विनोद दाहाल ‘वत्स’ को टाँकघर खिप्दै गर्दा

Read Time = 51 mins
A A- A+

✍️ तिलकप्रसाद लुइँटेल

नीलो रङको, चिल्लो, राम्रो आवरणमा सेता अक्षरले ‘टाँकघर’ लेखेर पुस्तकको नाम लेखिएको छ । त्यसका तलतिर हलुका नीला अक्षरमा (गद्य कवितासंग्र) लेखेर विधा उल्लेख पनि भएको छ । त्यसै तल खैरो रङमा टाँकको चित्र छ । त्यस पुस्तकका सर्जक विनोद दाहाल ‘वत्स’ हुन् भन्ने आवरणकै तल्लो भागमा सेतो अक्षरले जनाइएको छ । आवरणको भित्री भाग, अर्को एउटा पत्र खाली छ, त्यसको भित्रको सेतो पृष्ठमा आवरणमै भएका अक्षरहरू छन् ।

त्यसभन्दा भित्री पृष्ठमा पुस्तकको विवरणिका रहेको छ । त्यसअनुसार पुस्तकको प्रकाशन २०७८ साल चैत, सर्वाधिकार कविमा, मूल्य २५० आदि जानकारी हुन्छ । त्यसको पछिल्लो पृष्ठमा साहित्यका सर्जक र अनुरागीहरू र आफ्ना स्वर्गीय पिता पं.मा.चन्द्रलाल दाहालमा पुस्तक समर्पण गरिएको देखिन्छ । त्यसको पछिल्लो पृष्ठ खाली छ ।

पुस्तक हेर्दै अघि बढ्दा ‘…विनोद निरन्तर अध्ययनमा संलग्न रहे । बिगुटारमा माध्यमिक तहको परीक्षा नभइसकेको हुनाले विनोदहरूले नजिकै रहेको बरुणेश्वर माध्यमिक विद्यालय रामपुरबाट माध्यमिक तहको अध्ययन गर्न जानुपथ्र्यो ।’ ‘टाँकघर’ भित्र विनोदलाई खोज्दा भन्ने शीर्षक राख्तै पृष्ठ ७–८ मा उहाँका विषयमा वरिष्ठ व्यक्तित्व पत्रकार, लेखक, सञ्चारकर्मी, प्रा.श्रीपुरुषोत्तम दाहालले लेख्नुभएको छ । यसबाट कविले शिक्षा आर्जन गर्नुपर्दा कस्तो असुविधा वा सुविधा थियो भन्ने अवगत हुन्छ ।

त्यसैगरी ‘विनोद दाहाल ‘वत्स’ आफ्नो भिन्नै शैलीगत चिनारीका साथ एक सामथ्र्यवान कविको हैसियतमा गद्य कवितासंग्रह ‘टाँकघर’ लिएर उदाएका छन् । यस संग्रहभित्रका चालीस थान कविताहरूभित्र उनी बगेका छन्, फैलिएका छन् र आफ्नो कवित्व प्रतिभालाई अग्ल्याएका छन्, फुलाएका छन् । निरन्तर अध्ययनमा संलग्न रहे ।’ ‘कवितामा फुलेका कवि विनोद’ भन्ने शीर्षक राख्तै पृष्ठ २२–२३ मा उहाँका विषयमा वरिष्ठ व्यक्तित्व पत्रकार, लेखक, सञ्चारकर्मी श्रीजीवनाथ धमलाले लेख्नुभएको छ । यसबाट कवि विनोदका कविता कस्ता होलान् भन्ने अनुमान हुन्छ ।

अझ अगाडि, ‘विनोद दाहाल ‘वत्स’ लामो समय पत्रकारितामा, प्राध्यापनमा, समीक्षात्मक लेखनमा, राजनीतिक कृतिपरक खोज लेखनमा, कविता, कथा, मुक्तक जस्ता विधा/उपविधा लेखनमा अभ्यस्त स्र्रष्टा हुन् । उनले अहिले मुक्त कवितासंग्रहको यो ‘टाँकघर’ कृति प्रकाशनमा लिएर आउँदा म हर्षविभोर छु ।’ ‘टाँकघरलाई शुभकामना’ भन्ने शीर्षक राख्तै पृष्ठ ३० मा उहाँका विषयमा वरिष्ठ साहित्यकार, कवि, लेखक श्रीकलानिधि दाहालले लेख्नुभएको छ । यसबाट कवि विनोदका व्यक्तित्वका पाटाहरू कति होलान् भन्ने जानकारी हुन्छ ।
त्यस्तै किसिमले, ‘गहिरिँदा व्यक्ति व्यक्ति, स्त्रीलिंग र पुलिंग, भाले र पोथी, एउटा पाटो र अर्को पाटो जोड्ने टाँकघर कूटनीति एक देश अर्को देश आपसी सम्बन्ध, प्रेम मिलन, संयोगलाई संकेत गर्ने विषय समेटेर कविताहरूको संगालो सिर्जना गर्ने, मनलाई आनन्द दिने, मनोरञ्जन प्रशन्नताको स्रोतबाट नाम जुरेका लेखक कवि विनोद दाहाल भन्नेलाई सानो उमेरको मायालु व्यक्तिको ‘वत्स’ उपनामले परिचित विनोद दाहाल वत्स र उहाँको नवसिर्जना गद्य कविता टाँकघरको सफलताको लागि हार्दिक शुभकामना ! शुभकामना !! शुभकामना !!!’

