ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको भेटवार्ता

Read Time = 3 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालस्थित भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । ऊर्जामन्त्री भुसालले नेपाल-भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानसाथ अघि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै आगामी दिनमा अझ विस्तार हुने आशा गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘नेपाल-भारतबीच हाल हुँदै आएको ऊर्जा व्यापार सकारात्मक छ । हामीसँग भएको स्वच्छ ऊर्जा भारतलाई आवश्यक रहेको छ । त्यसैले आगामी दिनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरी अघि बढ्न नेपाल इच्छुक छ । यहाँको कार्यकालमा विद्युत् व्यापारमा महत्वपूर्ण सफलता प्राप्त हुने मैले विश्वास लिएको छु ।'

उहाँले पञ्चेश्वर जलविद्युत् परियोजना अघि बढाउने साथै बाढीबाट हुने क्षतिका विषयमा दुई देशबीचको समझदारीलाई सक्रियतासाथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

राजदूत श्रीवास्तवले दुई देशबीचको सहकार्य थप विस्तार गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । पछिल्लो एक वर्षमा विद्युत् व्यापारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भन्नुभयो, ‘पछिल्लो एक वर्षमा विद्युत् व्यापारमा ठूलो सफलता मिलेको छ ।

यसमा दुवै सरकारको सहकार्य सराहनीय छ । विद्युत् व्यापार दुवै देशका लागि फाइदाजनक विषय हो । यसमा हाम्रो तर्फबाट निरन्तर सहयोग हुनेछ ।’ सो अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिवद्वय बाबुराम भण्डारी र चिरञ्जीवी चटौत र परराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?