निर्वाचन आयोगले तोकेको खर्च अव्यावहारिक : पूर्व-प्रमुख निर्वाचन आयुक्त पोखरेल

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । पूर्व-प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक भएको आरोप लगाउनुभएको छ । पूर्व-प्रमुख आयुक्त पोखरेलले बिहीबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो आरोप लगाउनुभएको हो । ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरूले नै निर्वाचन आयोगले तोकेको भन्दा आठ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यावहारिक भएको जिकिर गर्नुभयो । पूर्व-प्रमुख आयुक्त पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभई राजनीतिज्ञहरूलाई पैसाले किन्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहको बताउनुभयो ।

पूर्व–प्रमुख निर्वाचन आयुक्त पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको स्रोत खोज्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनी दिनुभयो । उहाँले केही समयअघि मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसाबिना चुनाव लड्न नसक्ने मन्तव्य दिएको उल्लेख गर्दै कालो धनलाई रोक्न एक्सनमा जानुको विकल्प नरहेको सुनाउनुभयो । उहाँले कारबाहीमा जाँदा सधैँ आफू पदमा नरहने भएकोले कोही पनि जान नसकेको स्पष्ट पार्नुभयो ।

पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टीबिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताउनुभयो । उहाँले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताउनुभयो । निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दलहरूलाई दिनुपर्ने पोखरेलको सुझाव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?