गद्य कवितासंग्रह टाँकघरलाई शुभकामना भन्ने शीर्षक राख्तै पृष्ठ ३१-३२ मा कृतिका विषयमा साहित्यकार, कवि, लेखक श्रीहरिभक्त सिग्देल ‘महेश’ ले लेख्नुभएको छ । ‘टाँकघर’ गद्यकविता संग्रहमा के कस्ता विषय आएका छन् भन्ने यही लेखनबाट अनुमान गर्न सकिन्छ ।

फेरि पनि, ‘मैले किन कविता लेखेँ यसको कुनै कारण छैन अनि मैले कहिलेदेखि कविता लेखेँ भन्ने पनि मलाई स्पष्ट जानकारी छैन । यसैगरी मलाई यसमा कसैको प्रेरणा पनि छैन । अरूका कविताहरू पढ्दै गर्दा आफू विस्तारै लेख्न थालेको हुँ जस्तो लाग्छ मलाई । तर, यसोभन्दा मेरो अग्रजप्रतिको अनादर मानिएला भन्ने भय ममा छ ।’ ‘मेरो भनाइ’ भन्ने शीर्षक राख्तै पृष्ठ ३३ मा कृतिकार दाहाल ‘वत्स’ले लेख्नुभएको छ । यही लेखनबाट उहाँको कवित्वयात्रा र शालीन व्यक्तित्वलाई अनुमान गर्न सकिन्छ ।

अन्तमा, ‘यसले स्मारिका प्रकाशनदेखि साहित्यिक कृतिहरू समेतको प्रकाशन गर्दै आएको छ । साहित्य, संस्कृति, कलाको प्रबद्र्धनसमेत यस संस्थाको उद्देश्य रहिआएको छ । यस क्रममा यस पटक हामीले प्रसिद्ध साहित्यकार तथा पत्रकार विनोद ‘वत्स’को गद्य कवितासंग्रह ‘टाँकघर’ प्रकाशनको अवसर पाएका छौं ।’ ‘प्रकाशकीय’ भन्ने शीर्षक राख्तै पृष्ठ ३६ मा रामप्रसाद दाहालले लेख्नुभएको छ । यही लेखनबाट प्रकाशक संस्थाको कार्यगत गरिमा र कृतिकारको सामाजिक प्रतिष्ठा उहाँको कवित्वयात्रा र शालीन व्यक्तित्वलाई अनुमान गर्न सकिन्छ ।
यसभन्दा पछि ४० वटा कविताका शीर्षक राखिएको विषयसूची पृष्ठ संख्यासहित ‘कविताक्रम’ भन्ने शीर्षकमा आउँछ त्यो क्रम पृष्ठ ३८ मा समाप्त हुन्छ । कविताहरू क्रमशः पढ्दै जाँदा सबै कविताका सबै हरफहरूले मानिसका लागि मनन गर्न योग्य विचार र सन्देश दिँदै आएका छन् । शब्दशः पढ्ने प्रयास गरिए तापनि सबै ठाउँबाट आएको हरेक कथनलाई लेखेर साध्य हुन्न ।

त्यसो गर्दा पाठकले पढ्ने, मनन गर्ने र आफैं अर्थ लगाउने स्वतन्त्रतामाथि बाधा पुग्ला कि ? भन्ने विचार गर्दै गद्यकविता हुनाले छन्द आदिका विषयमा चर्चा गर्नुपरेन । आवश्यकता नभए पनि कुन कविता कति हरफको छ भन्ने उल्लेख गरिएको छ । सबै कविताबाट केही हरफ वा केही शब्द जस्ताको तस्तै उद्धृत गरिएको छ । ती उद्धरणहरूको हरफ संख्या दिइएको छ । ती कवितामा पूर्णविराम चिहृन र प्रश्नवाचक चिहृन कति आएका छन् भन्ने पनि लहडवश उल्लेख गरिएको छ ।

‘आमा’ शीर्षकको पहिलो कविता समग्रमा बत्तीस हरफ र एउटा पूर्णविराम भएको छ । आमाको महिमा सबैलाई थाहै छ । त्यसैले रचनाका लागि यो साझा विषय नै हो, थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । उन्चालीसौं पृष्ठमा यसका उन्नाइसौंदेखि एक्काइसौ हरफसम्ममा

आँखाको नानीमा अटाएर नानीलाई
निल्नै लागेको गाँस ओकलेर
चवी खुवाइदिनेहरू
‘सिँढीहरू’ शीर्षकको दोस्रो कविता समग्रमा बत्तीस हरफ र तीनवटा पूर्णविराम भएको छ । मानिसले एक पटकमा एउटा खुट्किलो उक्लन्छ र एउटै सिँढी चढ्छ । शीर्षकले बहुवचन देखायो । यी सिँढी को हुन् भन्ने जिज्ञासा अवश्य रहन्छ, किनभने यहाँको सिँढी भनेको भर्‍याङ होइन, विविध विषय बोकेर सांकेतिक अर्थमा छ । थप कुरा किताबकै हरफमा हेर्दा राम्रो । बयालीसौँ पृष्ठमा यसका छब्बीसौंदेखि अठ्ठाइसौं हरफसम्ममा-

मलाई माथिसम्म चढ्न नदिएर
ओर्लिन पनि दिएनन् तर
अड्काइरहे बिचैमा
‘बारुद, बुद्ध र म’ शीर्षकको तेस्रो कविता समग्रमा सन्ताउन्न हरफ, एउटा पूर्णविराम र एउटा प्रश्नवाचक चिहृन भएको छ । शान्तिसन्देशका प्रचारक बुद्ध, विश्वमा अशान्ति मच्चाएर बेला बेला कुर्लिन बारुद र हरेक व्यक्तिले आफूलाई चिनाउन बोल्ने सर्वनाम म । यस्तो शीर्षक समयका दृष्टिले एउटा मुहूर्त नभएर बहुकालको सांकेतिक अर्थमा देखिन्छ । शीर्षकविपरीत र विविध पक्ष बोकेको छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । चवालीसौं पृष्ठमा यसका त्रिचासौंदेखि पैचालीसौं हरफसम्ममा-

