाध्य भएको आमनागरिकको गुनासो छ । विद्युत्को मर्मत कार्य गर्नुपर्ने कारण देखाउँदै प्राधिकरणले बाध्य भएर विद्युत् बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार बाढीपहिरोले गर्दा बिजुलीको पोल ढलेकाले मर्मत गर्नुपर्नेछ, सोहीअनुसार विद्युत् बन्द भएको हो । ‘जग्गा धनीले लापरबाही तरिकाले जग्गा खारेका छन्, प्राधिकरणलाई कुनै जानकारी दिएको छैन, जब पोल ढल्छ अनि खबर आउँछ । बिना जानकारी जग्गा खारेर बिजुलीको पोल ढाल्नेलाई कारबाही गरिपाऊँ भनी पटक–पटक जिल्ला प्रशासन कार्यालय धादिङलाई चिठी लेख्दासमेत कुनै सुनुवाइ भएको छैन । कारबाही गर्ने जिम्मेवारी विद्युत् प्राधिकरणको हातमा छैन अब हामीले के गर्ने ?,’ न्यौपाने बताउनुहुन्छ । बिजुलीको तार भएको ठाउँमा रुखको हाँगा काट्नुपर्छ, तार भएको ठाउँमा बोटबिरुवाले छुने हुँदा त्यसका लागि पनि बत्ती बन्द गर्नुपर्छ । नुवाकोटको तारुकाघाटदेखि जरे सबस्टेसनतर्फ मर्मत गर्न र त्यस स्थानमा केही गर्नुपर्दासमेत विद्युत् बन्द गर्ने गरेको छ ।

पहिलो समस्या भनेको नै नुवाकोटको तारुकाघाटदेखि जरे सबस्टेसनतर्फ छ, यसलाई समाधान गर्न निकै कठिन छ । बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत् आपूर्ति असहज हुँदा झन् विद्यार्थी, सर्वसाधारणलगायत उद्योग व्यवसायहरू ठूलो मारमा परेका छन् । विद्युत् समस्याकै कारण अधिकांश उद्योग आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?