पर्यटक तान्न सोलेडाँडामा पूर्वाधार

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर

बागलुङ । सोलेडाँडा बागलुङ र म्याग्दी जिल्लाको संगमस्थल हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सोलेडाँडा केही वर्षअगाडिसम्म गुमनामजस्तै थियो । लोकगायक खडक गर्बुजाले गाएको ‘हेर्दा हेर्दा कान्छीले सोलेडाँडा काट्यो मायाले’ गीतमा सुनिने गरेको सोलेडाँडा अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । बागलुङको तमानखोला गाउँपालिका–४ मा रहेको सोलेडाँडामा गाउँपालिकाले पूर्वाधार निर्माण गरेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।

बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सिमानामा रहेको सोलेडाँडा २६३० मिटरको उचाइमा अवस्थित छ । सोलेडाँडाको प्राकृतिक लोभलाग्दो सौन्दर्यले धेरैलाई आकर्षित गरेको छ । अझ यहाँबाट देखिने दर्जनौँ हिमशृखंला र सूर्योदय/सूर्यास्त अवलोकन गर्दा मोहित नै बनाउने गर्छ । पुस–माघमा सेताम्मे हिउँ र चैत–वैशाखामा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य अझ खुल्छ ।

केही वर्षअगाडिसम्म यहाँ सडकको पहुँच थिएन । सडकको पहुँच नहुँदा तमानखोला र म्याग्दीका स्थानीयहरू पैदल ओहोरदोहोर गर्ने गर्थे । स्थानीयहरूले चरन क्षेत्रका रूपमा सोलेडाँडालाई प्रयोग गर्थे । स्थानीय सरकार आउनुपूर्व सोलेडाँडामा कुनै पनि पूर्वाधार थिएन । जनप्रतिनिधि आएको पहिलो वर्षमै सोलेडाँडामा खानेपानीको धारो र शौचालय निर्माण भएको थियो । पछि विस्तारै अन्य संरचनासमेत पालिकाले बनाउँदै आएको छ ।

अहिले खासगरी आन्तरिक पर्यटकहरू वनभोज, रात्री ‘क्याम्प’ र पदयात्राका लागि त्यहाँ पुग्छन् । उच्च पहाडी क्षेत्रमा रहेको यस डाँडामा स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले धेरैको मन लोभ्याउने गर्छ । यहाँबाट बागलुङ र म्याग्दीका विभिन्न गाउँसँगै धौलागिरि, धौलाश्री, माछापुच्छ«े, मानापाथीलगायतका दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । सडक सञ्जालले जोडिएपछि म्याग्दी र बागलुङ दुवैतिरबाट दैनिक घुम्न आउनेको संख्या ठूलो रहेको स्थानीय बताउँछन् ।

सोलेडाँडालाई अझ विकास गर्न अहिले पर्यटन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । पछिल्लो समय सोलेडाँडामा बगैँचासहितको शहीद पार्क, ‘पिकनिक स्पट’ लगायतका पूर्वाधार निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले १० लाख विनियोजन गरी घेराबार र शहीदहरूको शालिक निर्माण गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

शहीद पार्कमा प्रथम शहीद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द तथा सशस्त्र द्वन्द्वमा परी तमानखोलामा ज्यान गुमाएका स्थानीय दुर्गाबहादुर बुढा, प्रेम घर्ती, ओमकार बुढा र गंगाबहादुर पुनको शालिक पनि राखिएको उहाँको भनाइ छ । सोलेडाँडामा पूर्वाधार निर्माणपछि धेरै ठाउँबाट घुम्न आउनेको संख्या बढेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

‘सोलेडाँडा धेरै पहिलेदेखि चर्चित नाम हो, नाम चर्चित भए पनि बाहिरी मान्छे आएका थिएनन्, म्याग्दी र बागलुङका स्थानीयहरूमात्रै ओहोरदोहोर गर्ने गर्थे, यहाँसम्म आउने सडक पूर्वाधारहरू पनि राम्रो थिएन, अहिले सडक पनि राम्रो बनेको छ, त्यसले गर्दा बाहिरी मान्छे पनि निकै आउने गर्छन्,’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘हामी आएपछि सुरुमा खानेपानी र शौचालयको व्यवस्थापन ग¥यौँ, त्यसपछि विस्तारै अन्य संरचानाहरू निर्माण गर्दै आयौँ, अहिले करिब–करिब पर्यटकलाई ल्याउन सक्ने खालको सोलेडाँडा बनेको छ ।’

अहिले न्यूनतम पूर्वाधार निर्माण तयार भएको र थप निर्माण गर्दै जाने उहाँको भनाइ छ । । ‘अहिले न्यूनतम पूर्वाधार निर्माण गरेका छौँ, विस्तारै यो कार्य निरन्तर हुनेछ, योसँग पालिकामा धेरैभन्दा धेरै पर्यटक भित्त्र्याउनका लागि अन्य संरचना निर्माण गर्ने र पर्यटकका लागि एक दिन बस्ने वातावरण बनाउनुपर्ने देखिएको छ, त्यसतर्फ पनि हामीले ध्यान दिएका छौँ, विस्तारै त्यसको प्रबन्ध पनि मिलाउनेछौँ ।’

सोलेडाँडालाई अब राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्यसँग जोड्नसमेत योजना बनाइरहेको उहाँले बताउनुभयो । घोडाबाँधेदेखि लिएर ताराखोला, दुरलेक हुँदै सोलेडाँडाबाट ढोरपाटन जोड्ने सम्भाव्यता अध्ययन गरेको उहाँको भनाइ छ ।

यहाँ आन्तरिक पर्यटकसँगै बाहृय पर्यटक भित्त्र्याउन सक्ने ठूलो सम्भावना रहेको भन्दै यसको विकाससँगै स्थानीयको जीविकोपार्जनमा समेत ठूलो टेवा पुग्ने अध्यक्ष बुढा मगर बताउनुहुन्छ । ‘सोलेडाँडासँग तमानखोला र तमानखोलावासी जोडिएका छन्, यसको विकास हुनु भनेको यहाँका आमनागरिकको आयआर्जनमा वृद्धि हुनु, जीवनस्तर उकासिनु हो,’ उहाँले भन्नुभयो, ‘पर्यटनमार्फत् पालिकाको समृद्धिका लागि सोलेडाँडासँगै अन्य पर्यटकीय क्षेत्रको विकासका लागि हामी योजना बनाएर लागेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?