वेदपरिचय-३ : ब्राहृमण, आरण्यक र उपनिषत्

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

पाठकवृन्द ! मैले विगत सप्ताहहरूमा वेद, वेद र विज्ञान, अग्नि, इन्द्र, ब्रहृमा, जल, पञ्चमहाभूतका सम्बन्धमा साह्रै संक्षिप्त रूपमा यहाँहरूसँग केही कुरा गरेको थिएँ । गएको बुधबार मैले सामवेद र अथर्ववेदका सम्बन्धमा कुरा गरेँ । आज ऋग्यजुसामपछि अथर्व वेदको पालो आउँछ तर अथर्व वेद र ब्राहृमणको रचना समान समान समयमा या वेदप्रणयन भएको केही समयपछि ब्राहृमणको प्रणयन भएको हो भनेर मान्ने पनि विद्वान् रहेका छन् । आजसम्मको खोज अध्ययन अनुसार वेदपछि ब्राहृमण ग्रन्थको रचना भएको हो भन्ने नै मत गम्भीर भएर रहेको भेटिन्छ । ब्राहृमण ग्रन्थको रचना यज्ञविधि र कर्मकाण्डको व्याख्या त्यसको विशेषतामाथि प्रकाश पार्ने उद्देश्य राखेर गरेको देखिन्छ ।

वेदलाई तीन काण्डमा विभाजन गरिन्छ (क) कर्मकाण्ड (ख) उपासनाकाण्ड (ग) ज्ञानकाण्ड । वेदका काण्डलाई भागका अर्थमा बुझ्न सकिन्छ । ऋग्वेददेखि अथर्व वेदसम्मका सबैका विषय यसै प्रकारका विषयमा विभक्त रहेका देखिन्छन् । ब्राहृमण ग्रन्थहरू सबै गद्यमा रचित छन् ।

वैदिक कालको गद्यको नमुना हेर्नुपरे ब्राहृमण ग्रन्थ पढ्नुपर्ने हुन्छ । वैदिककालीन कर्मकाण्ड, त्यसबेलाको समाज, संस्कृति, धारणा, रहनसहनलगायत त्यसबेलाका समाजको सकल चित्र निरीक्षण गर्ने हो भने पनि ब्राहृमण ग्रन्थ अति उपयोगी हुने देखिन्छन् । सबै वेदका ब्राहृमण बराबरी छैनन् । वेदविद्मध्ये कतिपयले त ब्राहृमण ग्रन्थलाई वेदका प्राचीनतम भाष्य हुन् भनेर पनि बताएका छन् ।

ऋग्वेदका ब्राहृमण ग्रन्थ दुईवटा छन् (क) कौषीततकी र (ख) ऐतरेय । दुवैमा समान समान विषयको प्रतिपादन भएको देखिन्छ । दुवैका कतिपय स्थानमा त एकै विषयको आलोचना देख्न सकिन्छ । वैषयिक दृष्टिले एकै देखिए पनि अर्थका दृष्टिले चाहिँ दुवैमा बेग्लाबेग्लै अर्थ निकालिएको भेटिन्छ । ऐतिहासिक कुरा या विषय बुझ्न ऐतरेय ब्राहृमण अध्ययन गर्नुपर्ने देखिन्छ । यसमा अत्यधिक भौगोलिक विषयको पनि वर्णन पाइन्छ । एक प्रकारले भूगोल पढेजस्तो पनि पो देखिन्छ । यजुर्वेद दुई प्रकारका छन् । शुक्ल र कृष्ण । तैत्तिरीय नाम भएको ब्राहृमण ग्रन्थ कृष्ण यजुर्वेदसँग सम्बद्ध ब्राहृमण हो । शुक्लयजुर्वेदलाई वाजसनेयी भनिन्छ ।

दुवैमा मन्त्र पनि समान समानान्तर रहेका छन् । कृष्णयजुर्वेदका मन्त्रमा क्रिया प्रणालीको पनि वर्णन भेटिन्छ । त्यसमा पनि गद्य शैलीमा विशद व्यख्याका साथ ती मन्त्रको उद्देश्यमाथि प्रकाश पारेको देखिन्छ भने ती मन्त्रको प्रयोग क्षेत्र र व्यवहारको पाटाको पनि व्याख्या विवेचना गरिएको पनि भेटिँदोरहेछ । यसरी हेर्दा यसका (कृष्ण) यजुर्वेदका मैत्रायणी र काठक ब्राहृमण ग्रन्थ ब्राहृमणका अंश मानिन्छन् । तैत्तरीय ब्राहृमण चाहिँ पृथक ब्राहृमण ग्रन्थ हो ।

