- प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा विगत चार वर्षदेखि उखु किसानहरूले उखु बेचेर पाउन बाँकी रहेको बक्यौता रकम दिलाउन प्रतापपुर गाउँपालिकाले पहल सुरु गरेको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ गंगापुरमा रहेको इन्दिरा सुगर इन्डस्ट्रिज प्रालि (चिनी मिल) ले किसानहरूको बक्यौता भुक्तानी रकम दिई मिल पुनः सञ्चालनमा ल्याउने भएपछि किसानहरूले भुक्तानी पाउने भएका हुन् ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मानकुमारी चौधरी र चिनी मिलका सञ्चालक राकेश अग्रवालबीच भएको छलफलबाट मिल सञ्चालक अग्रवालले किसानहरूको तिर्नुपर्ने सम्पूर्ण भुक्तानी रकम तिरेपछि आगामी उखु क्रसिङ सिजनबाट मिल सञ्चालनमा ल्याउने सहमति भएको हो । उमेश यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि उखु किसानहरूको भुक्तानी समस्या समाधानका लागि निरन्तर मिल सञ्चालक अग्रवालसँग समन्वय गर्दै आउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष यादवले आफ्नै कार्यकक्षमा मिल सञ्चालक अग्रवाललाई बोलाई साउन मसान्तभित्रै किसानहरूको सम्पूर्ण भुक्तानी दिनुपर्ने अग्रवालसँग सहमति गराउँदै मिल सञ्चालनका लागि पालिकाले सहज वातावरण निर्माण गरी सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिका र मिल सञ्चालकबीच भएको छलफलबाट मिलले साउनको पहिलो साताबाटै भुक्तानीको सेड्युल निकाली किसानहरूलाई भुक्तानी सुरु गर्ने र आगामी क्रसिङ सिजनबाट मिल सञ्चालन गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो । छलफलमा मिल सञ्चालक अग्रवालले मिलमा रहेको चिनी र कबाडहरू बिक्री गरी सिधै खातामा पैसा जम्मा गर्ने र उक्त पैसा सेड्युलअनुसार साउनभित्रै किसानहरूलाई भुक्तानी दिने प्रतिबद्धता जाहेर गर्नुभयो । मिल सञ्चालकले किसानको करिब ७० लाख रुपैयाँमात्र भुक्तानी दिनुपर्ने दाबी गरे तर उखु उत्पादक कृषक संघले भने करिब एक करोड ५० लाख रुपैयाँ भुक्तानी पाउनुपर्ने जनाएको छ ।
उखुको भुक्तानीका लागि मिल सञ्चालकबाट विगतमा विभिन्न सहमतिहरू भई पूरा हुन नसकेपछि यसपटकको यो सहमति भने पूर्णरूपमा कार्यान्वयनमा ल्याउने सञ्चालक अग्रवालले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अहिले गाउँपालिकाको पहलमा भएको यो सहमति कार्यान्वन गरी मिल सञ्चालन गर्न तयार छु । असारको क्लोजिङमा व्यस्त छु, साउनको पहिलो सातादेखि नै उखु किसानहरूको भुक्तानी गराउने र अबका दिनमा आफैं खटिएर मिल चलाउने मेरो योजना रहेको छ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका