इलामका पालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

Read Time = 4 mins

प्रकाश नेपाल/हिटा
इलाम । इलामको माङ्सेबुङसहित माइजोगमाई र चुलाचुली गाउँपालिकाले विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेका छन् । माङ्सेबुङ र माइजोगमाई गाउँपालिकाले आइतबारदेखि र चुलाचुली गाउँपालिकाले सोमबारदेखि इएफटी सेवा सुरु गरेका हुन् । महालेखा नियन्त्रक कार्यालयले आगामी आर्थिक वर्षबाट सबै स्थानीय तहलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरेको तीन पालिकाले चालु आर्थिक वर्षदेखि नै विद्युतीय भुक्तानी सुरु गरेका छन् ।

‘क्यास लेस’ अवधारणाअन्तर्गत स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत् भुक्तानी प्रणालीको सुरुवात गरिएको चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलन भट्टराईले जानकारी दिनुभयो । अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै सम्बन्धित सेवाग्राहीको बैंक खातामा जम्मा हुने लेखा अधिकृत भट्टराईले बताउनुभयो । त्यसका लागि सम्बन्धित सेवाग्राहीको चेकको फोटोकपि भने अनिवार्य गरिएको छ । उहाँले भन्नुभयो, ‘हामीले परीक्षणका रूपमा अनलाइन भुक्तानी सेवा सुचारु गरेका हौं, अब कोही सेवाग्राही पनि चेकको पर्खाइमा लाइनमा बसिरहनुपर्दैन । सिधै उहाँहरूको खातामा रकम जम्मा हुनेछ ।’

उता माइजोगमाई गाउँपालिकाले पनि अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले बताउनुभयो ।
यता विद्युतीय भुक्तानी सुरु भएसँगै अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्यासमेत अन्त्य भएको माङ्सेबुङ गाउँपालिकाकी लेखा अधिकृत मञ्जु भट्टराईले बताउनुभयो ।

सूत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखाशाखाका कर्मचारीलाई तालिमसमेत दिएको थियो । सूत्र प्रणालीले स्थानीय तहमा पारदर्शिता कायम गर्न सहयोग गर्ने, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटोछरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरी थोरै जनशक्तिबाट प्रभावकारी काम गर्न सकिनेछ ।

छिटोछरितो, भरपर्दो र विश्वसनीय लेखांकन र प्रतिवेदनका लागि सूत्र प्रणाली प्रभावकारी देखिएको छ । सूत्र प्रणालीले स्थानीय तहमा पारदर्शिता कायम गर्न सहयोग गर्ने, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटोछरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरी कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?