हिटाको स्ट्रिङ अपरेसन : बागलुङबाट दुईजना नक्कली डाक्टर पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बुधबार बिहान १० बजे बागलुङको निसीखोला गाउँपालिकाका डिलबहादुर क्षेत्री यातायात व्यवस्था कार्यालय बागलुङमा सवारी अनुमति पत्र नवीकरण गर्न पुग्नुभयो । कार्यालयका एक कर्मचारीले उहाँलाई स्वास्थ्य परीक्षण गरेर रिपोर्ट ल्याउन भने । क्षेत्री स्वास्थ्य परीक्षण गर्न नजिकै रहेको शंकर पोलिक्लिनिकमा जानुभयो । डाक्टरले स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिनुपर्नेमा क्लिनिकमा काम गर्ने नक्कली डाक्टर नवलपरासीको कावासोती नगरपालिका-९ का २० वर्षीय गणेश भण्डारीले उहाँलाई रिपोर्ट थमाइदिए ।

क्षेत्रीले नक्कली डाक्टरले आफ्नो स्वास्थ्य परीक्षण गरेको शंका लागेपछि हिमालय टाइम्सकर्मीलाई खबर गर्नुभयो । जानकारी पाउनासाथ हिमालय टाइम्सकर्मी सो पोलिक्लिनिकमा पुग्दा भण्डारीले अन्य सेवाग्राहीलाई समेत धमाधम स्वास्थ्य परीक्षण गरी रिपोर्ट दिइरहेका थिए । सो क्लिनिकमा काम गर्ने डाक्टर धादिङबेंसीका २७ वर्षीय राम अर्याल भने क्लिनिकमा थिएनन् । तर, उनकै नामको हस्ताक्षर गरेको कागजमा स्वास्थ्य परीक्षण प्रमाणपत्र भण्डारी सेवाग्राहीलाई धमाधम बेचिरहेका थिए ।

सेवाग्राहीलाई सहज रूपमा सेवा दिनका लागि यातायात व्यवस्था कार्यालय बागलुङले शंकर पोलिक्लिनिकसँग केही महिना अगाडि सम्झौता गरेको थियो । त्यसपछि हिटाकर्मीले उक्त कुरा यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापासँग भन्नुभयो । तर थापाले उक्त विषयमा आफू जानकार नभएको भन्दै घटनाको बिषयमा बुझ्ने जवाफ दिनुभयो । त्यसलगत्तै हिटाकर्मीले जिल्ला प्रहरी कार्यालय बागलुङमा खबर गर्नुभयो ।

गैरकानुनी रूपमा नक्कली डाक्टर बनेर स्वास्थ्य परीक्षण गरेको जानकारी पाएलगत्तै हिटाकर्मीकै भनाइको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोली क्लिनिकमा पुगी भण्डारी र अर्याल दुवैलाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका दुई जनालाई मुलुकी अपराध २०७४ को परिच्छेद १९ अनुसार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । ‘हामीलाई पत्रकारले जानकारी गराएपछि क्लिनिकमा पुग्यौँ, त्यहाँ पुग्दा नक्कली डाक्टरले स्वास्थ्य परीक्षण गरेको रिपोर्ट बाँडिरहेको पाइयो,’ प्रहरी नायव उपरीक्षक रानाले भन्नुभयो ‘गैरकानुनी रूपमा स्वास्थ्य परीक्षण गर्न र प्रमाणपत्र दिन पाइँदैन, त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’

पक्राउ परेका डाक्टर राम अर्याल भने आफू खाना खान गएको बेला क्लिनिकमा काम गर्ने कर्मचारीले स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र दिएको जुन कुरा आफूलाई जानकारी नभएको बताउँछन् । गैरकानुनी रूपमा स्वास्थ्य परीक्षण गरी रिपोर्ट बाँड्ने गणेश भण्डारी भने यो प्रकृया सामान्य भएको बताउँछन् । प्रहरीले दुबै जनालाई बुधबारनै सार्वजनिक समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?