रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो, ‘ब्रेक फेल’ हुँदा दुर्घटना

Read Time = 5 mins

काठमाडौं । रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको  हो ।

‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताउनु भयाे ।
दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिनुभएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिनुभयाे।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो ।

दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो ।

दुर्घटनास्थल दुई गाउँपालिकाको सीमामा पर्ने भए पनि सुनापाती–५ कै क्षेत्र लुभुघाटमा भएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो । हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ । गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताउनुभयो ।

उहाँका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ । दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो । त्यसपछि केही राम्रो सडक थियो । त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उहाँले बताउनुभयो ।

बस सडकबाट झन्डै ३०÷३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङ मन्थलीबाट पश्चिम ४ घन्टाको यात्रामा घटनास्थल पुगिने भन्दै अहिले आफ्नो टोली घटनास्थलतर्फ गइरहेको बताउनुभयो ।

स्थानीयवासी र प्रहरीले उद्धार कार्य सम्पन्न गरी शवको जाँच मुचुल्का उठाउने कार्यमा प्रहरी जुटेको सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

रामेछापको हिलेदेवीबाट छुटेको सो बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?