कलाकारहरूको डाँडाघरे रोधी घर सञ्चालनमा

Read Time = 3 mins

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा परिचित कलाकारहरूद्वारा डाँडाघरे रोधी घर सञ्चालनमा आएको छ । लोक दोहोरी गायकद्वय रविन लामिछाने र सरोज लामिछानेसहितको टिमले डाँडाघरे रोधी घर सञ्चालनमा ल्याउनुभएको हो । गोंगबुस्थित नेपाल टेलिकमको ठीक अगाडि रहेको रोधी घर गायकद्वय लामिछानेसहित उद्धव गुरुङ, सुनिल लामिछाने र दिनेश थापाको संयुक्त लगानी छ ।

हालै एक औपचारिक कार्यक्रममा वरिष्ठ लोक गायक प्रेमराजा महतको प्रमुख आतिथ्यता र गायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको विशेष आतिथ्यता रोधी घरको उद्घाटन भएको हो । कार्यक्रममा नृत्य कलाकार संघका अध्यक्ष उदिराम खड्काले मयूर नाँच प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोक गायक प्रेमराजा महतले बन्दीपुरैमा, हिउँचुलीमा हिउँलगायत चर्चित गीत श्रोता, दर्शकमाझ पस्किनु भएको थियो । यस रोधी घरले ५० जनालाई रोजगारी प्रदान गरेको छ । व्यावसायिक कलाकार तथा नृत्यंगनाले यस रोधी घरमा दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गर्दै आएका छन् । साथै झण्डै १ करोडको लगानी रहेको बताइएको छ ।

कार्यक्रममा व्यवस्थापक तथा कलाकार सुनिल लामिछानेले रोधी घरमा प्रयोग हुने गीतका कलाकारलाई रोयल्टीसमेत तिर्ने बताउनुभयो । ‘रोयल्टी संकलन समाजसँग कुराकानी भइसकेको छ ।’ कलाकार लामिछानलेले भन्नुभयो ‘कलाकारहरूलाई व्यावसायिक बनाउने, दोहोरी साँझमा भएका विकृतिलाई चिरेर अघि बढ्ने, दोहोरीलाई पारिवारिक वातावरण बनाउने लक्ष्य छ ।’

कार्यक्रममा गोंगबुस्थित डाँडाघरे रोधी घरमा गायक बालचन्द्र बराल, अतिथि कलाकार सम्प्रिया खड्का, गायिका शोभा कार्कीको उपस्थिति रहेको थियो । साथै रोधी घरमा असार महिना भरी विभिन्न लोकप्रिय तथा दिग्गज कलाकारको उपस्थिति रहने जानकारी गराइयो ।
साथै शनिबार अतिथि कलाकारको रूपमा उपस्थित हुनुभएका लोक गायक विष्णु खत्री र गायिका पूर्णकला बिसीले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो । यस्तै आइतबार दोहोरी साँझ व्यवसायी समितिका अध्यक्ष बिनोद श्रेष्ठको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?