अलिक पर पुगेर लडे
आफ्नै लुगामा अल्झिएर
बारुदका धुवाँले आँखा तिरमिराए
‘समय’ शीर्षकको चौथो कविता समग्रमा बाउन्न हरफ, एउटा पूर्णविराम र दुईटा प्रश्नवाचक चिहृन भएको छ । प्रायः सबै विधाका रचनामा देखापर्ने शीर्षकलाई हरेक व्यक्तिले चिनेकै हुन्छ । समय र जीवन पर्याय हुन् । समयले साथ दिएसम्म जीवन छ, समयले नदिए केही पनि छैन । अरू धेरै कुरा गर्ने अवसर यसमा हुन्छन् । त्यसैले यो शीर्षक एउटा अमूर्त तत्व नभएर हरेक विषयको संकेतक पनि हो भन्ने अर्थमा देखिन्छ । थप कुरा किताबकै हरफमा हेर्दा राम्रो । सड्चालीसौं पृष्ठमा यसका चौतीसौंदेखि छत्तीसौं हरफसम्ममा-

पहिरो खसेर छेकियो बाटो
मार्ग अवरुद्ध भयो
हामी त्यहीँ रोकियौं

‘बादलको घोडा चढेको म’ शीर्षकको पाँचौं कविता समग्रमा एक्काइस हरफ र दुईटा पूर्णविराम भएको छ । पानी बाफ बनेर त्यसका कणहरू एकत्र हुँदै बादल बनेको हुन्छ र त्यसमा मानिसका मनले विविध आकृतिको कल्पना गर्छ । घोडा धर्तीमा मानिसले काम लगाउने प्राणी हो ।

बादलबाट बन्न सक्तैन । त्यसैले कविका कल्पनाले बादलमा घोडा देखेको र आफ्ना मनले त्यसमा चढेको कल्पना गर्दै हुनुपर्छ भन्ने शीर्षकले संकेत गर्छ । सबै हरफहरू पढेर हेर्दा त्यसभन्दा अझ भिन्न, चामत्कारिक कुराहरू देखिन्छन् । त्यसैले यो शीर्षक सांकेतिक हो भन्ने देखिन्छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । उनन्चालीसौं पृष्ठमा यसका सत्रौंदेखि उन्नाइसौं हरफसम्ममा-

बादल बर्सेर पोल्न थाल्ला
तावाबाट भुङ्ग्रामा पर्नु
नियतिको ठगाइ
‘टाँकघर’ शीर्षकको छैटौं कविता समग्रमा चालीस हरफ र चारोटा पूर्णविराम भएको छ । कवितासंग्रहको नाम नै यसै कविताबाट जुराएको हुनाले यो पुस्तकको मियो हो भन्ने बुझिन्छ । सर्टपाइन्ट लगाउने मानिस टाँकघरसँग अपरिचित हुँदैन र आजका जमानामा त्यस्ता मान्छे नै बहुसंख्यामा छन् । टाँकघरभित्र टाँक छिरेपछि निश्चित दूरीसम्म लुगाको अन्तराल टालिन्छ । टाँक र टाँकघरको प्रयोजन त्यही हो भन्ने सबै मानिसले जानेको कुरो हो । सामान्य वस्तु टाँकघरकै विषयमा एउटा कविता रचिनु र त्यही कविताबाट किताबकै नामकरण हुनुमा पक्कै पनि रहस्यमय र ताजुब लाग्ने कुरो हुनुपर्छ भन्ने शीर्षकले संकेत गर्छ । थप कुरा किताबकै हरफमा हेर्दा राम्रो । पचासौं पृष्ठमा यसका एघारौंदेखि चौध्रौं हरफसम्ममा-

नयाँ छँदा बढी अटमट्ट
साँघुरो, बल धेरै लगाउनुपर्ने
जति पुरानो भयो त्यत्ति नै
फराकिलो बन्दै जाने, यो टाँकघर
‘दोबाटोमा उभिएको मृत्यु’ शीर्षकको सातौं कविता समग्रमा तेत्तीस हरफ, एउटा पूर्णविराम र एउटा प्रश्नवाचक चिहृन भएको छ । दोबाटो देखिने ठाउँ विशेष हो, मृतक देखिन्छ तर मृत्युलाई कसैले देख्न पाएको हुँदैन । उभिने कामले जीवित मानिस वा प्राणीलाई सङ्केत गर्छ । मृत्युलाई मूर्त प्राणीका रूपमा प्रस्तुत गर्दै एउटा कविता रचिनु पक्कै पनि रहस्यले भरिएको हुनुपर्छ भन्ने शीर्षकले सङ्केत गर्छ । थप कुरा किताबकै हरफमा हेर्दा राम्रो । त्रिपन्नौं पृष्ठमा यसका अठ्ठाइसौँदेखि तीसौँ हरफसम्ममा-

फकाएर लग्यो उसलाई मृत्युले
ऊ हाँसेर गयो वा रोएर गयो
लास जाँच भयो भोलिपल्ट
‘समय बरालिएको छ’ शीर्षकको आठौं कविता समग्रमा साठी हरफ र एउटा पूर्णविराम भएको छ । समय भनेर नाम राखेको मानिसले हो । यसलाई नाना-नाममा बाँडेको मानिसले हो । अर्थात् मानिसको जीवनको अवधि नै प्रकारान्तरले समय हो । त्यसैमा बरालिने काम मानिसको हो । अन्य प्राणीका हिँडाइलाई बरालिएको अर्थमा लिएको पाइन्न । समयलाई मानवीकरण गरेर कविता रचिनु पक्कै पनि मानिसलाई समान समयलाई सम्मान दिनु हो भन्ने शीर्षकले संकेत गर्छ । समयको सम्मान नै आफ्नो सम्मान प्राप्तिको मूल मन्त्र हो । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । पचपन्नौं पृष्ठमा यसका छत्तीसौंदेखि अठतीसौं हरफसम्ममा-

छोरो जन्माउँन तिमीजस्तै
तर, म जन्मिएँ हुतिहारा
दाजु र भाइ जन्मिए कर्महारा
‘नयाँ नेपाल’ शीर्षकको नवौं कविता समग्रमा एकाउन्न हरफको छ र यसमा पूर्णविराम छैनन्, बरू दुईवटा विश्यमसूचक चिहृन छन् । शीर्षकले चलनचल्तीमा रहेका राजनीतिक पार्टीहरूमा कुनै कुनैले जनतामा दिएका झुटा आश्वासनलाई संकेत गर्दै आश्वासन बाँड्नेहरूमाथि व्यंग्य गर्न खोजेको अनुमान हुन्छ । नीति बदलिए पनि देशवासीको नियती चाहेनुरूप नबदलिएको संकेत कविताको कथ्य हो । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । उनन्साठीऔं पृष्ठमा यसका उन्चालीसौंदेखि एकाउन्नौं हरफसम्ममा-

