मलेसियन कम्पनीले शून्य लागतमा कामदार लैजाने

Read Time = 2 mins

काठमाडौं । मलेसियास्थित विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच मलेसियाको विस्ट्रोन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनलबीच द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौतापत्रमा विस्ट्रोन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुषका अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत् नेपाली कामदार मलेसिया जान पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा चार सय ५० जना कामदार लैजाने भएको छ । आकर्षणबाट एक सय ४० महिला र ६० पुरुष तथा लालधनुषबाट एक सय ७५ महिला र ७५ पुरुष लैजाने कम्पनीले जनाएको छ । कामदारका लागि उक्त कम्पनीको उच्च व्यवस्थापक टोली हाल काठमाडौंमा रहेको छ ।

कम्पनीका अनुसार चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा उद्योग रहेका छन् भने विभिन्न देशमा गरी करिब ८० हजार कामदार रहेका छन् । नेपाली कामदारले न्यूनतम एक हजार पाँच सय मलेसियन रिंगेट तलब पाउनेछन् भने भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?