चेल्सीका क्रिस्टेन्सेन बार्सिलोनामा

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । चेल्सीका डेनिस डिफेन्डर एन्ड्रिएस क्रिस्टेन्सेन क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित हुनुभएको छ । २६ वर्षीय सेन्टर ब्याकलाई बार्सिलोनाले चार वर्षका लागि अनुबन्ध गरेको हो । उहाँ सन् २०२६ सम्म नोउक्याम्पमा रहनुहुनेछ ।

बार्सिलोनाले क्रिस्टेन्सेनको रिलिज क्लज ५०० मिलियन युरो राखेको छ । बार्सिलोनाले बिहीबार उहाँलाई क्लबमा सार्वजनिक गर्ने जनाएको छ । डेनमार्कका लागि ५६ क्याप जित्नुभएका क्रिस्टेन्सेनले लोनमा दुई सिजन २०१५-१७ मा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकबाट खेल्नुभएको थियो ।

त्यसपछि उहाँँ चेल्सीमा फर्किनुभएको हो । उहाँले सन् २०१४ देखि चेल्सीमा रहँदै १६१ खेलमा २ गोल गर्नुभएको छ । अब बार्सिलोनामा रोनाल्ड एराउजो र एरिक गार्सिया उहाँका सहयात्री बन्नुहुनेछ ।

यस्तै बार्सिलोनाले आइभोरी कोस्टका मिडफिल्डर फ्रान्क केस्सीलाई पनि क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले मिडफिल्डर केस्सीलाई फ्री ट्रान्सफरमा इटालियन च्याम्पियन एसी मिलानबाट अनुबन्धित गरेको हो । क्लबले २५ वर्षीय मिडफिल्डरलाई सोमबार चार वर्षका लागि अनुबन्ध गरेको पुष्टि गर्दै बुधबार आधिकारिकरूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । उहाँको रिलिज क्लज ५०० मिलियन युरो राखिएको छ ।

केस्सी सन् २०१७ देखि एसी मिलानमा रहनुभएको थियो । गत सिजन मिलानले १० वर्षपछि सिरी ‘ए’ को उपाधि जित्दा उहाँ टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।

सिरी ‘बी’ क्लब सिसेनाबाट व्यावसायिक खेल करिअर सुरु गर्नुभएका केस्सी २०१६-१७ को सिजनमा एटलान्टामा अनुबन्धित हुनुभएको थियो । त्यसपछि दुई सिजन लोनमा मिलानमा बिताएपछि उहाँ मिलानकै स्थायी खेलाडी बन्नुभएको थियो । केस्सीले मिलानका लागि पाँच सिजनमा २२४ खेलमा ३९ गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?