शुक्लयजुर्वेदका शतपथ ब्राहृमण प्रसिद्ध छँदैछ । यो ब्राहृमण ग्रन्थ सबैभन्दा बढी आदरणीय र प्रसिद्धि प्राप्त ग्रन्थका रूपमा समेत स्थापित रहेको देखिन्छ । कतिपय विद्वान् त यसलाई ब्राहृमण ग्रन्थमध्येकै सबैभन्दा प्राचीन हो भनेर पनि भन्छन् । यो एक सय अध्यायमा फिँजिएको छ । वैदिक कालीन धार्मिक समाजको उज्वल चित्र यस ग्रन्थमा देख्न (पढाइका माध्यमले) पाइन्छ ।

सामवेदीय ब्राहृमण ग्रन्थमा ताण्डव र सामविधान नामका दुईवटा ब्राहृमण ग्रन्थको विशेष चर्चा रहेको भेटिन्छ । ताण्डवमा २५ अध्याय छन् । यसै कारणले यसलाई पञ्चविंश ब्राहृमण पनि भनिन्छ । सामविधानमा अधिकार नभएका र अशक्त समुदायको शुद्धिका निमित्त कृच्छादि गरिएका प्रायश्चित्त र अग्न्याधान एवं अग्निहोत्रादिको संग्रह गरिएको देखिन्छ । यसैमध्ये षड्विंश ब्राहृमण नाम भएको एउटा अर्को ब्राहृमण ग्रन्थ पनि भेटिन्छ । यसमा पनि पञ्चविंश ब्राहृमणबाट भिन्न कुनै पनि विषय भेटिँदैन । यसमा केवल एउटा अध्याय थपेर अद्भूत ब्राहृमण भन्ने नाम दिएर २६औं अध्याय बनाइएको देखिन्छ ।

यसलाई शकुन बताउने वेदांग ग्रन्थ पनि भनिएको भेटिन्छ । वास्तवमा सबैभन्दा पुरानो सामवेदीय ब्राहृमण ग्रन्थ भनेको जैमिनीय ब्राहृमण नै हो । यसमा धार्मिक र पौराणिक आख्यानहरूका सम्बन्धमा व्यापक विवरण त्यहाँ भेटिन्छ । सामवेदकै कौक्षमशाखीय ब्राहृमण चाहिँ ४० अध्यायको रहेको छ । वस्तुतः यसैका भिन्न भिन्न अंश नै पञ्चविंश, षड्विंश र मन्त्र एवं छान्दोग्य ब्राहृमणका नामबाट प्रसिद्ध रहेको पनि भेटिन्छ । सामवेदकै आर्षेय ब्राहृमण, वंशब्राहृमण, संहितोपनिषद् ब्राहृमण जस्ता ब्राहृमण पनि रहेको सूचना भेटिन्छ ।

अथर्ववेदको एकमात्र ब्राहृमण ग्रन्थ गोपथनामको रहेको देखिन्छ । यो ग्रन्थ अत्यन्तै प्रसिद्ध पनि रहेको देखिन्छ । यसलाई पूर्वाद्र्ध र उत्तराद्र्ध भनेर दुई खण्डमा विभाजन गरिएको छ । यसको पूर्वाद्र्धमा अनेकौं प्रकारका सानाठूला आख्यानलगायत अनेकौं अन्यान्य विषयको विचारविमर्श भएको भेटिन्छ । विचार गर्दा यो वेदांग तहको ब्राहृमण ग्रन्थजस्तो देखिन्छ । यसको वैषयिक उपस्थापना, विवेचना शैली आदिका दृष्टिले परवर्ती रचना हो कि भन्ने आशंका पनि विद्वानहरूमा रहेको भेटिन्छ । चारै वेदसँग सम्बद्ध वैदिक साहित्यसम्बन्धी ग्रन्थलाई तीन विभागमा विभाजन गर्न सकिन्छ-१, ब्राहृमण ग्रन्थ २, आरण्यक, ३, उपनिषत् । प्रकरणगत् रूपमा अब आरण्यक र उपनिषत्का सम्बन्धमा कुरा गर्न सकिन्छ ।