दुःखेको छ आज मेरो मुटु
तिमी पल्टेको घाइते स्टेचर
म बनाउँछु नयाँ नेपाल !
‘माटो’ शीर्षकको दशौं कविता समग्रमा चउन्न हरफको छ र यसमा पाँचोवटा पूर्णविराम छन् । माटो शब्दमा कति अर्थ छ, त्यसका विषयमा धेरै लेखक, चिन्तक, विचारक, दार्शनिकले बताएका छन् । सबैको आआफ्नो धारणा छ । धर्ती र शरीरको मूल वस्तु नै माटो हो भन्ने शीर्षकले संकेत गर्दै माटाको सम्मान उसको उचित उपयोगमा छ भन्ने देखिनु कविताको कथ्य हो । उपयोगी वस्तुको सही उपयोग गर्ने मानिस नै सुखी हुन्छ । थप कुरा किताबकै हरफमा हेर्दा राम्रो । एकसठ्ठीऔं पृष्ठमा यसका बयालीसौंदेखि चवालीसौं हरफसम्ममा-

माटो बोलिरहेको छ देशसँग
देश बोलिरहेको छ माटोसँग
पानीमा भिजेर निथ्रुक्क
‘बालक’ शीर्षकको एघारौं कविता समग्रमा बहत्तर हरफको, एउटा पूर्णविराम र एउटा प्रश्नवाचक चिहृन छन् । बालक शब्दमा कति अर्थ छ, त्यो सबैले जानेकै कुरो हो । अबोध बाल्य अवस्थालाई आनन्दमात्रै छ भनेर देख्ने आँखा प्रायः सबैका हुन्छन् । यथार्थमा कैयौं अभाव, अशिक्षाको पीडामा छन् भने सुविधा सम्पन्न भइकन भावनात्मक पीडामा बालवय बिताउने हुन्छन् । बाल्यकालका पीडा पार गरेपछिमात्रै जीवन निर्माणको अवसर प्राप्त हुन्छ भन्ने कविताको कथ्य हो । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । पैँसठ्ठीऔं पृष्ठमा यसका एकसठ्ठीऔंदेखि त्रिसठ्ठीऔं हरफसम्ममा-

किनकि, यो अझै सानो छ
यो अझै तोते बोल्दैछ
अझै यो बामे मात्र सर्दै छ
‘एक हुल कागहरू’ शीर्षकको बाह्रौं कविता समग्रमा पैँतालीस हरफको र एउटा पूर्णविराम भएको छ । काग मानिसले पाल्ने गरेको चरो होइन तर ऊ मानिसको बसोबास भएकै ठाउँमा रहन्छ । प्रकृतिको एक अनौठो सिर्जना, चलाख मानिए पनि कोइलीले झुक्याउँदा झुक्किने स्वभावको हुन्छ । कविताको संकेत उसै प्राकृतिक प्राणीलाई बिम्ब बनाउँदै विशेष प्रकारले गरिएको छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । अडसठ्ठीऔं पृष्ठमा यसका बयालीसौंदेखि पैँतालीसौं हरफसम्ममा-

बचेराको सुन्दर भविष्यका लागि
सचिवालयमा माग गर्ने भएका छन्
सिनु खान पाऊँ, चल्ला चोर्न पाऊँ
अनि आफ्नो वंशको उत्थान गर्न पाऊँ ।
‘ढासी’ शीर्षकको तेह्रौं कविता समग्रमा एकतीस हरफको र एउटा पूर्णविराम भएको छ । व्यक्तिवाचक नामको शीर्षक भएका यस कविताले तमाम मानिसको जनजीविकालाई संकेत गरेको छ । बहुजातीय, बहुधार्मिक समाजको प्रतिनिधित्व गर्ने यस कविताले वार्तालाप, संवाद, शिक्षा, साहित्य, कवित्व आदिको सम्बन्ध मानिसको जीवनसँग गाँसिएको भए नै प्रभावकारी लाग्छ भन्ने संकेत गर्छ । कविताले यसै कुरालाई विशेष प्रकारले संकेत गरेको छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । सत्तरीऔं पृष्ठमा यसका तेइसौंदेखि छब्बीसौं हरफसम्ममा-

अलिकति जोगाउँछ पिठो
मर्चा मोल्छ घैँटामा साँधेर
छ्याङ बनाउँछ र पिएर सुन्छ
मिठो निन्द्रा र मिठो सपनाका लागि
‘फूलहरू’ शीर्षकको चौधौं कविता समग्रमा चवालीस हरफको र एउटा पूर्णविराम भएको छ । प्रत्येक मानिस सुन्दरताप्रेमी हुन्छ । फूलको सुन्दरता विशेषतः उसका रङ र आकारमा हुन्छ । फूलको रङ र आकार मानिसले बनाएको नभएर प्रकृतिले बनाएको हो । फूलतर्फ हेरेका मानिसले मान्नै पर्छ प्रकृति नै सबैभन्दा ठूलो सुन्दरताप्रेमी हो । त्यही भएर त फूलका विशेषतामा कविताले विशेष प्रकारले संकेत गरेको छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । बहत्तरौं पृष्ठमा यसका तेत्तीसौंदेखि पैँतीसौं हरफसम्ममा-

