चलचित्र ‘नालापानी’को मोशन पोष्टर रिलिज

Read Time = 5 mins

काठमाडौं । तिहारको अवसर पारेर कात्तिक ४ गते प्रदर्शन हुने नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को मोशन पोष्टर रिलिज भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्र सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो । आगामी सेप्टेम्बर २४ मा अष्ट्रेलियामा ‘नालापानी’को प्रिमियर हुने निर्देशक रिमेश अधिकारीले बताउनुभयो ।

वीर योद्धा कुँवर र उहाँका ६ सय सेनाले नालापानी युद्धमा कसरी बहादुरी देखाए भन्ने कुरा जीवन्त रूपमा देखाउने यो चलचित्र प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविद्हरू प्रा.डा.धनराज कुँवर, प्रा.डा.त्रिरत्न मानन्धर, प्रा.दिनेशराज पन्त, प्रा.डा.सुरेन्द्र केसी., पूर्वसहायक रथी डा.प्रेम सिंह बस्न्यातहरूसँग पटक-पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायत पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ ।

चलचित्रमा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्देशक अधिकारीले बताउनुभयो । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको हो ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस प्रालि, गंगा नारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर छ ।

‘नालापानी’का एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?