आरण्यक अरण्य भनेको वन या जंगल हो । सांसारिक विषयलाई परित्याग गरेर, कर्मबन्धनबाट पनि छुटकाराको भाव मनमा बोकेर पहिलेका चिन्तक (ऋषि) निर्जन अरण्य प्रान्तमा बसेर ब्रहृमविद्या ध्ययन गर्न लागे र त्यसैमा गम्भीर भावका साथ परमात्माको चिन्तन र विचारविमर्शमा लाग्दा अनेकौं प्रकारका गुरुगम्भीर विचार जो लोककल्याणकारी अनुभूत हुन लागे तिनैको संकलन समग्रको नाम हो आरण्यक । सारा कुरा त्यागेर एकान्त निर्जनसेवी क्रान्तदर्शी ऋषिले नै वेदसम्बन्धी अनेकांै सूक्ष्म विचारका साथ पढ्थे । वेदको भाष्यकार सायण भन्छन्-ब्राहृमण, आरण्यक र उपनिषत् आर्य जीवनका तीन आश्रम गार्हस्थ्य, वानप्रस्थ र सन्यासाश्रमका प्रतीक हुन् ।

अत्यधिक मात्रामा आरण्यक र उपनिषत् मिल्दोजुल्दो विषयका रहेका भेटिन्छन् । ऋग्वेदका दुईवटा ऐत्तरेय र कौषीतकी नामका आरण्यक रहेका भेटिन्छन् । अचेल ऐत्तरेय आरण्यकका पाँचवटा ग्रन्थ उपलब्ध छन् । यी सबैको नाम आरण्यक नै रहेको भेटिन्छ तापनि दोस्रो र तेस्रो त स्वतन्त्र उपनिषत् मानिन्छन् । यसैको दोस्राको शेष अन्तिम भागका चार परिच्छेदलाई वेदान्तांग मानिन्छ । यसो भएको हुनाले नै यिनलाई ऐत्तरेय उपनिषत् भनेर नै चिनिन्छ र चिनाइन्छ पनि । यस्तै कौषीतकी आरण्यकका तीन खण्ड छन्-पहिलो र दोस्रा खण्डमा कर्मकाण्डका कुरामात्रै छन् भने तेस्रा खण्डलाई चाहिँ कौषीतकी उपनिषद् भनिन्छ ।

यो चाहिँ सारभूत कुरा भएको अत्यन्त उपयोगी ग्रन्थ हो भन्ने मानिन्छ । यसमा भौगोलिक कुराअन्तर्गत हिमाल, विन्ध्यादि पर्वत तथा साना-ठूला डाँडाकाँडाका सम्बन्धमा वर्णन भएको पाइन्छ । ऋग्वेदसँग सम्बद्ध उपनिषत् पनि ऐत्तरेय, कौषीतकी, वाष्कल र मैत्रायणीसमेत गरी चारवटा रहेका पाइन्छन् । तैत्तिरीय ब्राहृमणको बाँकी अंशलाई नै तैत्तिरीय आरण्यक भनिन्छ । यसको सातौं अध्याय नवौं प्रकरणमा ब्रहृमविद्यासम्बन्धी चर्चा भएका कारणले यसलाई उपनिषत् मानिन्छ । दशौं प्रकरणलाई याज्ञिकी अथवा नारायणी उपनिषत् मानिन्छ ।
यसमा मूर्तिमान ब्रहृमत्वको वर्णन छ भन्ने मानिन्छ । यसका ठाउँ-ठाउँमा भिन्नाभिन्नै पाठ पाइन्छन् । तैत्तिरीय आरण्यकमा अनेकौं विषय चमत्कारपूर्ण किसिमले समावेश गरिएको देखिन्छ । श्रुति, स्मृति, इतिहास, पुराण तथा ब्रहृमविद्याका कतिपय तत्व यसमा आएका पाइन्छन् । शतपथ ब्राहृमणको चौधौं काण्ड आरण्यक नामबाट प्रसिद्ध छ । यसमा संहिताको ३१ देखि ३९ अध्यायसम्मका सबै कथा उद्धृत गरिएका छन् र यसै स्थानमा विष्णु (सूर्य) सबै देवतामा श्रेष्ठ छन् भनेर बताइएको छ ।