अहिले लहसिएका छन् भँमरासँग
अहिले लेपासिएका छन् मौरीसँग
दहीचिउरे बानी फूलको
‘आँठा, फगटा र पाटाहरूको किसान’ शीर्षकको पन्ध्रौं कविता समग्रमा पैँसठ्ठी हरफको, दुई पूर्णविराम र दुई प्रश्नवाचक चिहृन भएको छ । संसारको सबै मानिस किसान होला वा नहोला तर किसान नचिनेको नेपाली कोही नहोला । संसारको सबै मानिस किसानकै मिहिनेतको कमाई खाएर बाँच्छ । प्रकारान्तरले किसानको कविता भनेर नेपाली जनजीवनको प्रारम्भदेखिको इतिहास बोक्ने कविता भन्ने संकेत पाइन्छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । पचहत्तरौं पृष्ठमा यसका पचासौंदेखि बाउन्नौं हरफसम्ममा-

हार खाए निसहाय बन्दै रणजित
वृद्ध मितबा र तन्नेरी मित
वीर बन्न नसकेका वीर नरसिंह
‘यात्रा’ शीर्षकको सोह्रौं कविता समग्रमा एकतीस हरफको, एक पूर्णविराम र दुई प्रश्नवाचक चिहृन भएको छ । यात्रा भनेको स्थानान्तरण हो, स्थानान्तरण भनेको रूपान्तरण हो । संसारको सबै प्राणी यात्री हो । प्रत्येक क्षण रूपान्तरित हुने संसार नै यात्रामा छ । सबै मानिसले हिँड्ने बाटो सधैं सजिलो हुँदैन र सबैको जीवन पनि सहज छैन मानिस कहिले सुखमा त कहिले दुःखमा बाँच्छ भन्ने सङ्केत कवितामा पाइन्छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । छ्यहत्तरौं पृष्ठमा यसका आठौंदेखि एघारौं हरफसम्ममा-

माथि अगम्य टाकुरा
बीचको म यात्री
रिँगटा लागिरहेको छ
आँखाहरू तिर्मिराएका छन्

‘दशैँको सन्देश’ शीर्षकको सत्रौं कविता समग्रमा बायालीस हरफको, एक पूर्णविराम र दुई प्रश्नवाचक चिहृन भएको छ । प्रत्येक वर्ष आउने दशैँ आस्थाले मान्ने वा नमान्ने जुनसुकै नेपालीका लागि दशैँ अपरिचित वा अनौठो विषय होइन । चाडपर्व जातित्व र धार्मिक आस्थाका पनि परिचय हुन् । दशैँको टीको नेपालीको परिचायक त हो नै, यसका साथै कैयौं नेपालीलाई आफ्ना जीवनको पुरुषार्थ मापन गर्ने आधार पनि बन्न खोजेको हुन्छ भन्ने संकेत कवितामा पाइन्छ । थप कुरा किताबकै हरफहरूमा हेर्दा राम्रो । उनासीऔं पृष्ठमा यसका तीसौंदेखि बत्तीसौं हरफसम्ममा-

पिङ र दहीचिउरा
मासुभात र रमझम परिवेश
त्यतिमात्रै थियो दशैँ मैले जानेको
‘मुसा नमार्ने बिरालाको कथा’ शीर्षकको अठारौं कविता समग्रमा छपन्न हरफको र एक पूर्णविराम भएको छ । मुसाको उपद्रोले घरमा दुःख दिएको हुन्छ र त्यसबाट जोगिन बिरालो पालिन्छ । बिरालाको वास मानिसकै नजिक हुन्छ, बनेलु बिराला पनि हुन्छ भन्ने सुनिएको छ । कवितामा बिरालो पालेको र त्यसले मुसा नमारेको कथा छ । उद्देश्यअनुसार अपनाएका वस्तु वा व्यक्तिले चाहेनुसारको काम गरेन भन्ने त्यो व्यर्थको भारीमात्र संकेत कवितामा पाइन्छ । मुसो के हो, बिरालो को हो र मार्ने काम के हो भन्ने जानकारीका लागि किताबकै हरफहरूमा हेर्दा राम्रो । एकासीऔं पृष्ठमा यसका एकचालीसौंदेखि त्रिचालीसौं हरफसम्ममा-

अब पाल्दिनँ यसलाई म
दुधभात पनि खुवाउँदिन
मासुभात पनि दिन्नँ
‘कुपोषणग्रस्त तीन दाजुभाइ’ शीर्षकको उन्नाइसौं कविता समग्रमा बैसठ्ठी हरफको, पूर्णविराम नभएको, तीन प्रश्नवाचक र अन्तिममा तीन ठाउँमा एक, दुई, तीन विस्मयबोधक चिहृन भएको छ । शीर्षकमा पोषण नपुग्दा जिंग्राएका तीन मानव शरीर भन्ने देखिए पनि कविताका कथ्यले भिन्न र विशेष कुराको संकेत गरेका छन् भन्ने जानकारीका लागि किताबकै हरफहरूमा हेर्दा राम्रो । चौरासी-पचासीऔं पृष्ठमा यसका चवालीसौंदेखि पैँतालीसौं हरफसम्ममा-

एकलकाँटे बन्दै गए
बरालिँदै र अल्लारिँदै गए
इलम सिकेनन्, उद्योग गरेनन्
बाउको खल्ती रित्याउँदै गए
पुख्यौली धन उडाउँदै गए
‘बादल’ शीर्षकको बीसौं कविता समग्रमा पचास हरफको, एक पूर्णविराम भएको छ । शीर्षकमा प्रकृतिको एक गतिशील र परिवर्तनशील बादललाई उल्लेख गरिएको भए पनि मानिसका जीवनमा आउने दुःख सुखका भावनालाई नै संकेत गर्न कविता सक्षम छ भन्ने जानकारीका लागि किताबकै हरफमा हेर्दा राम्रो । सतासीऔं पृष्ठमा यसका उन्चालीसौंदेखि बयालीसौं हरफसम्ममा-
….
बाढी उराल्न सक्छ
पहिरो चलाउन सक्छ
उजाड्न सक्छ धर्ती
‘मन’ शीर्षकको एक्काइसौं कविता समग्रमा बैसठ्ठी हरफको र छवटा पूर्णविराम भएको छ । मानिस मनबाटै निर्देशित हुन्छ भन्ने सबैलाई थाहा भएकै हो । त्यही मनलाई शीर्षक राखेर रचिएको कविता मनले नै मानिसका सुख वा दुःखलाई वहन गर्छ भन्नमा सक्षम छ भन्ने जानकारीका लागि किताबकै हरफमा हेर्दा राम्रो । नब्बेऔं पृष्ठमा यसका पैँतीसौंदेखि सैँतीसौं हरफसम्ममा-

भावनाले र कर्मले
कहालीलाग्दो सोच
बलात्कार गर्छ कसैलाई
‘रहर’ शीर्षकको बाइसौं कविता समग्रमा बयालीस हरफको र एउटा पूर्णविराम भएको छ । रहर मनबाट निस्कन्छ भन्ने थाहा भएकै हो । त्यही रहरलाई शीर्षक राखेर रचिएको कविता रहरकै कारण मानिसका सुख वा दुःख पाइन्छ भन्ने जानकारीका लागि किताबकै हरफहरूमा हेर्दा राम्रो । त्रियानब्बेऔं पृष्ठमा यसका उन्तीसौंदेखि एकतीसौं हरफसम्ममा-

बाको मन पनि पस्यो उनीसँगै लुसुक्क
रहर हो ऊ बेलाको अहिलेको होइन
सेलाएका छन् उत्साहहरू आजकाल
‘दुरुह यात्रा’ शीर्षकको तेइसौं कविता समग्रमा उनन्चास हरफको, एउटा पूर्णविराम र आठ प्रश्नवाचक चिहृन भएको छ । शीर्षकमा कठिन यात्राको कुरो उल्लेख भएको छ । जीवनलाई कसैले सुखशान्तिको खोजी गर्ने अवसरका रूपमा लिएको पाइन्छ भने कसैले सङ्घर्ष, दुःखका रूपमा । मानिसका सुख वा दुःख पाइन्छ भन्ने जानकारीका लागि किताबकै हरफहरूमा हेर्दा राम्रो । पन्चानब्बेऔं पृष्ठमा यसका उन्तीसौंदेखि एकतीसौं हरफसम्ममा–

मिर्मिरे उज्यालोमा सख्खारै
आमाले जाँतो पिँध्ने बेलामा
बाले लौरो टेकेर बर्को ओढी
‘मन उडेको छ भुरुरु’ शीर्षकको चौबीसौं कविता समग्रमा अठ्तीस हरफ र दुईटा पूर्णविराम भएको छ । शीर्षकमा कुनै हलुको वस्तु हावामा उडेको जस्तो देखिन्छ तर नदेखिने, अमूर्त मन भुरुरु क्रियाविशेषणसहित उठेको कुरो उल्लेख भएको छ । मानिसको बन्धन र मुक्ति मनले नै हुन्छ भन्ने शास्त्रले बताउँछ । यसको अर्थ मानिस मनको कारिन्दा हो भन्दा फरक नपर्ला । यसको विस्तृत जानकारी किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । सन्तानब्बेऔं पृष्ठमा यसका एघारौंदेखि तेह्रौं हरफसम्ममा-

आफू समाज बदल्छु भन्छु
यो आफैं बदलिन्छ, फेरिन्छ
अनेक रूप र रङहरूमा
‘आगो’ शीर्षकको पच्चीसौं कविता समग्रमा सत्ताइस हरफ र एउटा पूर्णविराम भएको छ । आगोको प्रयोग र प्रयोजनलाई हटाइदिने हो भने अब संसारमा मानिसको अस्तित्व नै बाँकी रहँदैन । सभ्यताको सुरुवात र मानव समाजको उन्नतिको आधार आगो शीर्षकमा समग्र विकासको कुरो संकेत गरिएको छ । यसको विस्तृत जानकारी किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । उनानब्बेऔं पृष्ठमा यसका पन्ध्रौंदेखि सत्रौं हरफसम्ममा-

धुवाँ फाल्छन् खेतालाहरू
आगो ओकल्छन् मान्छे
दन्तबझान मुखबाट
‘खेत’ शीर्षकको छब्बीसौं कविता समग्रमा अठ्ठाइस हरफ र एउटा पूर्णविराम भएको छ । खेतीमा निर्भर रहेको देश नेपालको परिचय शीर्षकमा रहेको खेतले दिएको छ । खेत छैन भने मानिसको जीवन बाँच्तैन । जीविकासँगै प्राचीन समयदेखिको नेपाली इतिहास बोक्ने सङ्केत यही शीर्षकमा गरिएको छ । विस्तृत जानकारी किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एकसय एकऔँ पृष्ठमा यसका उन्नाइसौंदेखि एक्काइसौं हरफसम्ममा-

आलीमा उभिएर छाता ओढेको
निराश अनुहारको भुँडे मालिक
पसिना पुछ्तै निधारको
‘आकाश’ शीर्षकको सत्ताइसौं कविता समग्रमा सड्चालीस हरफ र एउटा पूर्णविराम भएको छ । प्राचीन वांमयमै आकाशको व्यापक अध्ययन र अनुसन्धान भएको छ । चन्द्रसूर्य, ग्रहनक्षत्र, तारा, बिजुली, ग्रहण, बादल, वर्षा आदि सबैको विस्तृत जानकारी रहेको छ । यस शीर्षकका कविताले के भनेको रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय चारौं पृष्ठमा यसका उन्तीसौंदेखि एकतीसौं हरफसम्ममा-

धेरै सूर्य होलान्, धेरै तारा होलान्
धेरै नक्षत्र होलान्, धेरै ग्रह होलान्
धेरै सौर्य परिवार होलान्
शबैँस, वसन्त र अग्रगामी प्रतीक्षा’ शीर्षकको अठ्ठाइसौं कविता समग्रमा एकतीस हरफ र एउटा पूर्णविराम भएको छ । जीवनको वसन्त नै बैँस हो र समयको बैँस नै वसन्त हो भन्दा अनर्थ नहोला । सबैले र जुनसुकै कुरामा प्रतीक्षा नगरी उपाय छैन । वसन्त पनि प्रतीक्षाले आउँछ बैँसका लागि पनि प्रतीक्षा नै गर्नुपर्छ । अग्रगमन मानिसको स्वभाव हो । यस शीर्षकका कविताले के भनेको रहेछ भन्ने किताबकै हरफमा हेरेर लिँदा राम्रो । एक सय पाँचौं पृष्ठमा यसका पन्ध्रौंदेखि सत्रौं हरफसम्ममा-

छताछुल्ल हरियो पछ्यौरी फिँजाएर
झिसमिसेदेखि नै पर्खिराख तिमी
घामका छड्के किरणले फिटेको सिंदुर
‘चिर आशा’ शीर्षकको उन्तीसौं कविता समग्रमा तेह्र हरफ र एउटा पूर्णविराम भएको छ । आशालाई कसैले दुःखको पर्याय मानेको पाइन्छ भने कसैले जीवनको उन्नति गर्ने आधार । मान्नेले जे मानून् तर जीवनमा कसैले कहिल्यै आशा नगरी बाँच्ने उपाय नै छैन । लक्ष्य प्राप्तिका लागि सबैले कर्मठ बनेर आशा नै गर्नुपर्छ । अग्रगमन मानिसको स्वभाव हो । यस शीर्षकका कविताले के भनेको रहेछ भन्ने किताबकै हरफमा हेरेर लिँदा राम्रो । एक सय सातौं पृष्ठमा यसका एघारौंदेखि पन्ध्रौं हरफसम्ममा-

निराशा मेटाउन, निसाना पहिल्याउन
म आउँछु, आशाको बत्ती बालेर
कालो बादल निराशाको हटाउन ।

‘भास’ शीर्षकको तीसौं कविता समग्रमा सोह्र हरफ र एउटा पूर्णविराम भएको छ । पानीले जमिन ढड्याएर हिँड्ने मानिसलाई अप्ठ्यारो हुनेगरी हिलो जमेको ठाउँ भास हो । जीवनका अप्ठ्याराले अग्रगमनमा बाधा पु¥याउँदा मानिसले आफूलाई भासमा जाकिएको अनुभव गर्छ । यस शीर्षकका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफमा हेरेर लिँदा राम्रो । एक सय आठौं पृष्ठमा यसका दशौंदेखि बाह्रौं हरफसम्ममा-

हड्बडाएर हिँड्दाहिँड्दै
अन्ततः स्थिर बनेको मन
आफ्नो लक्ष्य भेट्टाएझैँ
‘पोखरी’ शीर्षकको एकतीसौं कविता समग्रमा पन्ध्र हरफ र एउटा पूर्णविराम भएको छ । वरिपरि जमिनले पानीलाई घेरेको अवस्थाले पोखरी नाम पाउँछ । पानी गतिशील हुन्छ, उसले ओरालोतिर आफ्नो बाटो बनाउँछ । मानिस गतिशील हुन्छ र उसले माथिको बाटो रोज्छ, अर्थात् उन्नति खोज्छ । यस शीर्षकका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एकसय नवौं पृष्ठमा यसका तेह्रौंदेखि पन्ध्रौं हरफसम्ममा-

म पनि पोखरीमै पोखिएर
बाहिर निस्कन्छु
आफूमात्र लुसुक्क लुसुक्क ।
‘गाउँ बदलिएको छ अचेल’ शीर्षकको बत्तीसौं कविता समग्रमा सत्र हरफ र एउटा पूर्णविराम भएको छ । मानिस गतिशील हुन्छ र उसले उन्नति खोज्छ । उन्नतिको खोजीमा मानिसले आफ्नो ठाउँ छोडेको छ, देश छोडेको छ तर स्वदेशको स्नेह छोडेको भने छैन । यस्तो शीर्षक भएका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय दशौं पृष्ठमा यसका सातौंदेखि नवौं हरफसम्ममा-

भयग्रस्त वातावरणलाई चिर्दै
बुढाबाले खोकेको मात्रै सुनिन्छ
लाटोकोसेरोको आवाजसँगै
‘मेरो रूपान्तरण’ शीर्षकको तेत्तीसौं कविता समग्रमा बीस हरफ र एउटा पूर्णविराम भएको छ । मानिसलाई रूपान्तरण गराउने कारकतत्व विभिन्न हुन्छन् र उसले कस्तो रूपान्तरण खोज्छ भन्ने उसकै इच्छा र अवसरमा भर पर्छ । उन्नति उन्नतिमा लाग्नु पनि रूपान्तरण हो र अवनति हुनु रूपान्तरण नै हो । यस्तो शीर्षक भएका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय एघारौं पृष्ठमा यसका सत्रौंदेखि उन्नाइसौं हरफसम्ममा-

सुन फल्न नसकेर उकालिँदै
माथि माथि चढेको म
सबै कुरामा रूपान्तरित भएँ
‘वर्तमान’ शीर्षकको चौँतीसौं कविता समग्रमा अठार हरफ र तीनोवटा पूर्णविराम भएको छ । फेरिसकेको सास विगतको भयो भने फेर्न रहेको आगत नै हुन्छ । बितेको समय भूत भइसक्यो, आउन बाँकी रहेको भविष्य हो । समय अडिएर नबस्ने हुनाले वर्तमानको निश्चित परिचय छैन । मानिस जहाँ जुन अवस्थामा छ त्यही वर्तमान हो । भूतकाल हेरेर खेद मान्नु वा भविष्यलाई सोचेर अत्यास लिनुभन्दा हातमा जुन अवसर छ त्यसैलाई वर्तमान मानेर उपयोग गर्नु उचित होला । वर्तमान शीर्षक भएका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय बाह्रौं पृष्ठमा यसका सोह्रौंदेखि अठारौं हरफसम्ममा-

ऐना र तारमा अटाए सबै सपना
विपना भएको छ अचेल
गंगा सुकेको दृश्य ऐनाभित्र हेरेँ मैले ।
‘गुरु, गौरव र वेदान्त बमन’ शीर्षकको पैँतीसौं कविता समग्रमा छब्बीस हरफ र एउटा पूर्णविराम भएको छ । गरिमा र गौरव नै गुरुको विशेषता हो । अग्रगति प्रदान गर्ने गुरुको निर्देशन जीवनका लागि कति उपयोगी हुन्छ भन्ने सबैलाई जानकारी हुन्छ । यस्तो शीर्षक भएका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एकसय तेह्रौँ पृष्ठमा यसका सत्रौंदेखि उन्नाइसौं हरफसम्ममा-

धर्मका काँडा रोपेर बाटाभरि
रुस्दीको घाँटीमा हलाल गर्न
गौरव पोतिएको अनुहार
‘बाघ शहर पसेको छ’ शीर्षकको छत्तीसौँ कविता समग्रमा अठ्ठाइस हरफ, एउटा पूर्णविराम र तीनोटा प्रश्नवाचक चिहृन भएको छ । घातक प्राणी बाघ, जनघनत्व भएको शहर र सिकार गर्न सबैभन्दा सजिलो मान्छेको । यस्तो स्थितिमा कति भयानक स्थिति उत्पन्न हुन्छ होला ? अनुमान गर्न सकिन्छ । यस्तो शीर्षक राखेर रचिएका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय पन्ध्रौं पृष्ठमा यसका सातौंदेखि नवौं हरफसम्ममा-

शहरवासीहरू पनि अब
जंगल छेउका गाउँलेहरूझैँ
निदाउँन पाउँदैनन् रातभरि
‘एउटा प्रश्न’ शीर्षकको सैँतीसौं कविता समग्रमा चौबीस हरफ, दुईवटा पूर्णविराम र दुईवटा प्रश्नवाचक चिहृन भएको छ । प्रश्न जिज्ञासा समाधानको आधार र प्रश्न अन्वेषणको प्रथम चरण हो । एउटा प्रश्न शीर्षक राखेर रचिएका कविताले भनेको के रहेछ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय सत्रौं पृष्ठमा यसका एघारौंदेखि तेह्रौं हरफसम्ममा-

भुइँचालो आएर
के थाहा त्यसको थुप्रोभित्र
हराएका हुन्छौ कि तिमी ?
‘भित्तो’ शीर्षकको अठ्तीसौं कविता समग्रमा एकतीस हरफ र एउटा पूर्णविराम भएको छ । घरभित्र कि घरभन्दा बाहिर भन्ने कुराका सीमा त्यही भित्ताले नै ठम्याइदिन्छ । बिरामीले भित्ता लागेको मानिस चितामा पुग्न सक्छ । अधिकार नभएका ठाउँमा भित्तो नाघेरभित्र पस्नेले अपराध गर्न सक्छ । यस्तो शीर्षक राखेर रचिएका कविताले कस्ता भित्ताको कुरो गरेको छ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय उन्नाइसौं पृष्ठमा यसका चौधौंदेखि सोह्रौं हरफसम्ममा-

हाँसो लुटिएको छ त्यसको
हेरिरहन्छ मलाई उदास आँखाले
तस्वीरविनाको भित्तो टुलुटुलु
‘बाटो’ शीर्षकको उन्चालीसौं कविता समग्रमा चालीस हरफ र एउटा पूर्णविराम भएको छ । बाटो मानिसलाई गन्तव्यमा पुग्नका लागि चाहिन्छ । समस्याबाट मुक्त हुने उपाय पनि लक्ष्यमा पु¥याउने बाटो जस्तै हो । बाटाका पर्याय धेरै भए जस्तै बाटो शब्दले पनि विभिन्न अर्थ बोकेको हुन सक्छ । बाटो शीर्षक राखेर रचिएका कविताले कस्तो कुरो गरेको छ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एकसय एक्काइसौं पृष्ठमा यसका सत्रौंदेखि उन्नाइसौं हरफसम्ममा-

‘सन्तोषं परमम् सुखम्’ मा
रमाइरहेको छ बाटो
माथि पु¥याउन सकेकोमा धेरैलाई
‘गभाराहरू’ शीर्षकको चालीसौं र यस पुस्तकको अन्तिम कविता समग्रमा अठ्ठाइस हरफ र एउटा पूर्णविराम भएको छ । गभाराले पिँडालुका गाभाहरू नष्ट गर्छ र केराको घारी नष्ट गर्छ । सोझो शब्दमा त्यसै विनाशक कीटको सङ्केत असल र सुन्दर ठाउँलाई विनाश गर्ने कसैका लागि पो गरिएको हो कि ? यस्तो शीर्षक राखेर रचिएका कविताले कस्तो कुरो गरेको छ भन्ने किताबकै हरफहरूमा हेरेर लिँदा राम्रो । एक सय तेइसौं पृष्ठमा यसका अठारौंदेखि बीसौं हरफसम्ममा-

केराका बोटमा सल्केछन्
मुख बटारेपछि तर,
खरानी छर्किएपछि आमाले
‘टाँकघर’ खोल्ने अर्थात् कवितासंग्रहको विमोचन २०७९ जेठ २८ गते शनिबारका दिन नवपुस्तकालय सुकेधारा धोवीखोला किनारमा भएको थियो । स्रष्टा विनोद दाहाल ‘वत्स’को निम्ता पाइएकै थियो तर त्यहीँ गएर खिप्ने अनुकूल मिलेन । घरछिमेक, लामो समयदेखि परिचित साथीको कृति विमोचनले खुशी लाग्दै थियो तर सहभागी हुन नपाउँदा खिन्न पनि थिएँ । उहाँले के सोच्नुभयो होला भन्ने मनमा लागे पनि बेलामा काम हुन नसकेपछि पछुताएर कुनै अर्थ रहन्न । समयान्तरमा पुस्तक उहाँबाटै हात पर्‍यो । एकसरो पढ्दै जाँदा प्रत्येक कविताको एकाध ठाउँमा चिनो लगाइयो । यस लेखमा त्यही टिपोट गर्दै राखियो । यी टिपोटका अघिपछि वा समग्र कवितामा के ल्याएको छ भनेर हेर्ने जिम्मा पाठकलाई लगाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?