✍️ मेघनाथ दाहाल
समाज, राजनीति र विकास एक अर्काका परिपूरक हुन् भन्ने कुरामा अगाडिका केही लेखहरूमा थोरै खोतल्ने कोसिस गरिएको थियो । कसरी समाजको सकारात्मक तथा नकारात्मक परिवर्तनमा राजनीतिको भूमिका हुनेगर्छ । तथा कुनै समाजको बहुपक्षीय सर्वांगीण विकासको काममा उक्त मुलुकको विद्यमान राजनीतिले कसरी प्रत्यक्ष भूमिका खेल्छ भन्ने बारेको चर्चा परिचर्चा गरिएको छ । समाज निर्माण तथा यसको अनन्त समयको ज्ञान, सीप, दक्षता तथा विविध संस्थाको विश्वास तथा तिनमा भएको उत्पादनशीलताले कुनै समाज तथा मुलुकको भरणपोषण गरेको हुन्छ ।
यो तीतो यथार्थ हामी जस्तो कमजोर उत्पादन क्षमता भएको तथा राजनीति र नीतिहरूभन्दा व्यक्तिको सनक र मुढे बलमा चलेका मुलुकका साथमा युरोप, अमेरिका तथा एशियाका कतिपय आज विकासित भनिने मुलुकको हकमा लागू हुने सत्य तथ्य हो । आजका विश्वभरका मानिसहरूको जनसंख्या तथा उनीहरूको जीवनस्तरलाई राम्रो गरी नियाल्ने हो भने के पाइन्छ भने गुणस्तरीय जीवन यापनमा सफल भएकाहरूको संख्या त जम्माजम्मी एक तिहाइमात्र हो । गरिबी तथा यसको बहुपक्षीय आयामलाई नकेलाई कुनै मुलुकको समग्र सामाजिक तथा सांस्कृतिक स्थितिमाथि टीकाटिप्पणी गर्नु भूल हुन जान्छ ।
व्यक्ति तथा समाजको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै आजको दिनमा उसले व्यतीत गरेको समाजिक अवस्थामा वस्तु तथा सेवाहरूमा गर्न सक्ने छनौट हो । यसमा मुख्यतः उसको आर्थिक ल्याकत र बजार संरचनाले साथ दिएको हुन्छ । विकास तथा समृद्धिलाई हेर्ने दृष्टिकोण पनि समय समयमा परिवर्तनशील मात्र नभएर समयसापेक्ष पनि बनाइँदै गएको पाइन्छ । सन् १९६० को दशकमा मुलुकको राष्ट्रिय आम्दानीलाई मुख्य सूचकांकको रूपमा लिइन्थ्यो भने आजभोलि मानव विकास सूचाकांकलाई लिइने गरिन्छ ।
व्यक्तिको सर्वांगीण विकास तथा उन्नतिमा आर्थिक तथा गैरआर्थिक दुवै पक्षहरूको अत्यन्त महत्वपूर्ण भूमिका हुने कुरामा आजको समाजले आत्मसात गरेकै कारण विकासका लागि दुवै पक्षहरूको उन्नति आवश्यक ठानिएको हो । दोस्रो विश्वयुद्धपछि विश्वमा देखापरेको प्रजातान्त्रिक व्यवस्थाप्रतिको मोह र प्रचारप्रसारको कारण अमेरिकी शासन प्रणालीमा सबैको ध्यान पुगेको हो तर हाम्रो शासन पद्धति न त अमेरिकी न त पूर्णतः बेलायती मोडलको छ । यतिमात्र नभएर मानिसहरूमा एकाएक विकास भएको व्यक्तिवादिता र स्वतन्त्रताका कारण नै आजको विश्व भौगोलिक तथा समयको हिसाबमा अत्यन्त सानो मुलुकजस्तो भएको छ ।
यद्यपि विविधता तथा अनेकतामा हेर्ने हो भने पुगनपुग आठ अरब मानिसहरू र तिनका सोच, व्यवहार तथा क्रियाकलापमा कसैको कुरा नमिल्दो हुँदै गएको छ । हाम्रो भौगोलिक अवस्थिति तथा प्रमुख राजनीतिक परिवर्तनमा दिल्लीको प्रत्येक्ष सरोकार तथा निगरानी रहेकाले हाम्रो सामाजिक सांस्कृतिक परिवर्तनसहित राजनीतिक प्रायशः गतिविधिमा भारतीय प्रभाव हिजोदेखि आजको दिनमा प्रत्यक्ष रूपमै रहिआएको पाइन्छ । राणाहरूको समयमा बेलायती प्रभाव भारतीय भूमिबाट नेपालसम्म परेको तथ्य हामीसँग यथेष्ठ छँदैछन् । बेलायतीहरूको प्रभाव भारतीय कर्मचारी संयन्त्रमा परेको थियो ।
उक्त समयपश्चात सात, सत्र, छयालीस तथा त्रिसठ्ठी सालको राजनीतिक परिवर्तन तथा व्यवस्थापनमा भारतीय प्रभावको बारेमा राजनीतिमा थोरै सचेत कोही बेखबर छैन । हुन त भारतीयहरूको बेलायतीहरूबाट स्वतन्त्रता पाउन गरिएका आन्दोलनमा नेपालीहरूको सहभागिताबाट सुरु भएको राजनीतिक प्रभावले नै आजका दिनसम्म नेपालमा काम गरिरहेको छ । भारतीय व्यवस्थामा बेलायती प्रभाव रहेको जस्तै नेपालमा पनि भारतीय प्रभावले प्रत्येक राजनीतिक गतिविधि तथा चलखेलमा काम गरिरहेकै छ । यो तीतो सत्यलाई हामीले पचाउनुपर्ने हुन्छ ।
