नेपालमा वर्तमान राज्यप्रणाली र २०७२ सालको संविधान लागू भएपछि पहिलो पटक २०७४ सालमा स्थानीय तह तथा प्रदेश र संघको निर्वाचन भएको थियो । त्यसपछि हालै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश तथा संघको निर्वाचन हुन अब चार महिना जति बाँकी छ । यसबीच दलहरू प्रदेश तथा संघको निर्वाचनमा कसरी आफू अरूभन्दा अगाडि हुने भन्ने योजनाको तयारीमा लागेका छन् । आगामी निर्वाचनमा आफू बलियो हुन स्थानीय तहको निर्वाचनको समीक्षा पनि आवश्यक छ । यही कुरालाई बोध गरेर दलहरू समीक्षामा लागेका छन् । अरू दलले यस विषयमा खुला वा आन्तरिक रूपमा गोपनीयता कायम गरेर समीक्षा गरिरहेकै होलान् ।
नेकपा एमालेले भने आफ्नो सचिवालय बैठकमै यही कुरालाई चर्चामा ल्यायो । बैठकबाट स्थानीय तहको चुनावमा भएको अन्तर्घात छानविन गर्न कार्यदल समेत बनाएको छ । यसबाट एमालेमा पनि व्यापक रूपमा अन्तर्घात भएको रहेछ भन्ने थाहा हुन्छ । अरू प्रजातान्त्रिक दलहरूमा भन्दा कम्युनिष्ट पार्टीहरूमा अनुशासन मजबुत छ भन्ने बाहिरबाट हेर्नेहरूको बुझाइ छ । अनुशासन मजबुत भएको पार्टीमा अनुशासन उल्लंघन गर्नेलाई कडा सजाय हुन्छ तर यति हुँदाहुँदै कम्युनिष्ट पार्टीहरूमा यस प्रकारका अनुशासन उल्लंघनका कार्य हुने रहेछन् भन्ने थाहा हुन्छ । नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा भने यस प्रकारका कार्य पटकपटक दोहोरिँदै आएकै हुन् ।
अनुशासनको कारबाही गर्नुपर्ने तहमा बसेका नेताहरूले नै अनुशासन उल्लंघन गरेपछि कारबाही कसले गर्ने ? पार्टी अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई हराउन पार्टीका शीर्ष तहका नेताले नै आफ्ना पक्षका नेता कार्यकर्तालाई अन्य दलको चुनाव चिहृनमा मत हाल्न निर्देशन दिएको कुरा अनुशासन उल्लंघनको सबैभन्दा ठूलो उदाहरण हो । नेपाली कांग्रेसमा यस्ता कार्य पटकपटक दोहोरिने गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यस्ता व्यवहार प्रशस्त मात्रामा भए । एक हातमा नेपाली कांग्रेसको चारतारे झण्डा र अर्को हातमा चुनाव चिहृन रूखको झण्डा बोकेर हिँड्नेले नै भोट अर्को पार्टीलाई दिएका अनेकौं दृष्टान्त दिन सकिन्छ । तर, नेपाली कांग्रेस ‘मास पार्टी’ भएका कारण पटक-पटक आममाफी दिँदै आएको छ ।
तत्कालीन पार्टी अध्यक्ष कृष्णप्रसाद भट्टराईले प्रयोग र अभ्यास गर्नुभएको आममाफीको प्रचलन नेपाली कांग्रेसभित्र हालसम्म भइरहेकै छ । व्यापक मात्रामा अन्तर्घात भएर पनि नेपाली कांग्रेस यस पटकको स्थानीय निर्वाचनमा पहिलो पार्टी भएको छ । नेपाली कांग्रेसले निर्वाचनको समीक्षा पहिले नै गरिसकेको छ । नेकपा एमलेले भने हालैमात्र छानविनका लागि कार्यदल बननाएको हो । यस पार्टीका नेताहरूको भनाइनुसार सामान्य तहका कार्यकर्ताबाट मात्र होइन नेतृत्वमा रहेकै नेताहरूबाटै यस प्रकारको कार्य भएको छ । आपूmले भनेको व्यक्तिले टिकट नपाउनासाथ केही नेताहरू जसरी भए पनि आधिकारिक उम्मेदवारलाई हराउन लागिपरेको आक्षेप उनीहरूको छ । यो प्रवृत्ति वास्तवमा सबै पार्टीभित्र मौलाएको पाइन्छ ।
पार्टीभित्र यो पक्ष र त्यो पक्ष भन्नु नै पार्टीमा एकता नभएको भन्ने बुझिन्छ । एकता नहुनु नै अनुशासनको उल्लंघन हुनु हो । एकता र अनुशासन हुने हो भने एउटै पार्टीभित्र विभिन्न गुटउपगुट हुँदैनन् । पार्टीमा अनुशासन पालना नगर्ने वा उल्लंघन गर्नेलाई कारबाही गर्दा कार्यकर्ता घट्ने र पार्टी कमजोर हुने नगर्दा अनुशासनहीनताका कारण कमजोर हुने दोहोरो समस्या रहेको देखिएको छ । पहिले अनुशासनको कारबाही गर्ने र पछि उक्त कारबाही फुकुवा गर्ने धेरै राजनीति पार्टीको प्रवृत्ति देखिँदै आएको छ । नेकपा एमालेले हालै गठन गरेको समितिले यसरी नै सुरुमा कारबाहीका लागि केही व्यक्तिको नाम सिफारिश गर्ने र पार्टीले तिनलाई कारबाही गर्ने अनि अन्त्यमा त्यस्ता व्यक्तिको कारबाही फुकुवा गर्ने नै हो कि !
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका