माओवादी केन्द्रीय समिति बैठक : उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा, महासचिव र अरू पदाधिकारी छान्न बाँकी

Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्युरो गठन गरेको हो । काठमाडौंस्थित प्रज्ञा भवनमा बसेको बैठकले १५६ जनाको पोलिटब्युरो गठन गरेको हो । पोलिटब्युरोमा ३१ जना थप गरिएको हो । बैठकले स्थायी कमिटी ४१ जनाको गठन गरेको र अहिले १५ जनाको नामावली पेश भएको माओवादी नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । स्थायी समितिका बाँकी सदस्य चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । ‘केन्द्रीय समिति बैठकले १२५ जनाको पोलिट्ब्युरो गठन गर्‍यो । ४१ जनाको स्थायी कमिटी बन्यो,’ उहाँले भन्नुभयो, ‘अहिलेलाई १५ जनाको नामावली पेश भएको छ ।’

स्थायी समिति र पोलिटब्युरो सदस्यका नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पढेर सुनाउनुभएको थियो । प्रचण्डले सुनाउनुभएको सूची बैठकले अनुमोदन गरेको हो । पारित गर्नुअघि अध्यक्ष प्रचण्डले सुनाएका नाममा नेताहरूले असहमति जनाएका थिए । प्रचण्डले नाम पढेर सुनाइरहँदा केन्द्रीय सदस्यहरूले होहल्लासमेत गरेका थिए । नेताहरूले होहल्ला गरेपछि बैठक एक घण्टा स्थगित भएको थियो ।

नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो । माओवादीमा नेता मातृका यादव पनि उपाध्यक्षको आकांक्षी हुनुहुन्थ्यो । उहाँले केन्द्रीय समिति सुरु भएकै दिन आफू उपाध्यक्षको दाबेदार रहेको बताउनुभएको थियो । सहमतिबाट नभएर आफू निर्वाचनसमेत लड्न तयार रहेको उहाँको भनाइ थियो ।

केही दिनभित्रै पदाधिकारी टुंगिन्छ : गिरिराजमणि पोखरेल
छिट्टै पदाधिकारी टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिनुभएको थियो । प्रचण्डले दुई-चार दिनभित्रै आवश्यक गृहकार्य गरेर टुंग्याइने बताउनुभएको थियो । त्यस्तै, पार्टीका नेता गिरिराजमणि पोखरेलले अबको केही दिनमा नै पदाधिकारीको टुंगो लाग्ने बताउनुभयो । केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्यहरू चयन हुन ढिला भएको उहाँले बताउनुभयो । ‘पदाधिकारीको सन्दर्भमा केही दिनभित्रमा टुंग्याइनेछ । सबै कुरामा गृहकार्य र छलफल भएका छन्,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा स्वाभाविक ढंगले ढिलाइ भयो । सबै छान्ने जिम्मा अध्यक्ष र पहिलेको स्थायी कमिटीका सदस्यहरूलाई अध्यक्षलाई सहयोग गर्न भनिएको छ ।’

बिहीबार सम्पन्न बैठकले पदाधिकारीसमेत टुंग्याउने अपेक्षा थियो । तर, दुई उपाध्यक्ष मात्रै चयन गर्दै बैठक सकिएको हो । खास गरी महासचिवमा सहमति हुन नसक्दा पदाधिकारी चयन गर्न नसकेको हो । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको प्रमुख दाबेदारी छ । दुवैले आफ्नो दाबी नछोडेपछि पदाधिकारी चयनमा सकस परेको हो । त्यस्तै, पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेतसमेत महासचिव आकांक्षी हुनुहुन्छ । गत पुसमा भएको आठौँ महाधिवेशनले पदाधिकारीको संख्या र नाम चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो । गत फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न सकेको थिएन । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष सहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

अब समाजवादी क्रान्तिका लागि तयार हुनुपर्छ, : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीयता रक्षाका लागि सडकमा जानुपर्ने अवस्था देखिन थालेको बताउनुभएको छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै नयाँ आन्दोलनको तयारीमा पार्टी लागेको बताउनुभयो । यस्तो आन्दोलनले निर्वाचन प्राणालीमा पनि सुधार ल्याउने उहाँको भनाइ थियो । ‘जतिबेला सडकमा हुन्छौँ । हामी विजयी हुन्छौँ । हामीसँग जनता हुन्छन्,’ उहाँले भन्नुभयो, ‘निर्वाचन प्रणालीको सुधारका लागि आन्दोलन गर्नुछ । अब हामी एउटा फेरि नयाँ आन्दोलनको तयारीमा जाँदैछौँ । सानै टिम भए पनि १० वर्षमा देखेको हो नि । हाम्रै जीवनकालमा समाजवादी क्रान्ति सम्भव छ ।’ प्रचण्डले पार्टीभित्र अन्तरकलह भएको स्वीकार गर्नुभयो । स्थानीय तह निर्वाचनको पराजयको कारण पनि अन्तर्घात भएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?