तर, आन्तरिक राजनीति तथा कूटनीतिको सवालमा एक स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न मुलुकका लागि वा जनताहरूप्रति नेतृत्वको सही र अडानसहितको स्थिरता नितान्त आवश्यक पक्ष हो । यहाँ के बुझ्नु आवश्यक छ भने नेपाल र नेपालीको हरेक दुःखसुखको साथी भारतीय र भारत नै रहिआएको सदीयौंदेखि नै हो । यो सम्बन्धको परिधि राजनीतिक, भौगोलिक तथा कूटनीतिकमात्र नभएर नेपाल र भारतबीचको खुला सिमाना तथा रोटीबेटीको सम्बन्धले अझ प्रष्ट्याउँदछ ।
प्रत्येक समाजको विकासमा त्यहाँ विद्यमान राजनीति तथा यसका सञ्चालकको सोच, गतिविधि तौरतरिका तथा विधि व्यवहारले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आजको समाज खासगरी तेस्रोविश्व भनेर चिनिने नेपाललगायत मुलुकहरूमा पश्चिमा प्रभाव रहनुलाई किन अस्वभाविक मानिँदैन भने हाम्रो हरेक दुःख सुखमा साथ दिएकाको सहयोग तथा रचनात्मक र निमार्णात्मक सहयोगको रूपमा लिइनुपरेको हुन्छ ।
हाम्रो पूर्वाधारको अवस्था, लगानीको दर, उपलब्ध जनशक्ति तथा तिनको क्षमता, प्रविधिको उपलब्धता, पुँजीगत उपलब्धता तथा व्यवस्थापकीय पक्षजस्ता यावत् पक्षले हामीलाई सताइरहेको छ । यी समस्याका कारण हामीले आर्थिक क्षेत्रमा आशातीत सफलता तथा काम गर्न सकिरहेका छैनौं जसको परिणाम रोजगार सिर्जना तथा उत्पादकत्वको कमीको यावत् उपभोग्य तथा पुँजीगत वस्तु तथा सेवाको आयातमा हामी अरूमा निर्भर रहनुपरेको कारण व्यापार घाटा तथा हाम्रो अर्थतन्त्रको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ ।
हामीले पुनःस्थापना गरेको प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रले किन बहुसंख्यक नेपालीहरूलाई सम्बोधन गर्न सकिरहेको छैन भन्ने कुरामा हाम्रो विद्यमान राजनीति तथा तिनका सञ्चालक तथा तिनका नीतिगत त्रुटिहरू पनि जिम्मेवार भएका हुन् यदि भने समय सापेक्ष परवर्तन गर्न सक्नुपर्ने हुन्छ वा सत्ता राजनीतिबाट अलग्गै बसेर रचनात्मक सहयोगको बाटोमा लाग्नुपर्ने हुन्छ ।
हामीले अंगीकार गरेको मिश्रित अर्थ व्यवस्थाअन्तर्गतको खुला बजार नीति र संविधानतः व्यवस्था गरिएको समाजवादउन्मुख मुलुक एकअर्कामा मेल खाने विषयवस्तु हुन् त ? मुलुक तथा समाजको परिवर्तन अंगीकार गरिएका हरेक नीति तथा कार्यक्रमको आफ्नै विशेष महत्व रहने गरेको हुन्छ । मुलुकमा तीन करोड जनसंख्या पुगनपुग भएको नजिकैको जनगणनाको परिणामले देखाएको छ । तर, तीमध्ये एक चौथाइ आज पनि गाँस, बास, कपास, आधारभूत शिक्षा र सुरक्षा, स्वास्थ्य जस्ता पक्षबाट वञ्चित रहेको सरकारी तथ्यांकले नै देखाउँछ ।
हामी प्रजातन्त्रिक व्यवस्थाको उच्चतम स्वरूप संघीयता र पहिचानसहितको गणतन्त्रात्मक व्यवस्थामा सबै मूलधारका राजनीतिक शक्तिहरूको समझदारिमै गएका हौं । विगत तीस वर्षीय हाम्रो यात्रामा सामाजिक तथा सांस्कृतिक रूपमा हामीले संरचनात्मक परिवर्तन किन गर्न सकेनौं वा यसको सुरुवात भएको छ तर दर, गति अत्यन्तमा मात्र रहेको हो भन्ने कुरामा सर्वसाधारण किन गुमराहमा परिरहेका छन् भन्न खोजिएको हो । यस पक्षलाई राजनीतिक नेतृत्व किन आममानिस माझ आफूबाट भएका गल्ती कमजोरी खुलस्त पार्न सक्दैन वा चाहँदैन । यदि नेपालले अंगीकार गरेको अर्थनीति नै असान्दर्भिक भएको हो भने निर्वाचित संसद भएको समयमा परिवर्तन गर्न सक्नु पर्यो वा हाम्रो सामाजिक, सांस्कृतिक वा भूराजनीतिक स्वरूपको कारण नै हाम्रो विकास तथा समृद्धिको यात्रा यसरी नै मात्र अघि बढ्ने हो भन्ने कुरामा खुलस्त हुन सक्नुपर्ने होइन र ?
सुशासनको स्थिति दिनप्रतिदिन सुध्रिनुको साटो किन बिग्रँदो स्थितिबाट अघि बढिरहेको छ । सार्वजनिक संस्थाहरू भ्रष्टाचारका परिचायक भएका छन् । सर्वसाधारणले अतिरिक्त शुल्क नबुझाई कुनै सरकारी कामकाबारही सजिलै गर्न सकिने कुराको कल्पना गर्न सकिँदैन ।
मुलुकभित्र मात्र नभएर हाम्रो कूटनीति तथा परराष्ट्रसँगको सम्बन्ध हालका दिनमा न त व्यवस्थित हुनसकेको छ न त सुमधुर नै । मुलुकको भूधरातलीय अवस्थितिका कारण भारतीय तथा चिनियाँसँगको हाम्रो सम्बन्धमा कायम राख्नुपर्ने टथस्तता जस्तो विषयमा दलीय मूल्य मान्यता हावी हुन जाँदा मुलुक कहिलेकाहीँ अफ्ठ्यारो स्थितिबाट गुज्रन बाध्य भएको छ ।
पछिल्लो समय मुलुकको आन्तरिक राजनीतिमा चिनियाँहरूको चलखेल बढेको छ तर नेपाल भित्रिने चिनियाँ नाकाहरूमा अघोषित रूपमा विगत लामो समयदेखि चिनियाँले लगाएको नाकाबन्दीप्रति न त हाम्रो सिंहदरबारमा बस्ने वा बस्नसक्ने हैसियत भएका राजनीतिक नेतृत्व न त चिनियाँले नै कुनै चासो व्यक्त गरेको सुनिएको छ । यस किसिमका गतिविधि केवल राजनीतिक अर्थमा मात्र नभएर हाम्रो व्यापार घाटा बढाउन तथा हामीलाई महँगोमा वस्तु तथा सेवाको बाध्यकारी खरिद गराउने कुरामा कारक हुने गरेका छन् ।
नेपाल र नेपालीहरूको वास्तविकता भनेका आयातमा आधारित समस्त वस्तु तथा सेवाहरूको भरमा मुलुक तथा मुलुकका जनताहरूका दैनिकी तथा सरकार चलिहरहेको आजको यथार्थ हो । यसमा मुलुकको आर्थिक क्षेत्रले रोजगारको व्यवस्था गर्न नसकेकोले बाध्यकारी भएर विदेशिएका पचास लाखभन्दा बढी नेपालीले पठाएको विप्रेषणले अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगटिरहेको छ । मूलधारका राजनीति तथा तिनका दलीय व्यवस्थामा अटाएको नेतृत्व किन यी र यस्ता खालका समस्या सुल्झाउनतिर नलागेर बसिरहेको छ भन्ने नै मुख्य सरोकारको विषय हो ।
र अन्त्यमा, राजनीति तथा यसको सही व्यवस्थापनले नै मुलुकको सर्वोपरी हित तथा उन्नति गर्ने भएकाले पनि मूलधारका राजनीतिक शक्तिहरूले एकपटक आत्मसमीक्षासहित गलत पक्ष नदोहोर्याउने र नवीन तथा उत्पादनमूलक पक्षहरूमा मुलुकलाई अघि बढाउने प्रण गर्नुपर्ने दिन आएको होइन र ? साथमा छिमेकी तथा मित्रराष्ट्रसँगको सुमधुर तथा दीर्घकालीन सम्बन्धलेमात्र आजको कुनै मुलुक अघि बढ्ने भएकोले यसतर्फ सचेत हुनुपर्ला ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका