म्याग्दीका रणनीतिक महत्वका दुई सडक अलपत्र

Read Time = 6 mins
A A- A+

-ध्रुवसागर शर्मा
म्याग्दी । हिमाली जिल्ला म्याग्दीका रणनीतिक महत्वका दुई सडक योजनाहरु ठेकेदार कम्पनिको लापरवाही,ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका छन् ।

सडक स्तरोन्नतिको कार्य समयमै सम्पन्न नहुँदा सर्वसाधारणहरुले सास्ती भोग्नु परेको छ । अति भए पछि सर्वसाधारणले केही दिन अघि हिलाम्ये बनेको सडकमा धान रोपेर विरोध समेत जनाएका थिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र ख अन्तर्गत बेनी–लाम्पाटा–दरबाङ सडक स्तरोन्नती सहित कालोपत्रे गर्ने योजना र क्षेत्र क अन्र्तगत गलेश्वर–पिप्ले–भगवती हुँदै बेगखोला सडक स्तरोन्नति गर्ने योजना अलपत्र परेका हुन् ।

यी दुईवटै सडकको स्तरोन्नति, कालोपत्रे र मर्मतका लागि तीनवर्ष अघि नै काम थालिएको थियो । तर, अहिलेसम्म पनि सडकको अवस्था तीन वर्ष पहिलेको जस्तै भएको सर्वसाधारणको गुनासो रहेको छ ।

गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना छनोटमा परेका थिए । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा यी योजनाहरु अलपत्र परेका हुन् ।

यी दुवै सडक भौतिक पूर्वाधार कार्यालय म्याग्दी मार्फत कार्यान्वयन गरिएका सडक योजना हुन् । सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरु काम छाडेर सम्पर्क विहिन भएका छन् । पूर्वाधार विकास कार्यालयले पटक पटक ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् ।
वि.स. २०७६ मा भौतिक पूर्वाधार कार्यालय म्याग्दीले गलेश्वर देखि बेगखोलाको सडक निर्माण गर्न एपेक्स–खड्का कृष्ण जेभीसँग ७.८ किलोमिटर सडक स्तरोन्नती सहित कालोपत्रे गर्न १८ करोड ४१ लाख दश हजार रुपियाँ मा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ जेठ २४ गते सकिएको ठेक्काको म्याद कोरोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण सरकारको नीतिअनुसार २०७९ असार मसान्तसम्म म्याद थपिएको थियो ।

योजनामा अहिले सम्म ६९ प्रतिशत भौतिक प्रगती भएको जनाइएको छ । सडक स्तरोउन्नती गरी बेस र सव वेस राखेर कालोपत्रेका लागि तयारी गरिए पनि पछिल्लो समय निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माण ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले बताउनु भयो । निर्माण व्यवसायीलाई कार्यस्थलमा फर्किएर सडक निर्माण सुरु गर्न पटक पटक निर्देशन दिएपनि अटेरी गरेको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यस्तै जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत मंगला गाउँपालिका १ लाम्पाटा देखि दरबाङ सम्म ६.८ किलोमिटर सडक खण्ड स्तरोन्नती सहित कालोपत्रे गर्न कार्यालयले बिरुवा–क्याराभान जेभीसँग २०७६ जेठ २७ गते ठेक्का सम्झौता गरेको थियो । २२ करोड ५७ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको योजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख अधिकारीले फोन र पत्रमार्फत निर्माण व्यवसायीलाई ताकेता गरिए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको बताउनु भयो ।

‘निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ’, उहाँले भन्नुभयो ‘मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।’ विसं २०७८ चैत महिनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत व्यवसायीले प्रक्रिया अघि बढाएका नबढाएको उहाँले बताउनु भयो । यो सडकमा हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।
अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको मंगला गाउँपालिका २ रणवाङका श्रीराम पौडेलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?