करिश्माको व्यंग्य- इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो

Read Time = 3 mins

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरमा फुटपाथमा बसेका साना व्यवसायीलाई महानगर प्रहरीले हटाएको घटनालाई केन्द्रमा राख्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउनुभएको छ ।

‘महानगर सफा हुनुपर्छ, सही हो । हामीले आफ्ना करोडौं पर्ने जग्गा/घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्‍यौं, सही हो,’ करिश्माले लेख्नुभएको छ, ‘बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन, त्यो पनि सही कुरा हो ।’ तर गाउँ छोडेर सहरमा गरिखान मानिस किन आउँछन् भन्ने प्रश्न उहाँले उठाउनुभएको छ । उहाँले अघि लेख्नुहुन्छ, ‘गाउँमा स्वास्थ्य, शिक्षा, बाटो, सिँचाइ छैन, दैवी प्रकोपमा परेकाहरूका लागि गाँस, बास, कपास छैन । उनीहरूले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरूका केटाकेटीले नपढ्ने ?’

त्यस्ता व्यक्तिले आफ्ना लागि आफैँले जोहो गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले ‘ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ?’ भन्ने प्रश्नसमेत गर्नुभएको छ । यो काठमाडौंको मात्र समस्या नभएर भविष्यमा हरेक महानगरको समस्या हुने उहाँको भनाइ छ । उहाँ लेख्नुहुन्छ, ‘स्ट्रिट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ । मानिसहरूले/पर्यटकले यसको आनन्द उठाइरहेको देख्न सक्छौं । व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?’

स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन ऊ यो कोचाकोचको जीवन जीउन बाध्य छ भन्ने प्रश्न उहाँले गर्नुभएको छ । ‘गाउँ पाखामा सबै सुविधा उपलब्ध भएको भए त्यही गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी शहर बसेर या विदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला’, फेसबुकमा उहाँले लेख्नुभएको छ, ‘आफ्नो क्षमताअनुसार काम गर्‍यो त के गल्ती गर्‍यो ? ‘ठीक छ, यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नु केही छैन,’ उहाँले लेख्नु भएको छ, ‘तर अहिले हेर्दाचाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?