रियलमा रोड्रिगोको सम्झौता नवीकरण

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नवीकरण गर्नुभएको छ । ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात् सन् २०२८ सम्म सम्झौता नवीकरण गर्नुभएको हो । सन् २०१९ मा रियलमा आबद्ध हुनुभएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहनुभएको छ । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियल रोड्रिगोलाई दीर्घकालीनरूपमै क्लबमा राख्न सहमत भएको हो ।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उहाँले महत्वपूर्ण भूमिका निभाउँदा गोल पनि गर्नुभएको थियो । उहाँले सेमिफाइनलमा चेल्सीविरुद्ध महत्वपूर्ण गोल गर्नुभएको थियो । रियलले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलब वृद्धिसँगै एक विलियन युरो रिलिज क्लज राखिएको छ ।

रियलले रोड्रिगोलाई ब्राजिली क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । रियलबाट रोड्रिगोले तीन सिजनमा १०८ खेल खेल्दा १८ गोल गर्नुभएको छ । उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउनुभएका रोड्रिगो २०१९ देखि ब्राजिलको टोलीमा हुनुहुन्छ । उहाँले ब्राजिलबाट पाँच क्याप जित्दा एक गोलसमेत गर्नुभएको छ ।

यस्तै प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अर्काे प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ । सिटीले मिडफिल्डर फिलिप्सलाई ४५ मिलियन पाउन्डमा ६ वर्षका लागि अनुबन्ध गरेको हो । अब २६ वर्षीय फिलिप्स सन् २०२८ सम्म इतिहाद स्टेडियममा रहनुहुनेछ । एलान्ड रोडमा आठ सिजनमा २३५ खेल खेल्नुभएका फिलिप्सको लिड्ससँग अझै दुई वर्ष सम्झौता बाँकी रहे पनि उहाँले सिटी रोज्नुभएको हो ।

फिलिप्सले सेप्टेम्बर २०२० मा इंग्ल्यान्डका लागि डेब्यु गर्नुभएको थियो । एक वर्ष ढिला गरी भएको युरो २०२० का सबै खेल खेल्नुभएका उहाँ इंग्ल्यान्डको वर्ष पुरुष खेलाडी घोषित हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?