यसका बाँकी छ अध्याय बृहदारण्यक उपनिषत्का नामबाट प्रसिद्ध छ । यसमा युद्ध, प्रेम आदि विषयक कथा संक्षिप्त रूपमा दिइएको छ । यसमा विचित्रता के पनि छ भने उग्रसेन, कुरु, पाञ्चाल आदि नाम आएका छन् जो निकैपछि पुराणकालका पात्रवंशहरू मानिन्छन् । बृहदारण्यक शुक्लयजुर्वेदको उपनिषत् हो भने कठ, तैत्तिरीय, श्वेताश्वेत, मैत्रायणी र कैवल्य कृष्णयजुर्वेदीय उपनिषद् हुन् । शतपथ ब्राहृमणमा वर्णित भौगोलिक सामग्रीका सहायताबाट कुरु पाञ्चाल आर्य संस्कृतिको केन्द्र बनेको थियो भन्न सकिन्छ । सामवेदको आरण्यक सामसंहिताअन्तर्गत नै रहेको छ । यो वेदी ब्राहृमणले छन्दमय मन्त्रको गान गर्ने गरेको भेटिन्छ ।

यसै कारणले यस आरण्यक ग्रन्थको नाम छान्दोग्यआरण्यक राखिएको भेटिन्छ । यो आरण्यक ग्रन्थ ६ प्रपाठमा विभाजन गरिएको देखिन्छ । सामवेदीय उपनिषद्हरूमा छान्दोग्य उपनिषद् र केनोपनिषत् प्रसिद्ध मानिन्छन् । अथर्ववेदको कुनै आरण्यक ग्रन्थ छैन तर पनि अनेकौं सङ्ख्यामा उपनिषद् ग्रन्थ चाहिँ रहेका छन् । जसमा मुख्य हुन्–मुण्डक, माण्डूक्य, प्रश्न र नृसिंहतापिनी । बादरायणले आफ्नो वेदान्तसूत्रमा यिनै चार उपनिषत्को प्रमाण पटकपटक दिएको भेटिन्छ । मुक्तिकोपनिष्त्मा अथर्ववेदसँग सम्बद्ध ९३ वटा उपनिषत्को नाम दिइएको भेटिन्छ ।

वेद भन्नाले संहिता (मन्त्र) ब्राहृमण (प्राचीन कालको वेदको भाष्य र वैदिक यज्ञानुष्ठनसम्बन्धी वर्णन विवर्णन भएको ग्रन्थ) आरण्यक–वनमा बसेर गरेको तत्व चिन्तनबाट प्राप्त महत्वपूर्ण ज्ञानको संकलन र उपनिषत् ब्रहृमविद्याका अन्तिम झर्झराउँदा फिलुंगा । यी सबैको समष्टि नै वेद हो । वेद भन्नाले मन्त्रको संगालो भएको (संहिता) वैदिक यज्ञअनुष्ठान र ब्रहृमविद्याको पठन तथा व्याख्यान विधिलाई (ब्राहृमण) भनिन्छ । वेदका महत्वपूर्ण तत्वचिन्तन गरिएका ग्रन्थलाई (आरण्यक) भनिन्छ । जीवनजगत्, कर्तव्याकर्तव्य चिन्तनका साथै मुक्ति कैवल्य प्राप्तिका मार्गको वर्णन या चिन्तन भएका अनेकानेक सानाठूला ग्रन्थलाई उपनिषत् या वेदान्त भनिन्छ ।

यिनै चार कुराको समग्र स्वरूप जे हो त्यो नै वेद हो । चारैवेदमा १ लाख मन्त्र छन् । ८० हजार मन्त्र कर्मकाण्डसँग सम्बद्ध छन् भने १६ हजार मन्त्रले उपासनाको व्याख्या गर्दछन् र बाँकी ४ हजार मन्त्रले ज्ञानको कुरो सिकाउँछन् । उपासना र ज्ञानको आधार भनेको कर्म हो भनेर वेदले हामीलाई कर्मशील बन्न अभिप्रेरित गरेको मानिन्छ । हरिः ॐ तत्सत् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?