अर्थमन्त्री शर्माको बर्खास्ती एमालेको बटमलाइन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्ती माग गरेको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीसँग सम्बन्धित कुनै पनि छलफलमा आफूहरु सहभागी नहुने बताउनु भयो ।

‘अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गर्नुभएको छ। हामीले संसदमा निरन्तर अर्थमन्त्री शर्माको राजीनामा माग्दै आएका छौं । बजेट निर्माणको अघिल्लो रातको सीसीटिभिको फुटेज मागेका छौं । हामी उहाँको बर्खास्त नभएसम्म कुनै संवाद र छलफलमा भाग लिदैनौं,’ ‘हाम्रो बटमलाइन अर्थमन्त्री शर्माको बर्खास्त हो ।’

उहाँले सदनमा प्रमुख प्रतिपक्षले निरन्तर उठाएको विषयलाई बेवास्ता गरेकाले अर्थमन्त्री प्रकरणमा कसैसँग छलफल र संवाद गर्ने पक्षमा पार्टी नरहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति घुसाएर बजेटमा करका दर तल–माथि गरेको बेलाको सीसीटीभी फुटेज ‘मेटिए’पछि अर्थमन्त्रीको अपराध स्वीकार गरेको प्रष्ट भएको उहाँले भनाइ छ ।

यसैगरी बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने बताउनु भयो ।

उहाँले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गर्नुभयो। उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग रहेको उहाँको भनाइ थियो ।

सत्तारुढ दलकै नेताहरुले पनि अर्थमन्त्रीको राजीनामा मागेका छन् । चर्को जनदबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाव दिनुभभएको छ। बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिएर वातावरणलाई सहज बनाउन सुझाव दिनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?