वैदेशिक रोजगारीको सारथी बन्दै आप्रवासन परियोजना

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । वैदेशिक रोजगारी नेपालीको नियति नै बनिसक्यो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको समस्याको चाङ उस्तै छन् । उनीहरू सिप नलिईकन जाने, कम तलबमा काम गर्न बाध्य हुने तथा अंगभंग र मृत्युसमेत हुने गरेको पाइन्छ । अहिले स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि सारथीनै बनेको छ ।

रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरूको परामर्श, सिपमुलक तालिम, उद्धार तथा पुनस्थापनको काम गर्दै आएको आप्रवासी परियोजनाले प्रभावकारी भूमिका खेल्दै आएको छ । परियोजनाले पछिल्लो समय सीपमूलक तालिम लिन थालेपछि विदेशजाने युवाहरू आकर्षित भएका छन् । सिप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरू सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।

परियोजना बागलुङमा लागू भएपछि वैदेशिक रोजगारीमा ठगिएका, हराएका, मृत्यु भएका तथा अपाङ्गता भएकाले राहत तथा बीमा रकम समेत पाउन थालेका छन् । परियोजनाले राहदानी बनाउने बेला देखि पुनस्थापना गर्ने वेला सम्मनै प्रत्येक्ष भूमिका खेल्दै आएको छ ।

युवाहरूलाई सिपमूलक तालिमका लागि परियोजनाले राहदानी बनाउने समयमै प्रेरित गर्ने गरेको छ । परियोजना सुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरूमा जाने १३१ जनाले सीपमूलक तालिम लिएको छन् । वैदेशिक रोजगार बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले बताउनुभयो ।

कार्यक्रमले मेसन, कार्पेन्टर, हाउस किपिङ, कुक, तथा अन्य सीपमूलक तालिमहरू निःशुल्क उपलब्ध गराउने गरेको छ । सीप सिकेर विदेशमा जाँदा मजदुर दक्ष हुने र आम्दानी समेत बढी हुने भएपछि सिपप्रति युवाको आकर्षण बढेको रेग्मीको भनाइ छ ।

परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श चार हजार ५६५ जनाले लिएको आप्रवासी परियोजना बागलुङका संयोजक मीनप्रसाद पौडेलले जानकारी दिनुभयो । परामर्श लिनेमा महिलाको संख्या एक हजार ७२६ छ । परियोजनाले समुदायमा आधारित विभिन्न कार्यक्रमहरू समेत चलाउँदै आएको छ । आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा समाधान भएका घटनाहरूको संख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अप्ठयारोमा परेका, तलबभत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् भने अधिकांश गुनासोको सम्बोधन समेत हुने गरेको छ ।

वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले चालु आर्थिक वर्षमा तीन करोड नौ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहयोग गरेको, वैदेशिक रोजगारीका क्रममा समस्या (ठगी, जालसाजी तथा पासपोर्ट होल्ड)मा परेका कामदार तथा उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरुमध्ये पाँचका उजुरी पूर्ण रुपमा समाधान भएको पौडेलले बताउनुभयो । ती घटनाका पीडितहरूले १० लाख क्षतिपूर्ति पाएका छन् । परियोजनाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको हृदयघातका कारण मृत्यु हुने गरेको तथ्यांक आप्रवासी स्रोत केन्द्रसँग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?